महत्वाकाङ्क्षी बजेट कार्यान्वयन गर्नु चुनौतीपूर्ण

Budgetकाठमाडौँ, १६ जेठ । पूर्वअर्थमन्त्रीहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट महत्वाकाङ्क्षी भएकाले कार्यान्वयन चुनौतीपूर्ण रहेकोमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले बजेटलाई इच्छापत्र बनाइएकाले व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताउनुभयो ।

“राष्ट्रिय योजना आयोगले बजेटको सीमा नौ अर्ब तोकेकोमा त्यसलाई उछिनेर ल्याइएको बजेटले पछि अर्थतन्त्र सङ्कटमा पर्छ, पुँजीगत लगानी र आर्थिक वृद्धिमा बजेटले ध्यान दिएको छैन”– उहाँले भन्नुभयो ।

बजेटले भने जस्तो रु एक खर्ब १० अर्ब आन्तरिक ऋण असम्भव भएको नेता महतको भनाइ थियो । सबैतिर दिएजस्तो देखाउन बजेटलाई अनावश्यक रुपमा ठूलो आकारको बनाइएको उहाँले बताउनुभयो । बजेट दिगो विकासको आधारशीला बन्न नसकेको उहाँको भनाइ थियो ।

“पाँच हजार मानिस अट्ने सभाहल एक वर्षमा बनाइनेजस्ता उडन्ते कार्यक्रम बजेटमा राखिएको छ, भूकम्पपीडितलाई रु दुई लाख अनुदान दिन नसकेको सरकारले सामूहिक जमानीमा रु तीन लाख निब्र्याजी ऋण दिने बजेट ल्याएको छ, यसको कार्यान्वयन हुन सकोस्”–उहाँले भन्नुभयो ।

नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले परिस्थितिको बाध्यताले बजेटलाई ठूलो आकारको र महत्वाकाङ्क्षी बनाउनुपरेको सुनाउनुभयो ।

“बजेटले पूर्वाधार र ऊर्जा विकासमा जोड दिएको छ, पुँजीगत खर्चको आधाभन्दा बढी पूर्वाधारमा बजेट छुट्याउनु सकारात्मक छ, अझ एक वर्षमा यति ऊर्जा उत्पादन गर्छौं भनी बजेटमा तोकिनुपथ्र्यो”– उहाँले भन्नुभयो ।

गाउँपालिका र नगरपालिकामा जाने बजेट वितरणमुखी नभई विकासमा लगाइएको उहाँको भनाइ थियो । बजेटले निजी क्षेत्र उत्साहित भएको पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता अधिकारीले बताउनुभयो ।

“अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा छ, विकास बजेट खर्च हुन सकेन भने देशको अर्थतन्त्र डिलबाट खसेर तल झर्छ, यसैले चुनौतीलाई सामना गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ”– उहाँले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रत्येक वर्ष बजेट खर्च गर्ने क्षमतामा तीन चार प्रतिशतले कमी आएकाले पुँजीगत खर्च गर्ने क्षमता बढाउनु नै बजेट कार्यान्वयनको चुनौती भएको बताउनुभयो ।

“अर्थमन्त्रीकै जिल्लामा रु एक अर्बभन्दा माथिका १२ वटा योजना बजेटमा समावेश गरिनु नकारात्मक प्रथाको परिणाम हो, मध्यपश्चिम र पश्चिमाञ्चलमा ठूला आयोजना नै परेनन्”– उहाँले भन्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणलाई चालु आवभन्दा आगामी आवमा बढी बजेट छुट्याए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम गर्न नसकेको नेता पुनको भनाइ थियो । बजेटमा जनतालाई त्रिपालमा राखेर चन्द्रमामा घर बनाउने किसिमका सपना बाँडिएको उहाँको भनाइ थियो ।

पूर्वअर्थसचिव रामेश्वर खनालले दिगोरुपमा राजस्व बढ्छ भन्ने निश्चित नभई आन्तरिक राजस्व बढाउन खोजिएकाले ठूलो सङ्कट ल्याउने आँैल्याउनुभयो । बजेट ठूलो आँधीपछि जहाज बचाउने प्रयास जस्तो मात्रै भएको उहाँको टिप्पणी थियो ।

सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिले समस्या पार्नसक्ने पूर्वसचिव खनालको भनाइ थियो । बजेटले विपन्नको ज्यालाको सुरक्षा नगरी करदाताको करबाट बाँच्नेको सुरक्षामात्रै गर्न खोजेको उहाँले बताउनुभयो ।

बजेट कार्यान्वयनमा चुनौती रहेको सुनाउँदै अर्थमन्त्रीले हिम्मत गर्नुपर्ने र जनता पनि सचेत हुनुपर्ने खनालको भनाइ थियो ।

“यस्तै बजेट ल्याउँदा ग्रीस र भेनेजुएला सङ्कटमा परेका थिए, बजेटलाई राम्रो भनेर तारिफ गर्न खोज्दा केही विषयले झस्काएको छ, विदेशी सहायता नआए तोकिएको स्रोत जुटाउन कठिन हुन्छ”– उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter