नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

ilo-50काठमाडौँ, २९ मङ्सिर । नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)बीच सहकार्य भएको ५० वर्ष पुगेका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आइएलओले अघि सारेको सम्मानजनक कामको नीतिप्रति नेपालले प्रतिबद्धता जनाइसकेको तथा त्यसको पालनासमेत गरिरहेको बताउनुभयो ।

श्रम र रोजगारका क्षेत्रमा आइएलओसँग सहकार्य गर्दै अघि बढ्न नेपाल तयार रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले बढ्दो वैदेशिक रोजगारीको अवस्थाअनुरुप आप्रवासको अन्तर्राष्ट्रिय श्रम मापदण्ड लागू गर्न आवश्यक रहेकामा पनि जोड दिनुभयो ।

आइएलओका महानिर्देशक गाय राइडरले नेपालको नयाँ संविधान मजदुरमैत्री रहेको आफूले पाएको बताउँदै मानवअधिकार, रोजगारीको अधिकार, मर्यादित श्रमको अधिकार, सौदाबाजीको अधिकारजस्ता मजदुरमैत्री प्रावधान त्यसमा रहेको बताउनुभयो ।

मानवअधिकारसम्बन्धी आइएलओको आठ अभिसन्धिमध्ये सातमा नेपालले हस्ताक्षर गरिसकेको जानकारी दिँदै उहाँले त्यसले कामदारको अधिकारको संरक्षणका लागि सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा सरकार, श्रमिक र रोजगारदाताका प्रतिनिधिले आ–आफ्नातर्फबाट आगामी दिनमा समेत आइएलओसँगको सहकार्य जारी राख्ने विषयको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाललाई सहयोग बढ्छ – महानिर्देशक राइडर

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आइएलओका महानिर्देशक राइडरले आवश्यकताअनुसार नेपाललाई दिइँदै आएको सहयोग बढाउने बताउनुभयो ।

सहयोग बढाउनेबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “यो वर्ष १७ मिलियन डलर (करिब रु एक अर्ब १७ करोड) बजेट नेपालका लागि छुट्याएका छौँ, आवश्यकताअनुसार यसलाई बढाउँदै लैजानेछौँ ।” वैदेशिक रोजगारीमा जाने कामदारको क्षेत्रमा नेपाललाई थप सहयोग गर्न आफूले पहल गर्ने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालसँगको भेटमा आफूले कामदार पठाउने मुलुकहरुसँग शीघ्र श्रम सम्झौता गर्नुपर्ने सुझाव दिएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानुअघि कामदारलाई सम्बन्धित कामको सीप, देशको भाषा र संस्कृतिबारे जानकारी दिएर मात्रै पठाउने प्रवन्ध मिलाउनुपर्ने उहाँको सुझाव थियो ।

श्रममन्त्री गुरुङसँग आइएलओका महानिर्देशकको भेटवार्ता

यसैबीच, श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङसँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय श्रम सङ्गठन९आइएलओ०का महानिर्देशक गुये राईडरले आज यहाँ भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल आइएलओको सदस्य भएको ५० वर्ष पुगेको अवसरमा बधाई साटासाट गर्दै श्रमसम्बन्धी अन्तर्राष्ट्रिय विषयमा साझा धारणा बनाउने सहमति भएको भेटमा सहभागी मन्त्रालयका प्रतिनिधि डिल्ली बाँस्तोलाले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले नेपालको श्रम तथा रोजगारको क्षेत्रमा आइएलओले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै दोस्रो कार्यकालका लागि महानिर्देशकमा पुनःनिर्वाचित हुनुभएकोमा राईडरलाई बधाई दिनुभयो ।

नेपालमा वर्षमा पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीका लागि पर्याप्त अवसर नहुँदा विदेशिन बाध्य भएको बताउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन आइएलओको थप सहयोगका लागि मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

महानिर्देशक गाइ राईडरले श्रमलाई सुरक्षित र मर्यादित बनाउन नेपालले चाल्दै आएको कदमप्रति सराहना व्यक्त गर्दै त्यसमा आइएलओको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित गराउन गन्तव्य मुलुकसँग श्रम सम्झौतालाई नेपालले प्राथमिकता दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

आइएलओको विभिन्न अभिसन्धि र प्रस्तावमा नेपालले गरेको हस्ताक्षरप्रति धन्यवाद दिँदै उहाँले बाँकी अभिसन्धिमा समेत छिट्टै नेपालले हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा श्रम तथा रोजगार राज्यमन्त्री दिलीप गच्छदार, मन्त्रालयका सचिव, आइएलओका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter