नागरिक उड्डयन प्राधिकरणको आम्दानी रु चार अर्बभन्दा बढी; कालोसूचीबाट हटाउने प्रयास जारी

caanरमेश लम्साल / काठमाडौँ, १६ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ मा रु चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ ।

गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा यात्रुको आवागमनमा कमी भएको भएपनि आम्दानी बढ्नेक्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको १८ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७२÷७३ का लागि विमानस्थल विकास शुल्कबाहेक रु तीन अर्ब ८७ करोड ६७ लाख प्रक्षेपण गरिएकोमा रु ६४ करोड ३८ लाख वृद्धि भई उक्त लक्ष्य हासिल भएको हो ।

प्राधिकरण स्थापना भएपछि पहिलो पटक आव २०६८÷०६९ मा खुद सञ्चित नाफा आर्जन गरेकोमा पछिल्ला वर्षहरूमा निरन्तररुपमा कार्यसञ्चालन नाफा गर्दै जाँदा आव २०७१÷७२ सम्मको कुल सञ्चित नाफा रु चार अर्ब भन्दा बढी रहेको छ ।

प्राधिकरणले चालु आवको पूँजीगत खर्चतर्फ रु २७ अर्ब ३५ करोड ४० लाख, कार्यसञ्चालनतर्फ रु तीन अर्ब ४८ करोड ५४ लाख गरी जम्मा रु ३० अर्ब ८३ कुरोड ९४ लाख विनियोजन गरिएको छ ।

त्यस्तै, सरकारलाई साँवा र व्याज गरी रु २९ करोड ८८ लाख, कर्मचारी कल्याणकोष सापटीका लागि रु १५ करोड, आयकर व्यवस्थाका लागि रु नौ करोड १५ लाख, कर्मचारी आवास व्यवस्थाका लागि रु ३८ करोड ३५ लाख, नेपाल सरकारको लगानीको लाभांश रु एक अर्ब ४७ करोड ६२ लाख, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ७९ करोड ६७ लाख, कर्मचारी बोनसवापत रु ५३ करोड २७ लाख, स्थिर सम्पत्ति प्रतिस्थापनको लागि रु ४१ करोड ४६ लाख विनियोजन गरिएको महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनुभयो ।

यस्तै, प्राधिकरणले आव २०७२÷७३ मा सरकारलाई मूल्य अभिवृद्धि कर वापत रु ५१ करोड १५ लाख, आयकर रु ४७ करोड ५९ लाख, धरौटी वापत रु १७ करोड २३ लाख, ऋणको साँवाबापत रु नौ करोड ४४ लाख, व्याज वापत रु २० करोड ६२ लाख गरी कुल रु एक अर्ब ४६ करोड तीन लाख भुक्तानी गरेको छ ।

बत्तीस विमानस्थल सञ्चालनमा

मुलुकभर ५० विमानस्थल रहेकामा हाल ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । महानिर्देशक गौतमकाअनुसार चारवटा विमानस्थल निर्माणको क्रममा छन् ।

कालीकोट, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर र इलामको सुकिलुम्बा विमानस्थल निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आव २०७२÷७३ मा ताप्लेजुङ, रामेछाप, रुकुम चौरजहारी र रारा(मुगु) विमानस्थलमा धावनमार्ग कालोपत्रे भई सकेको छ ।

हाल २६ विमानस्थल मात्रै कालोपत्रे अवस्थामा रहेका छन् । चालु आवमा भोजपुर, डोल्पा (जुफाल) र मनमाया राई खानीडाँडा विमानस्थलको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कालीकोट विमानस्थलमा आगामी माघ मसान्तसम्म परिक्षण उडान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उदयपुरको सगरमाथा विमानस्थल, धरान विमानस्थल, प्यूठानको स्वर्गद्वारी विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य जारी रहेको छ भने अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ ।

विराटनगर, नेपालगन्ज, जुम्ला विमानस्थलको धावन मार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र राजविराज, लामिडाँडा, थामखर्क, डोटी (दिपायल), साँफेबगर, डोल्पा तथा बैतडीको पाटन विमानस्थल कालोपत्रे, थालनी गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, प्राधिकरणले पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य सुरु हुने चरणमा रहेको जनाएको छ भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बाराको जग्गा सीमांकन गर्ने जिम्मेवारी एवम् आयोजनाको स्वामित्व प्राधिकरणलाई हस्तान्तरण भएको र चालु आवभित्रै ११० विगाहा जग्गाको मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । यस्तै, गौतमबुद्ध विमानस्थललाई सन् २०१८ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कालोसूचीबाट हटाउने प्रयास जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई उद्योगमाथि लागेको कालोसूचीको दाग हटाउने प्रयासमा सरकार लागेको र सोहीअनुसार काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभयो ।

मुलुकको एकमात्र विमानस्थलमा काम गर्ने कर्मचारीको व्यवहार, मर्यादा, कार्यशैली एवम् काम गर्ने तरिकामा गुणात्मक परिवर्तन ल्याउन आग्रह गर्दै मन्त्री शाहीले विगतमा भएका गल्ती र कमजोरीका कारण मुलुक कालोसूचीमा पर्नुपरेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले मन्त्रालयसँग गरिएको कार्यसम्पादन करार सम्झौता बमोजिम काम गरे मुलुक कालोसूचीबाट हट्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट सेवा गरेका कर्मचारीलाई पुरस्कृत पनि गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter