झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि; मैले सम्पूर्ण नेपालीको मन पढेँ : झमक

Jhamak Ghimireकाठमाडौँ, २० भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयको गत जेठ २५ गते बसेको बैठकले साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । यहाँ आज आयोजित दीक्षान्त समारोह–२०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार घिमिरे नेपाली साहित्यमा अद्वितीय प्रतिभा धनी भएको बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “जन्मजात शारीरिक दुर्बलता भए पनि आशावादी चिन्तन लिएर कठोर परिश्रम गरी नेपाली साहित्यको साधनामा लागिरहने साहित्यकार घिमिरे सशक्त नारी स्रष्टा हो । उहाँ सबैको जीवनका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ ।”

नेपालका विश्वविद्यालयले प्राविधिक, सीपमूलक, खोज तथा अनुसन्धानमूलक शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले जल, जमिन र प्राकृतिक स्रोतको उचित प्रयोग गरी जीवनपयोगी शिक्षाको विकास गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले साहित्यकार घिमिरेले जीवनको भोगाइ, अनुभूति र समाजको यथार्थलाई साहित्यका माध्यमबाट राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मपविविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो, “प्रमाणपत्र लिएर बजार भौँतारिन पार्नेभन्दा पनि प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्छ ।”

शिक्षामन्त्री धनीराम पौडेलले जन्मजात पक्षाघात, गरिबीका बीच पनि स्वाध्ययन गरेर ज्ञान आर्जन गरी नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याउनुभएका घिमिरेलाई मानार्थ विद्यावारिधि दिनु महत्वपूर्ण भएको बताउनुभयो । मपविविका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले घिमिरे अथक साहित्यकार तथा साहस र सिर्जनाको प्रतिमूर्ति भएको हुँदा मानार्थ विद्यावारिधि प्रदान गरिएको बताउनुभयो । विश्वविद्यालयका रजिस्ट्रार डा महेन्द्रकुमार मल्लले शारीरिक रुपमा कमजोर भए पनि मानसिक रुपमा उहाँ अब्बल रहेको बताउनुभयो ।

सो अवसरमा साहित्यकार घिमिरेको लिखित भावना पढिएको थियो । “एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुङ्गा पढेँ, माटो पढेँ, सम्पूर्ण नेपालीको मन पढेँ, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु”, मन्तव्यमा भनिएको थियो ।

हात, खुट्टा नचल्ने, सिधा बस्न नसक्ने र पीडादायी बाल्यकालबाट हुर्कनुभएकी घिमिरे विसं २०३७ असार २१ गते धनकुटामा जन्मनुभएको हो । घिमिरे साहित्य यात्रामा लागेको दुई दशक भएको छ । सो अवधिमा उहाँका कविता, निबन्धसङ्ग्रह लगायत १३ कृति प्रकाशन भइसकेको छ । निबन्धात्मक कृति ‘जीवन काँडा कि फूल’ कृतिबाट उहाँले मदन पुरस्कार समेत प्राप्त गरिसक्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter