नेपालको संविधान सगरमाथामा फहराइने
काठमाडौँ, ५ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा नेविसङ्घ धुलाबारी क्याम्पसका नेता अनिश लुइँटेलले सङ्घको झन्डा र नेपालको संविधान सगरमाथा फहराउने हुनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेपाल र ् नेविसङ्घको झन्डा तथा नेपालको संविधान आरोही लुइँटेललाई हस्तान्तरण गर्दै नेविसङ्घको झन्डा आफ्नो प्रतिनिधिमार्फत विश्वको सर्वोकृष्ट चुचुरोमा पठाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “युवाले मुलुकमा विकास चाहेकाले अब मुलुकमा आर्थिक क्रान्ति आवश्यक छ ।”
लुइँटेलले आफू सानैदेखि नेविसङ्घमा लागेको र अहिले सगरमाथा चढ्न जाँदा नेविसङ्घको झन्डा र नेपालको संविधानलाई लैजान लागेको जानकारी दिनुभयो । उहाँ १३ विदेशी टोलीसहित मङ्गलबार काठमाडौँबाट सगरमाथा जाँदै हुनुहुन्छ । बाइस वर्षीय लुइँटेल पहिलो पटक सगरमाथाको आरोहण गर्दै हुनुहुन्छ । उहाँले यसभन्दा पहिले अन्नपूर्ण, कञ्चनजङ्घा, आइल्यान्ड पिक लगायतको पदयात्रा गरिसक्नुभएको छ । रासस