सगरमाथाको सफल आरोहणबाट पर्यटन व्यवसायी उत्साहित

Moun Everestसिवी अधिकारी (काठमाडौँ), ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न लालायित देशभित्र र बाहिरका आरोहीहरु यतिखेर सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने धूनमा छन् ।

आरोहण रोकिएको दुई वर्षपछि गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज छैँटौं दिनसम्म ८२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्वतारोहरण दलका सफलताका यी खबरले नेपालको समग्र पर्यटन क्षेत्रमा उत्साहको लहर सञ्चार गराएको छ ।
आज ११ नेपाली र नौ विदेशी गरी २० आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आइतबारसम्म ६२ आरोही सगरमाथाको चुचुरामा पुगेका थिए ।

सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो । सन् २०१६ को वसन्त ऋतुमा स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको चुचुरो चुमेको खबरले विश्वलाई नै रोमाञ्चित बनाइदिएको छ । सन् २०१४ मा सगरमाथाको आधार शिविर माथितिरबाट आएको हिमपहिरोमा परी १६ जना आरोहीको निधन भएको थियो । त्यस्तै, २०१५ मा आएको विनाशकारी भूकम्पका कारण सगरमाथाको आधार शिविरमा हिमपहिरो आएर अरु १९ जना आरोहीको ज्यान गयो । यी दुःखान्त घटनापछि पर्वतारोहण अभियान नै स्थगित भयो । अघिल्ला वर्षमा आरोहण अनुमति लिएका आरोहीलाई सरकारले पुनः २०७३ र २०७४ दुईवर्ष सम्म निःशुल्क आरोहण गर्न दिन निर्णय गरेसँगै आरोहीहरु बढेका हुन् ।हिम पहिरो प्राकृतिक विपद्सँगै ७.६ रिक्टर स्केलको भूकम्प र जारी संविधानप्रतिको असन्तुष्टिबाट सिर्जित अघोषित नाकाबन्दीले पर्यटन क्षेत्रका साथसाथै मुलुकको समग्र अर्थतन्त्र नै धर्मराउन पुगेको थियो ।
पर्वतारोहण अभियानमा देखिएको पछिल्लो गतिविधिले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
साहसिक पर्वतीय पर्यटनको आधार सर्वोच्च शिखरसहितका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमै छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । यस्तै सन् १९७५ मे १६ मा जापानी आरोही जुनको तावेईले सगरमाथाको आरोहण गरी प्रथम विदेशी महिलाको कीर्तिमान राख्नुभएको थियो ।
नेपालका अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घाजस्ता मन लोभ्याउने हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको सङ्ख्यामा आरोहीहरु आउने गरेका छन् ।
पछिल्लो समय देखिएको हिमाल आरोहणको लहरले पर्यटन व्यवसायीमाझ उत्साह जगाइदिएको छ । पर्यटन व्यवसायी तेम्बा शेर्पाले भूकम्प गएको एक वर्षपछि हिमाल चढ्ने पर्वतारोहीहरुको बढ्दो आगमनले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको बताउनुहुन्छ । यद्यपि संसारलाई चिनाउने पर्वतीय पर्यटनलाई सुरक्षित र व्यवस्थित गर्न भने अझै नसकिएको सम्बन्धित अधिकारीहरु स्वीकार्छन् । पर्या–पर्यटन प्रवद्र्धकसमेत रहनुभएका शेर्पा पर्वतीय पर्यटनलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको विकास र संरक्षणका लागि सरकारी लगानी आवश्यक रहेको धारणा व्यक्त गर्नुहुन्छ । पर्वतारोहणसँगै पदयात्रामा बढेको पर्यटकीय आकर्षणले विश्वलाई नै सकारात्मक सन्देश प्रवाह गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले बताउनुभयो । पदयात्रा पर्यटनबाट कति राजस्व उठ्छ भन्ने यकिन विवरण नभए पनि टानका अनुसार वार्षिक रु १५ देखि २० करोड राजस्व उठ्ने गरेको छ ।
राजस्वका हिसाबले सबैभन्दा बढी राजस्व हिमाल आरोहणबाटै उठ्ने गर्छ । पर्यटन विभागका अनुसार सन् २०१५ मा रु २९ करोड १६ लाख र सन् २०१६ को गएको पाँच महिनाभित्र झन्डै सोही हाराहारीमा राजस्व सङ्कलन भएको छ । सरकारले सन् २०१८ लाई पर्यटन भ्रमण वर्ष घोषणा गरी १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आव २०७३÷७४ को नीति तथा कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको छ । सरकारको यस पहलकदमीले पर्यटन क्षेत्रमा अनुकूल प्रभाव पार्ने निश्चित छ ।
पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दुई वर्षदेखि रोकिएको पर्यटकीय गतिविधिलाई वसन्त ऋतुको उत्साहजनक आरोहणले गतिशील तुल्याएको बताउनुहुन्छ ।

“नेपालका हिमाल सुरक्षित छन्, पर्यटन पहिलाकै अवस्थामा फर्कियो भन्ने सकारात्मक सन्देश संसारभर प्रवाह गर्न पर्वतारोहण अभियानको सफलताले सकारात्मक भूमिका खेलेको छ” – उहाँले भन्नुभयो । महानिर्देशक ढकालका अनुसार अहिले पश्चिमा सञ्चारमाध्यमलाई नेपालको पर्वतारोहणसहित पर्यटकीय गतिविधिबारेको सकारात्मक जानकारी निरन्तर दिने गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पनि लामो समयपछि सगरमाथा क्षेत्रमा देखिएको चहलपहलबाट संसारलाई सकारात्मक सन्देश गएको ठान्नुहुन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणको तयारीमा छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । त्यस्तै, अन्नपूर्णमा तीन, मनास्लुमा ११ र मकालुमा पाँचवटा टोली आरोहणका लागि गएका छन् । नेपाल पर्वतारोहण सङ्घको विवरणअनुसार अहिलेसम्म करिब सात हजार ७०० ले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब तीन हजार ८०० जनाले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा शेर्पा र फुर्वा टाँसी शेर्पाले सगरमाथाको आरोहण गरेको कीर्तिमान छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा अघिल्ला वर्षको तुलनामा २९.७ प्रतिशतले घटेर जम्मा पाँच लाख ४५ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter