नेपालमा एमाले मार्क्सवादी र माओवादी (केन्द्र) गोदामवादी देखिन्छन् : प्रदीप नेपाल

Pradip Nepalप्रदीप नेपाल नाम आफैमा परिचय बनिसकेको छ । उहाँको राजनीतिक र साहित्यिक व्यक्तित्व समानान्तर रूपले विगत ४५ वर्षदेखि सक्रिय रहँदै आएको छ । नेपालको राजनीतिक नेतृत्व नयाँ पुस्ताले लिनु पर्छ भन्ने मान्यतामा दृढ रहनुहुने नेपालसमक्ष नेपालइखबरले समसामयिक विषयमा राखेका जिज्ञासाका उत्तरहरू उहाँको सुपरिचित शैलीमा प्रस्तुत छ ।

किशोरावस्थादेखि नै बाम आन्दोलनमा लाग्नु भएको यहाँलाई मुलुकले सातौँ कम्यूनिस्ट प्रधानमन्त्री पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

म मुलुकले सातौँ कम्युनिस्ट प्रधानमन्त्री पायो भन्दिन । नेकपा (माओवादी केन्द्र) राख्ने बित्तिकै कम्युनिस्ट प्रधानमन्त्री मान्न सकिँदैन । कम्युनिस्ट पार्टीको राज्य सिद्धान्त लोककल्याणकारी राज्यको अवधारणालाई लागु गर्नु हो । यसरी कार्यक्रमिक हिसाबले हेर्दा म मनमोहन अधिकारी र केपी शर्मा ओलीलाई मात्र यो अवधारणा लागू गर्ने कम्युनिस्ट प्रधानमन्त्री मान्दछु ।

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी केही समयसम्म सत्ता साझेदार थिए । आज एउटा साझेदार सत्तामा छ भने अर्को विपक्षमा हुनु एउटा कम्युनिस्ट विचारधारा भएको व्यक्तिको दृष्टिले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

यी दुई ध्रुवका कम्युनिस्ट पार्टीहरूको नीति, सिद्धान्त, कार्यक्रम केही पनि मिल्दैन । यो मेरो निष्कर्ष होइन । यसलाई म कार्ल मार्क्सको निष्कर्षबाट पुष्टी गर्न चाहन्छु । सन् १८४७ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गर्ने सन्दर्भमा कार्ल मार्क्सले सानातिना धेरै लेख–निबन्धहरू लेखेका थिए । त्यतिबेला पनि भिन्न–भिन्न खाले कम्युनिस्टहरू थिए । त्यसैले मार्क्सवादी कम्युनिस्ट हुनका लागि उनले यस्तो योग्यता खोजेका थिए “हामी त्यस्ता कम्युनिस्ट भन्दा भिन्न छौँ जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन् जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन् जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानता विरोधी हुन्छ । तर, हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सदभाव बढाउन सकिँदैन । एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनु पर्छ जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आफूलाई श्रेष्ठ प्रमाणित गर्न सकून र आफ्नो पक्षमा बहुमत पुर्याउन सकून् ।”

मार्क्सको उपर्युल्लिखित निष्कर्षका आधारमा मूल्याङ्कन गर्दा नेकपा (एमाले) मार्क्सवादी र नेकपा (माओवादी केन्द्र) गोदामवादी देखिन्छन् ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा सत्तामा जान जोसँग पनि साझेदारी गरिहाल्ने प्रवृत्ति आलोचनाको विषय बनेको छ । यसलाई कमजोरी मान्नु हुन्छ कि विशेषता ?

यो ठूलो कमजोरी हो । यो सत्तालिप्साको परिचय हो ।

नेपालमा हुने गरेका राजनीतिक परिवर्तनका वास्तविक बाहक भनेको विदेशी शक्ति नै हो त ? हालैको सरकार परिवर्तनको विषयमा पनि यो सन्दर्भ चर्चित भएको थियो । यहाँ पटक–पटक सरकारमा सामेल हुनु भएको व्यक्तिको हिसाबले यहाँको कस्तो अनुभव रहेको छ ?
प्रमाणित नभएका अथवा प्रामाणिक आधार नभएका हल्लालाई म सत्य मान्दिन । नेपालको सरकार परिवर्तनका पछाडि दिल्लीको हात हुने कुरो सुनिँदै आएको हो । तर, यो पछिल्लो सरकार परिवर्तन चाहिं दिल्लीको चासोमै भएको हो भन्ने केही आधारहरू मैले देखेको छु । पहिलो हो – हाम्रो संविधान । भारतको भन्दा हाम्रो संविधान बढी जनपक्षीय हुनु भारतका लागि सह्य थिएन । नयाँ संविधानको घोषणा रोक्न अन्तिम समयमा भारत सरकारका प्रतिनिधि नेपाल आए । अरु सबै नेताले उनको दवाव स्वीकार गरे । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले मानेनन् । भारत आगो भयो । दशगजाको नाकाबन्दी त्यही आगोको परिणाम हो । दोस्रो हो – केपी ओलीले जेजस्तो भए पनि स्वाभिमानको बाटो रोजे । आफ्ना छिमेकीहरूको स्वाभिमान दिल्लीलाई स्वीकार्य हुँदैन । यो दक्षिण एसियाको पीडा हो । तेस्रो, केपी ओलीले चीन र भारत बीच समदूरीको संबन्ध राख्ने प्रयत्न गरे । यसले दिल्लीलाई अब सरकार ढाल्न ढिलो भो भन्ने निष्कर्षमा पुर्यायो। त्यसैले दिल्लीले केपी ओलीको सरकारलाई विस्थपन गरेर आफू अनुकूलको सरकार गठन गरेको हो । भारतीय नेता वा ठूला कर्मचारीका, ‘अब फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिनु पर्यो, अब नेपाल भारत संबन्धमा सुधार आउने भो’  जस्ता अभिव्यक्तिबाट यो कुरा पुष्टी भएको छ ।

०४६ साल यता २६ ओटा सरकार गठन भइसके । सामान्यतया सरकारको अवधि पाँच वर्ष मानिन्छ, संसदीय प्रणालीमा । त्यस हिसाबले १३० वर्षका लागि पर्याप्त सरकार परिवर्तन हामीले गरिसक्यौँ । अब त झन यति महिना फलानोको नेतृत्वमा, यति महिना ढिस्कानोको नेतृत्वमा म्याद तोकेर सरकार गठन गर्ने अभ्यास हुन थालेको छ । यसले मुलुकको लोकतन्त्रलाई कस्तो असर पार्ला ?
यो हाम्रो दुर्भाग्य हो । हाम्रा नेताहरू (भनेको नेकपा एमाले समेतका) को सैद्धान्तिक, बैचारिक स्खलनको दुर्गति परिणाम हो । नेपालमा सरकार बनाउन जनता चाहिन्छ । तर, सरकार ढाल्न एक दर्जन नेताहरूको मतियारी भए पुगिहाल्छ । अहिलेको यो प्रकृयालाई घृणा मात्र गर्न सकिन्छ । भन्न चाहिँ अहिलेको प्रणालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिन्छ । लोकतान्त्रिक गणतन्त्रको रौं बराबरको परिचय पनि अहिलेको प्रणालीमा भने देखिएको छैन । त्यसैले यसलाई मैले १२ जनाको विर्ता भन्ने गरेको छु ।

राजनीतिज्ञहरू किन यस्तो अदूरदर्शी तथा जनताप्रति गैरजिम्मेवार बनेका ? यो प्रणालीको अन्त्यका लागि के गर्नुपर्ला ? नेपालको एकजना बौद्धिक नेताको रूपमा अहिलेको राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?10509493_763092567067671_6597578265061582217_n
यो सङ्क्रमणकाल हो । पन्चायतविरोधी सङ्घर्षका नेताहरू अहिले पनि नेता नै भइरहेका छन् । हामीले जसरी फटाफट राजनीतिक प्रणाली परिवर्तन ग¥यौँ त्यही गतिमा नेता, कार्यकता अथवा नागरिकको चेत परिवर्तन गर्न सकेनौँ । हाम्रा सबै नेताहरूको दिमागमा सामन्तवाद जमेर बसेको छ । त्यसैले उनीहरू जनमतलाई तिरस्कार गर्छन् । स्थानीय निकाय अर्थात् गाउँपालिका र नगरपालिकालाई शक्तिशाली बनाउन चाहँदैनन् ।

तपाइँको आफ्नै पार्टी नेकपा (एमाले) पनि फुटेको थियो । नेकपा माओवादीको फुटने जुटने क्रम जारी नै छ । कम्युनिस्ट पार्टी फुटने र जुटने काम नेताहरूको स्वार्थ विशेषका कारणले हो ? फुटने क्रममा सिद्धान्त वा विशेष मुद्दाको कुरा उठे पनि जुटनु परेका बेला भने पुराना कुराको चर्चासमेत हुँदैन । यस्तो किन हुन्छ ?
अघिल्लो प्रश्नको उत्तरबाट पनि कैयन् कुरा प्रष्ट भइसकेको छ । नेताहरू लोकतान्त्रिक हुन नसक्नु नै नेकपा एमालेको फुटको मूल कारण थियो । संंसारको कुनै पनि मुलुकमा फुटको आधार सिद्धान्त हुनै सक्दैन । व्यक्तिको अहमले नै पार्टीलाई फुटाउँछ । ०५४ सालमा एमालेको कार्यक्रम पनि जनताको बहुदलीय जनवाद थियो । फुटेर गएको मालेको पनि कायक्रम त जनताको बहुदलीय जनवाद नै थियो । सामन्ती मष्तिष्कमा ‘इगो’ धेरै हुन्छ, त्यसमा पनि व्यक्तिगत ‘इगो’ । त्यसैले त्यतिबेला वामदेव गौतम, माधव नेपालजस्ता नेताको इगोले पार्टी फुटेको हो ।

तपाइँ खरो नेताको रूपमा चिनिनु हुन्छ । यही खरोपनाको कारणले गर्दा तपाइँ पार्टीभित्र एक्लिन थाल्नु भएको हो वा एउटा उमेर कटेपछि युवा पुस्तालाई नेतृत्व सुम्पनु पर्छ भन्ने आफ्नो मान्यताअनुसार राजनीतिमा सक्रिय नहुनु भएको हो वा गुट उपगुटमा नलागेका कारण ?
म सत्यनिष्ठ छु । खरो भनेको शायद त्यसैलाई होला । म गुटबन्दीलाई दासप्रथाको प्रतीक मान्दछु । त्यसैले गुटलाई म अन्तिम तहसम्मको घृणा गर्छु । यस्तो अवस्थामा नेताहरूको बीचमा म एक्लो हुनु स्वभाविक हो । म यही एक्लोपनामा रमाइरहेको छु । दिएको काम गरेको छु । अतिरिक्त लोभ गरेको छैन । म त पाँच वर्षदेखि युवाहरूलाई नेतृत्व लिन तयार होऊ भनेर हौस्याइरहेकोछु ।

नेकपा एमालेलाई ढुलुमुले पार्टी भनेर पनि आलोचना हुने गर्दछ । अहिलेको अवस्थालाई हेर्दा नेकपा एमालेको भविष्य कस्तो देख्नु हुन्छ ?

एउटा कालखण्डमा नेकपा (एमाले) ढुलमुल भएकै हो । यसको बैचारिक कारण मैले माथि नै बताइसकेकु छु । अहिले पनि खासै प्रगति देखिएको छैन । जबसम्म पन्चायती निरंङ्कुशता विरोधी आन्दोलनमा नेतृत्व गरेका साथीहरूको नेतृत्व रहिरहन्छ तबसम्म म नेकपा एमालेको अग्रगमन संभव देख्दिन । नयाँ युगलाई नेतृत्व गर्न नयाँ दिमाग चाहिन्छ ।

तपाइँ आजकल राजनीतिज्ञभन्दा साहित्यकारको रूपमा आफूलाई बढी स्थापित भएको ठान्नु हुन्छ ?
म त्यस्तो ठान्दिन । राजनीति मेरो नागरिक दायित्व हो । साहित्य मेरो जीवन हो भन्ने मान्यतामा म हिजो नेता वा मन्त्री हुँदा पनि थिएँ, अहिले पनि छु र भोलि पनि रहिरहनेछु ।

अन्त्यमा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
पढ्नुहोस्, पढ्नुहोस् अनि पढ्नुहोस् । नेपालको भविष्य जनताको बहुदलीय जनवादले रेखाङ्कित गरेकै मार्गमा जान्छ, जानु पर्छ । अहिलेसम्मको निष्कर्ष हो यो । त्यसैले मदन भण्डारीका रचनाहरू पढ्नुहोस् ।

(यो अन्तरवार्ता सम्वन्धि कुनै प्रतिक्रिया भए editor@nepalekhabar.com मा पठाउनुहोला ।)

Related News

Comments are closed

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter