विद्यावारिधि गर्न सक्छन् दृष्टिविहीनहरु

Visually Impaired PHDविष्णु नेपाल / काठमाडौँ, ८ जेठ । अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ ।

इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वाेत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गर्नुभएको छ । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा थप गरी आफ्ना नामका अगाडि झुन्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए । समाजले जहाँ गए पनि लाञ्छना लगाउँथ्यो “यिनका त आँखा छैन, के गर्न सक्छिन् र ?”

त्रिवि, मानविकी तथा समाजशास्त्र अध्ययन सस्थानबाट इतिहास विषय अन्तर्गत ‘देवघाटको धार्मिक तथा ऐतिहासिक महत्व’का विषयमा पोख्रेलले भर्खर विद्यावारिधिको प्रमाण लिएकी हुन् । यसैगरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘जेन्डर एन्ड मिडिया’ विषयमा सिंहले विद्यावारिधि प्राप्त गरिन् ।

आँट गरे के सकिँदैन, उहाँहरु पथप्रदर्शक बन्नुभयो । ती दुई विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिलाको नामाङ्कन समेत लेखाउनुभयो उहाँहरुले । तेह्र र नौ वर्षीया छोरीकी आमा पोख्रेलले भन्नुभयो“ अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिँदैन, सुनेर गर्न सकिन्छ । यसका लागि आफूमा आँट र सहयोग गर्ने सहृदयी मनहरु आवश्यक पर्छ ।”

त्रिविवि अन्तर्गतका विभिन्न सङ्कायबाट स्नातकोत्तर पूरा गर्नेको सङ्ख्या हालसम्म एक सय नाघ्न सकेको छैन । बालकुमारी उमावि नारायणघाटबाट पोख्रेलले विसं २०४६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट विसं २०५५ मा इतिहास विषयमा स्नातकोत्तर तह पूरा गरेकी पोख्रेलले विसं २०५७ देखि सोही क्याम्पसमा अस्थायी प्राध्यापनरत रहेकी छन् ।

“नौ वर्ष अगाडि विद्यावारिधिका लागि शोध प्रस्ताव लिएर कीर्तिपुरस्थित डिनको कार्यालयमा आएँँ, तत्कालीन डिन शिशिर सुब्बालाई भेटेँ, उहाँले कुरा गर्न नै चाहनुभएन । म कलङ्कीमा बसबाट झरेर यता ठोक्किँदै, उता ठोक्किँदै त्यहाँ पुगेकी थिएँ । डिन कार्यालय बाहिर निस्केर एक्लै रोएँ । फेरि उहाँको टेबलमा प्रस्ताव छाडेर आफन्तकहाँ गएँ । भोलिपल्ट घर फर्किएँ ।” आफ्नो मनको वह पोख्रेलले यसरी पोखिन् ।

“केही महिनापछि डिनको कार्यालयबाट फोन गयो, तपार्इँको शोध प्रस्ताव पास भयो । पास त भयो, शोधनिर्देशक को पर्नुभयो होला भन्ने चिन्ताकै बीचमा । काठमाडौँ आएँ र इतिहास विभागका प्रा डा कृष्णवहादुर थापा शोधनिर्देशक हुनुभएकामा खुसी लाग्यो । उहाँ अनामनगरमा बस्नुहुँदो रहेछ । यसपछि विषयसित सम्बन्धित कयौँ पुस्तक सहयोगीलाई पढ्न लगाउँदै सुनेँ । सयौँ पटक चितवन–काठमाडौँ आवतजावत गरेँ । कुनै दुर्घटनामा परिन । शोध कार्य पूरा गरेँ ”उहाँले भन्नुभयो ।

विसं २०७१ भदौ २९ गते डिनको कार्यालयले उहाँलाई विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । “आँखाले अध्ययन गरेजस्तो कहाँ सजिलो हुन्छ र सुन्ने काम । बिर्सन सकिन्छ ।” पोख्रेलले सुनाउनुभयो “अझै पनि केही गरुँ जस्तो लाग्छ । स्थायी प्राध्यापक पदमा नाम निकाल्न सकेँ भने मेरो जीवनमा विद्यावारिधि पूरा गरेँ भन्दा ठूलो खुसी केही हुने छैन ।” वाल्मीकि विद्यापीठमा प्राध्यापरत उहाँका श्रीमान् नारायणप्रसाद तिमल्सिनाले पनि विद्यावारिधि गर्दै हुनुहुन्छ ।

“ दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ”

यसैगरी जन्मजात दृश्यविहीन अविवाहिता सिंहले छ वर्षका उमेरमा अक्षर आरम्भ गरेकी थिइन् । उनले भनिन् “दिदी र भाइले नपढेर बुबाको गाली खाँदा म पढ्न विद्यालय जान पाएँ भने गाली खाँदिन होला, यो कुरा सुटुक्क आमालाई सुनाएँ ।”

आमाले बुबालाई सुनउनुभएछ । तत्काल बुबाले आफैँ बोकेर विद्यालय भर्ना गरिदिनुभयो । काठमाडौँ चाबहिलकी रैथाने सिंहको मस्तिष्क तीक्ष्ण रहेछ । ल्याबोरेटरी विद्यालय कीर्तिपुरबाट उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।

“उच्च शिक्षाका लागि म दिल्ली विश्वविद्यालयमा गएँ । त्यहाँबाट स्नातकोत्तर र एमफिल पूरा गरेँ । सन् २०१२ मा जवाहरलाल विश्वविद्यालयबाट ‘जेन्डर र महिला’ विषयमा विद्यावारिधि पूरा गरेँ र हाल इन्दिरा गान्धी ओपन विश्वविद्यालयमा सहायक क्षेत्रीय निर्देशक पदमा कार्यरत छु । ” सिंहले कुराकानीका क्रममा भनिन् ।

जवाहर विश्वविद्यालयका नेपाली मूलका प्रा डा महेन्द्र पी लामाले उहाँलाई शोध निर्देशन गर्नुभएको थियो । आफ्नी आमाको नाममा अक्षयकोष स्थापना गर्न नेपाल आएकी सिंहले अगाडि भनिन् “समाजले हामीलाई महिला र दृष्टिविहीन भन्छन्, केही गर्न नसक्ने भन्दछन् । यसो होइन, हामी केही गर्न सक्छौँ । दृष्टिविहीनहरु दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ ।”

सिंहले आफ्नो सफलताका लागि आमाको योगदान उच्च रहेको सम्झिन् । “आमा मलाई भन्ने गर्नुहुन्थ्यो “नानी म मरेको छैन, तिमीलाई पढ्ने इच्छा जति छ पढ, खर्च पु¥याउँछु ।” उनले भनिन् ।

तर हालसालै आमा गुमाएकी सिंहले भक्कानिँदै अब आमाको सपना पूरा गर्छु भनिन् । उनले आफ्नो कमाइको अधिकांश भाग दृष्टिविहीनकै उच्च शिक्षाका लागि खर्च गर्छु भन्ने योजना सुनाइन् ।

उसो त सिंहले आफ्नो आम्दानीमध्ये रु एक लाख आमाका नाममा स्थापित कोषमा जम्मा गरिदिएकी छिन् । कोषले प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने दृष्टिविहीन महिलालाई सीप सिकाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

यसैबीच नेपाल नेत्रहीन सङ्घले आफ्नो २१ औँ वार्षिक साधारणसभाका अवसरमा उहाँहरुलाई आज यहाँ सम्मान गरेको छ । कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारीले आगामी बजेटमा सामाजिक सुरक्षाको भत्तामा वृद्धि हुने जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष रमेश पोखरेलले नेत्रहीनहरु सम्मानित र उत्पादनशील भएर समाजमा बाँच्न चाहन्छन् भन्नुभयो । कार्यक्रममा सङ्घका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले नेत्रहीनको सशक्तीकरणमा सङ्घले काम गरिरहेको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter