• Tuesday, April 15, 2025

एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक; ‘अक्षराङ्कन प्रणालीले अधिकांश विद्यार्थीको उद्धार’

SLC resultभक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो ।

नियमिततर्फ ९० देखि १०० प्राप्ताङ्क ल्याउने ‘ए’ प्लसमा १६ हजार ४५४ जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा ४१ हजार ५७७ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ४८ हजार ६११ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा ६३ हजार १८१ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा ९४ हजार ७१६ जना, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा एक लाख चार हजार २७८ जना, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ५६ हजार ७६३ जना, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा आठ हजार र १० देखि २० सम्म ‘इ’ मा ११ रहेका छन् ।

आंशिकतर्फ ९० देखि १०० सम्म ल्याउने ‘ए’ प्लसमा चार जना, ८० देखि ९० सम्म ल्याउने ‘ए’ ग्रेडमा आठ जना, ७० देखि ८० सम्म ल्याउने ‘बी’ प्लसमा ९४ जना, ६० देखि ७० सम्म ल्याउने ‘बी’ मा दुई हजार ९४३ जना, ५० देखि ६० सम्म ल्याउने ‘सी’ प्लसमा २९ हजार ७८०, ४० देखि ५० सम्म ल्याउने ‘सी’ ग्रेडमा ७५ हजार ३४०, ३० देखि ४० सम्म ल्याउने ‘डी’ प्लसमा ३७ हजार ९३९, २० देखि ३० सम्म ल्याउने ‘डी’ मा दुई हजार ४५२ र १० देखि २० सम्म ‘इ’ मा दुई जना छन् ।

नियमिततर्फ उमेर नपुगेका १६ जना, सैद्धान्तिक प्राप्ताङ्क नभएको एक हजार ७३३ जना, प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क नआएको एक हजार ८०० को परीक्षा रद्द भएको १८८ र परीक्षा स्थगित (ड्रप आउट) गरेका छ हजार ८७८ जना र निष्कासनमा परेको एक जना रहेका छन् ।

यस वर्ष नियमित र आंशिकतर्फ कुल छ लाख १५ हजार ५५३ जना परीक्षार्थीले आवेदन दिएकामा कुल पाँच लाख ८८ हजार १५२ जना परीक्षामा सहभागी भएको कार्यालयले जनाएको छ । जसमा नियमिततर्फ चार लाख ३७ हजार ३२६ जना र आंशिकतर्फ एक लाख ५० हजार ८२६ रहेका छन् । परीक्षाको आवेदन दिनेमध्ये ११ हजार ८६४ परीक्षार्थी परीक्षा दिन अयोग्य भएको र १५ हजार ५३७ जना अनुपस्थित थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभिआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिनुभयो । इन्टरनेटबाट हेर्न नसक्नेले एसएमएसबाटै परिणाम हेर्न सक्नेछन् ।

विगतमा जस्तो यस वर्षको एसएलसी परीक्षाफल प्रकाशनपछि शिक्षामा सरकारको लगानी खेर गयो भन्ने आधार कमजोर बन्यो । धेरै विद्यार्थी अनुत्तीर्ण हुनुले शैक्षिकस्तर खस्केको वा शिक्षकले नपढाएको भन्ने आलोचना पनि यसपटक सुनिएन ।

उत्तीर्ण÷अनुत्तीर्ण नभई स्तरीकृत अङ्कका आधारमा मूल्याङ्कन विधि बसाल्न पहिलोपटक लागू भएको अक्षराङ्कन प्रणालीले धेरै विद्यार्थीको ‘उद्धार’ भएको देखिएको छ । शिक्षाविद् डा मनप्रसाद वाग्लेले प्रणालीगत परिवर्तन भएको यो नतिजाले विद्यार्थीको वास्तविक क्षमता मापन नगरेको दाबी गर्दै भन्नुभयो, “अक्षराङ्कन प्रणालीमा परीक्षा त लिइयो तर त्यस प्रणालीअनुसार नभई पुरानै प्रणालीमा मूल्याङ्कन गरियो । यसले बोक्रामा सुधार भयो, गुदीमा भएन ।”

प्रणालीअनुसार अनिवार्य विज्ञान र गणितमा केही पनि नलेखेर खाली उत्तर पुस्तिका दिनेले पनि अन्य विषयमा राम्रो गरेर ४० देखि ५० प्राप्ताङ्कसम्म ‘सी’ ग्रेड पाएको अवस्थामा पनि कक्षा ११ मा पढ्न पाउने भएको छ । सो ग्रेड पाउने नयाँ प्रणालीको परीक्षाका कारण चार लाख २५ हजार विद्यार्थीले माथिल्लो कक्षामा पाउनयोग्य देखिएका छन् । पुरानो परीक्षा प्रणाली कायम रहेको भए सम्भवतः उही धेरै सङ्ख्यामा विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउने थिएनन् भने लब्धाङ्कपत्रमा अनुत्तीर्णको दर्जा पाउने थिए ।

यस्ता पक्ष यो प्रणालीका कमजोर पक्ष हुन् । जस्तो कि ३० देखि ४० सम्म ल्याउने विद्यार्थी आठ हजारमात्र छन् । “सरकारले आफ्नो प्रगति देखाउन सजिलो भयो । उसको इज्जत जोगिएको छ तर ‘डी’ र ‘इ’ ल्याउने (जो अनुत्तीर्ण होइनन् तर माथि पढ्न वा राम्रो काम पाउँदैनन्) ले के गर्ने ?” शिक्षाविद् डा विद्यानाथ कोइरालाले रासससँग भन्नुभयो ।

उहाँले त्यस्तालाई सीप सिकाउन दिनुपर्ने काम गरेबापतको पनि क्रेडिट कक्षा दिएर मूल्याङ्कन गर्ने प्रणालीमा जानुपर्ने बताउनुभयो । शिक्षाविद् डा बाबुराम अधिकारी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलको विद्यालय शिक्षा बनाउनका लागि अक्षराङ्कन प्रणाली लागू हुने सकारात्मक हो भन्दै पहिलो पटक लागू गरिएको प्रणालीका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter