तन र मन एकै ठाउँमा रम्न सक्ने जन्मभूमि बाहेक अन्यत्र हुँदैन : डा रवीन्द्र पाण्डे

Rabindraवास्तवमा तपाईको परिचय के हो ? एउटा साहित्यकार, एउटा चिकित्सक वा एउटा परोपकारी व्यक्ति ?

स्वास्थ्य सेवा, साहित्य र समाजसेवा मेरो जीवनका तीन स्तम्भ हुन् ! विगतमा यी ३ स्तम्भलाई एकसाथ महत्त्व दिएको थिएँ ! वैसाख १२ को विनाशकारी भूकम्पपश्चात् समाजसेवा पहिलो प्राथमिकतामा परेको छ भने अन्य कुरा यो वर्ष स्थगित छन् ! सामान्य परिवारमा गाउँमा जन्मे/ हुर्केकोले मलाई जति खट्न र दुख गर्न पनि अप्ठ्यारो लाग्दैन ! अहिले पनि म एकदम साधारण यात्री हुँ !

नेपालका सन्दर्भमा हेर्दा चिकित्सकहरु नाफामुखी भए भन्ने गुनासो सुनिन्छ तर तपाईलाई परोपकारी क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्यो ?

मैले पेसाको सुरुवातदेखि नै उपचार गर्न नसक्नेलाई निशुल्क सेवा दिइरहेको थिएँ, झन्डै महिनाको एउटा निशुल्क स्वास्थ्य सिबिर पनि चलाउँथे किनकि हामीले हाम्रो सामाजिक दायित्वलाई कहिल्यै पनि बिर्सनु हुँदैन ! जीवनमा पैसा, नाफा आदि चाहिन्छ तर हामीले जति चाहेका छौं, त्यति चाहिँदैन ! खान, बस्न, हिँड्न, छोराछोरी पढाउँन, बिरामी पर्दा केही खर्च गर्न सक्ने हैसियत भयो भने बाँकी तृष्णा मात्र हो, त्यो आफूलाई काम लाग्दैन ! सृष्टिमा मान्छे भएर जन्मिएपछि, विवेकशील प्राणी भएपछि आफूमा अरु र अरुमा आफूलाई देख्न सक्नुपर्छ भन्ने सोंच नै मेरो सामाजिक यात्राको भाव हो !

गत वैशाखको भूकम्पपछि पराकम्पनहरु आइरहेको समयमा तपाई ग्रामीण बस्तीहरुमा व्यक्तिगत खर्चमा एक्लै स्थास्थ्य शिविरहरु चलाइरहनु भएको थियो यसको उत्प्रेरणा कसरी पाउनु भयो ?

जब भूकम्प आयो, दसौँ हजारको ज्यान गयो, लाखौँ घाइते भए, दसौँ लाख विस्थापित भए, धेरैले आफन्त वियोग सहनु पर्यो – त्यो मलाई पनि पर्न सक्थ्यो तर परेन ! यो नै सबैभन्दा ठूलो कुरा थियो ! मलाई लाग्यो, हामी बाँचेको घाइते, शोकाकुल र विस्थापितलाई बचाउँन, आँसु पुछ्न हो किनकि जहाँ पनि कारण र कारकको सम्बन्ध हुन्छ ! मैले त्यो अकल्पनीय दर्दनाक स्थिति हेरेर / सुनेर बस्न सकिनँ र त्यसपछि पुरै समर्पित भएँ ! उपचारको क्रममा जहाँ जान्थें, त्यहाँको हृदयाविदारक दृश्य अनुभूत गर्दा अझ विकट र आवश्यक ठाउँमा काम गर्ने जिम्मेवारीबोध हुन्थ्यो !

मेरो त्यो बेलाको सिद्धान्त के थियो भने हामीहरु त्यस्तो ठाउँमा जानुपर्छ, जहाँ कोही पनि स्वास्थ्य सिबिर लिएर गएको छैन ! सिबिर संचालन गर्दा पनि हामी ध्वस्त बस्तीको केन्द्रमा बसेर काम गर्थ्यौं ताकि सक्कली पीडितले प्राथमिकता पाउन् भनेर ! हामीले बिहान उज्यालो नहुँदै पुगेर राति १२ बजेसम्म पनि भोकै धेरै सिबिर चलायौं !

तपाईँले व्यक्तिगत तवरमा धेरै काम गरिरहनु भएको छ तर धेरै संस्थाहरुले पीडितहरुको नाममा पैशा ल्याएर पीडितको सेवा भन्दा विभिन्न अरु कार्यमा खर्च गरिरहेका छन् यस्तो अवस्था देख्दा तपाईलाई कस्तो महशुस हुन्छ ?

भूकम्प जानेबित्तिकै धेरै देश, संस्था र विदेशस्थित नेपालीहरुले उठाएको पैसा अनुमान भन्दा धेरै संकलन भयो ! धेरै नेपालीहरुले सरकारलाई भन्दा नाम चलेका अन्तराष्ट्रिय संस्थामार्फत ठूलो धनराशि सहयोग गरे ! तर त्यो अधिकांश प्रसाशनिक, प्रक्रियागत एवम् सुविधामा खर्च भयो ! यसमा मलाई निकै दुख लाग्यो ! मैले सुरुदेखि नै सरकारलाई सहयोग गर्न अनुरोध गरिरहेको थिएँ किनकि सरकार बलियो नभएमा देश कमजोर हुन्छ, पीडितले स्थायी राहत पाउंदैनन् ! आखिरमा भयो त्यस्तै ! पीडितहरु अहिलेसम्म जस्ताको तस्तै हुनुको प्रमुख कारण हामीले राज्यलाई विश्वास नगर्नु पनि हो !

नेपालमा थोरै काम गरेर धेरै प्रचारबाजि गर्ने लहर छ तर तपाई चाँहि किन गुमनाम सेवा गर्दै हुनुहुन्छ ? तपाईलाई लाग्दैन तपाईको कामको बारेमा प्रचार भएमा अरुले पनि तपाईको कार्यलाई पछ्याउने छन् ?

भूकम्प आएपछि मैले आफ्नो खर्चमा काम गर्न सुरु गरें ! त्यो बेला घाइतेलाई तत्काल बचाउनु थियो, सम्भावित सरुवा रोगको महामारी रोक्नु थियो, गाउँका स्वास्थ्य संस्था भत्केका थिए / औषधि थिएन, पीडितहरुको सामूहिक बास एवम् भोक वा फास्टफुडको कारण बिग्रेको स्वास्थ्य सुधार्नु थियो, शोकाकुल मनहरुलाई सान्त्वना दिनु थियो, त्यसैले निकै व्यस्त भएँ । उधारो, ऋण सबै उपाय अपनाएर परकम्पहरुको बिचमा विभिन्न जिल्लाका झन्डै ६ दर्जनभन्दा धेरै गाउँहरुमा गएर पीडितकै थातथलोमा उपचार गरें ! केही सहयोगी मित्रहरुले गर्नुभएको सहयोगको कारण धेरै ठाउँमा काम गर्न सकें, उहाँहरु त्यो बेला भगवानको रुपमा प्रकट हुनुभयो ! हरेक सिबिर सक्नेबित्तिकै अर्को सिविरका लागि कसरी जोहो गर्ने भन्ने चिन्ता हुन्थ्यो ! मेरो कुनै संस्था थिएन, कोष थिएन, सरकारी वा वैदेशिक सहयोग थिएन ! थियो त केवल पीडितलाई उपचार गर्ने नशा र आत्मबल ! २ महिना खण्डहरमा बसेर झन्डै ९,००० पीडितको एक्लै उपचार गरें ! मेरो टिममा जम्मा ३ जना थियौं – म, मेरी श्रीमती र चालक भाइ ! हामीले पीडितलाई बचाउनु थियो ! धेरै टिभी, रेडियो, पत्रिका तथा अनलाइनले अनुरोध गर्दा पनि ‘सरि‘ भनें किनकि मेडियाबाजीमा लागेर मैले कुनै पुरस्कार, भोट वा पद पाउनु थिएन ! अरु प्रेरित होऊन् भनेर फेसबुकमा छोंटो पोस्ट गरिरहें ! अर्को कुरा मेडियामा खर्च गर्ने समय कुनै गाउँमा गर्दा सयौंको उपचार हुन्थ्यो ! मैले सिद्धिको लागि काम गरेको थिएँ, प्रसिद्धिको लागि होइन !

20150512_104912तपाईको काममा अझ बढी इँटा थप्नको लागि यो व्यक्तिगत प्रयासलाई संस्थागत रुप दिइनुपर्दछ जस्तो लाग्दैन ?

त्यो बेला सल्लाह गर्ने वा मिटिंग गर्ने समय थिएन तसर्थ दिनरात काममा मात्र खटियो ! यो यात्राको पुस्तक निकाल्ने तयारीमा थिएँ तर नाकाबन्दी र चिसोको कारण अर्को जिम्मेवारी महसुस भयो ! मंसिरको सुरुदेखि २.५ महिना अति विकट चिसो ठाउँहरुमा झन्डै १५,००० पीडितलाई न्याना कपडा वितरण गर्यौं ! संगसंगै नाकाबन्दीको कारण रित्तिएका गाउँहरुमा प्राथमिक र अत्यावश्यक औषधि पठाउने काममा लागें !

अब मैले पनि संस्थागत रुपमा काम गर्नुपर्ने आवश्यकता महसुस गरेको छु ! आफै गर्दा निकै धपेडी, खर्च एबम् तनाब हुँदो रहेछ ! समाजसेवी आत्माहरुको समूह भयो भने त्यो निकै प्रभावकारी हुन्छ ! सामाजिक काममा व्यक्तिगत लाभ हेर्ने हो भने ब्यापार गरे हुन्छ तसर्थ समाजसेवी आत्माको मिलन हुने दिन संस्थागत रूपमा काम हुनेछ ! मुख्य कुरो काम हो !

तपाईले सामाजिक सञ्जालहरुमा राजनीतिको बारेमा पनि टिप्पणी गरिरहनु भएको हुन्छ वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनु भएको छ ?

अथाह प्राकृतिक स्रोत, शक्तिशाली एवम् उदीयमान छिमेकी, इमान्दार र मेहेनती जनता तथा सहयोगी विश्व समुदाय हुँदाहुँदै पनि एउटा राजनेताको अभावको कारण जनताले दुख पाउनुपरेको छ ! नेताहरुले आफ्नो भोट बैंकको लागि राजनीतिको मात्रै खेती गरेकोले सबैको दिमागमा राजनीति छ ! तसर्थ राजनीतिलाई छोडेर बिकासको नशा जबसम्म लाग्दैन तबसम्म यो वा ऊ समस्या आइरहनेछन !

यो अवस्थाको लागि को जिम्मेवार छन् जस्तो लाग्दछ र सरकार र आन्दोलनरत पक्षलाई तपाईको के सल्लाह छ ?

जिम्मेवार त नेता नै हुन् ! देश र जनतालाई एकताको सुत्रमा बाँधेर तथा राष्ट्रिय स्वार्थलाई सर्वस्व ठानेर काम गर्न सकिदैन भने किन राजनीति गर्ने ? हाम्रा नेताहरु कुनै न कुनै ठाउँबाट संचालित, नियन्त्रित वा पोषित हुनु नै समस्याको गाँठो हो ! राष्टिय एकता, अखण्डता, सार्वभौमिकता र देशको समुन्नतिलाई केन्द्रमा राखेर वार्ता गर्ने हो भने यहाँ कुनै मतभेद हुँदैन !

नयाँ संविधान जारिसंगै देशले नराम्रो परिस्थितिको सामना गर्नुपर्यो र केही व्यक्तिहरुले संघीयतालाई हाल थाँती राखेर जानुपर्दछ भनिरहनु भएको छ । यसमा तपाईको सुझाव के रहेको छ ?

मेरो व्यक्तिगत विचारमा त यति सानो र गरिब देशमा संघीयताको जरुरी नै छैन ! विकेन्द्रीकरण, समावेशीकरण तथा पिछडिएका वर्गलाई उत्थान एवम् आरक्षणको ब्यबस्था गर्ने हो भने त्यो नै सर्बोत्तम उपाय हो ! आफ्ना वा विदेशीका स्वार्थको कारण नेताहरुले देशलाई संघीयताको चक्रब्यूहमा फसाए ! संघियताबाट देशलाई कम क्षति गराउनको लागि विद्यमान ५ प्रदेश नै वैज्ञानिक छन् ! नेपालको स्थिरताको लागि या त संघीयतालाई खारेज गर्नुपर्छ या त बनाएका प्रदेशलाई बिकास क्षेत्रको अवधारणामा रुपान्तरण गर्नु नै सुरक्षित अवतरण हो !

नेपालको वर्तमान अवस्था देख्दा नेपालमै बस्ने गलत निर्णय गरिएछ जस्तो लाग्दैन तपाईलाई ?

मलाई त्यस्तो कहिल्यै लागेन ! मैले प्रयास गरेको भए वा गरेमा विदेश बस्ने सम्भावना थियो/छ ! आफू जुन भूमिमा जन्मियो त्यो भूमिको गुणदोषको भागीदार हुनु प्राकृतिक कुरा हो जुन कुरा हरेक देशमा लागु हुन्छ ! भौतिक सुबिधा बाहिर बढी हुन्थ्यो होला तर तन र मन एकै ठाउँमा रम्न सक्ने जन्मभूमि बाहेक अन्यत्र हुँदैन ! आफ्नो समाजको सुखदुखमा सहभागी हुन पाउनु सौभाग्य हो !

चिकित्सा पेसा नाफामुखी मात्र भयो भन्ने आरेप लागिरहेको बेला तपाईलाई परोपकारि कार्यमा लाग्नको लागि के ले उत्प्रेरित गर्यो र अरु चिकित्सकहरुलाई तपाईको के सुझाव छ ?

सामाजिक कार्यमा लाग्नुबारे त अघिं भनिसकें ! चिकित्सा सेवा हो पेसा मात्र हैन ! पैसा कमाउने लक्ष्य भए ब्यापार सबैभन्दा राम्रो क्षेत्र हो ! जति प्रयास गरेपनि चिकित्सक भएर व्यापारीले जस्तै कमाउन कसैले सक्दैन ! ब्यापारमा काम बस्तुसंग गरिन्छ तर चिकित्सा पेसामा काम आफू जस्तै मान्छेको शरीर र मनसंग गरिन्छ ! यस्तो संवेदनशील काममा पैसाको कुनै महत्व हुँदैन ! पर सन्तुष्टि र पर उपकारबाट निसृत आत्म सन्तुष्टि नै यो पेसाको प्रमुख कमाइ हो ! पेसागत परोपकारबाट आफ्नो आधारभूत आवश्यकता त पुरा हुन्छ नै !

चिकित्सा क्षेत्रको कुरा गदाए डा गोविन्द केसीको अनसनको कुरा बाराम्वार भइरहन्छ । उहाँको पक्ष र विपक्षमा बहस भइरहन्छ । तपाईको विचारमा चाँहि खासमा कुन पक्ष सही हुन् ?

नीतिगत सवालमा डा. केसीसंग सहमत छु ! उहाँ त्यागी एवम् निस्वार्थी उदाहरणीय चिकित्सक हो ! तर हामीले यहाँ मेडिकल कलेज नखोल्दैमा चिकित्सा सेवाको उच्च गुणस्तर हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! बर्षेनि अरबौं पैसा बिदेसिएको छ ! विदेशका मेडिकल कलेज र त्यहाँबाट उत्पादित जनशक्ति पनि हामीले देखेका छौं ! यहाँका मेडिकल कलेजलाई गुणस्तर वृद्धि गर्न राज्यले सहयोग गर्ने हो भने त्यो बिदेसिने अरबौं पैसा स्वदेशमा रहन्थ्यो, विदेशी समेत यहाँ पढ्न आउंथे ! यो कुरा सबैले बुझ्नु जरुरी छ ! अर्को कुरा सधै उहाँ मात्र किन अनसन बस्ने ? किन अस्पतालमा मात्र अनसन बस्ने ? किन उहाँको अनसनमा पक्ष / विपक्ष हुन्छ ? किन मेडियालाई फोकस गरिन्छ ? धेरै कुराहरु सोंच्नु जरुरी छ । तर, हामी नेपालीको आम ट्रेन्ड सिर्जना भन्दा विरोध गर्नेलाई समर्थन गर्ने टाइपको छ !

चिकित्सा सेवाको राम्रो अनुगमन गर्न तथा चिकित्सा सेवा सबैको पहुँचमा बनाउनको लागि के गरिनु पर्ला ?20150515_154726

यसको लागि राज्यले स्वास्थ्य बिमा लागु गर्नुपर्छ ! चिकित्सक वा अस्पतालसंग बिरामीको आर्थिक रुपमा सम्बन्ध नतोडेसम्म चिकित्सा पेशा सेवामूलक हुँदैन ! दुर्गममा छात्रवृत्ति दिएर त्यहींको लागि सेवा गर्नुपर्ने सर्तमा स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्छ ! हरेक स्वास्थ्यकर्मी एबम् चिकित्सकको नियुक्तिपत्रमै हरेक भौगोलिक क्षेत्रमा काम गर्नुपर्ने कर्तब्य र काम गरेपछि अध्ययन एबम् वृत्तिविकासको अधिकार तोकेर कडाइका साथ लागु गर्नुपर्छ ! आयुर्वेद, योगा जस्ता प्रणालीलाई एकीकृत सेवाको रुपमा संचालन गर्नुपर्छ ! हाम्रा अमूल्य जडिबुटीको संरक्षण, अनुसन्धान, औषधीकरण र बजारीकरणमा राज्यले प्रोत्साहन दिनुपर्छ ! आफ्नो मौलिकता कहिल्यै त्याग्नु हुँदैन !

तपाई बिभिन्न तीन बिधामा बिभाजित हुनुभएको छ वास्तवमा तपाईलै धेरै आत्मसन्तुष्टि पाउने बिधा चाँहि कुन हो ?

सामाजिक सेवाबाट जस्तो चरम आत्म सन्तुष्टि अरु क्षेत्रबाट कहाँ पाउनु ? नचिनेका, सम्बन्ध नभएका तर दुखमा परेका पीडितहरुको सेवा गर्न अत्यन्तै कम भाग्यमानी व्यक्तिले मात्र पाउँछन् ! धेरैको जीवन त आफ्नो लागि मात्र बिताउनु पर्ने बाध्यतामा फसेको हुन्छ ! त्यस्तै साहित्य पनि आत्म सन्तुष्टिको अर्को क्षेत्र हो ! आफूजस्तै मान्छेको जीवनको लागि समर्पित चिकित्सा पेसाको सन्तुष्टि पनि कहाँ कम हुन्छ र ?

तपाइको भविष्यको योजना के छ ? तीनवटै विधालाई अगाडि बढाउने वा कुनै अरु योजना छ ?

मैले मेरो जीवनलाई ४ भागमा विभाजन गरेको छु ! १. समाजसेवा, २. साहित्य, ३. पेसा, ४. आराम / मनोरन्जन / भ्रमण ! यी चार मध्ये समाजसेवा र साहित्यको लागि फोकस गर्दै छु !

अन्त्यमा नेपालइखबर मार्फत पाठकहरुलाई कुनै सन्देश पुर्याउन चाहनु हुन्छ कि ?

नेपालको मेरुदण्ड भनेको कृषि, पर्यटन, जलस्रोत र रेमिट्यान्स हो ! नेपालको बिकास गर्नको लागि बिदेशमा रहनुभएका नेपालीले आफूले सिकेको ज्ञान, सिप र आर्जेको पुंजी देशमै लगानी गर्ने तथा नेपाल सरकारले देश धानेका पचासौं लाख विदेशस्थित नेपालीलाई हरेक कुरामा सहजीकरण एबम् प्राथमिकता दिएमा जनस्तरबाट देशलाई ठूलो योगदान पुर्याउन सक्छौं ! जहाँ गए पनि हामीले सोंच्ने, सम्झिने, सपना देख्ने, चासो राख्ने, माया गर्ने आफ्नै देश हो । तसर्थ, नेपाल र नेपालीलाई आफ्नो क्षेत्रबाट सहयोग गरौँ, सहकार्य गरौँ ! राजनीति क्रान्ति धेरै गर्यौं अब आर्थिक क्रान्तिमा लागौं !

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter