• Monday, April 14, 2025

‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ सम्पन्न; कुलमान सम्मानित

Infrastructure Summitकाठमाडौँ, ९ फागुन । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित यहाँ आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित पूर्वाधारलगायत विषयमा छलफल भई सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसङ्घ (सिएनआइ) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज (आइसिएनसी) सहआयोजक रहेको उक्त सम्मेलन विशेषगरी कृषि, ऊर्जा, यातायात र पूर्वाधारका विषयमा केन्द्रित भएको थियो । सम्मेलनबाट विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्नाका साथै दातृ निकायलाई लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।

सम्मेलको आज समापन गर्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वाधार निर्माणमा प्रमुख साझेदारीका रुपमा निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने सरकारको नीति रहेको तथा आवश्यक वातावरण बनाउन र लगानीलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्य सचिव डा सोमलाल सुवेदीले मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार आवश्यक भएकाले यसमा निजी क्षेत्र तथा दातृ निकायलाई लगानीमा आकर्षण गर्न सरकार लागिपरेको बताउनुभयो ।

सिएनआइका अध्यक्ष हरिभक्त शर्माले पूर्वाधार निर्माणमा सरकारसँग साझेदारीका साथ अघि बढ्न निजी क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र लगानीको वातावरण सिर्जना हुन जरुरी भएको औँल्याउनुभयो ।

यसअघि सम्मेलनको छलफल सत्रलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा रामशरण महतले सार्वजनिक निजी साझेदारीको अपरिहार्यतालाई ध्यान दिँदै सरकारले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्ने रणनीति लिन जरुरी भएको धारणा राख्नुभयो । सम्मेलनमा उद्योग क्षेत्रका ३० भन्दा बढी विज्ञ, नेपाल सरकारका मन्त्री, नीतिनिर्माता र विभिन्न विकास साझेदारको सहभागिता थियो । सम्मेलनमा मुख्य वक्ताका रुपमा भारतीय रेल्वे मन्त्री सुरेश प्रभाकर हुनुहुन्थ्यो ।

कुलमान सम्मानित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई ‘बेस्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’( पूर्वाधारमा वर्षका उत्कृष्ट योगदानकर्ता )बाट सम्मान गरिएको छ । परिसङ्घले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याएबापत घिसिङलाई सम्मान गरेको हो ।

त्यसैगरी पूर्वाधार विकासमा उत्कृष्ट अवधारणा तयार गर्ने तीन जनालाई आइडिया स्टुडियोका तर्फबाट नगदसहित सम्मान गरियो । यसरी सम्मानित हुनेमा काठमाडौँ उपत्यकामा मोनोरेलको आइडिया ल्याउने स्नेहा मेहता(रु एक लाख) तथा द्रुतमार्गतर्फ निर्मला सुवाल र सुवास रिजाल(जनही रु ५० हजार) हुनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter