विस्थापित भयो भारतीय खरबुजा

kharbujaवसन्त गिरी / कपिलवस्तु, वैशाख २७ गते । वाणगङ्गा नदी किनारमा उत्पादन भएको खरबुजाले भारतबाट आयातित खरबुजालाई विस्थापित गरेको छ । बुद्धभूमि नगरपालिका मोतिनगरका कृषकले वाणगङ्गा नदी किनारको बगरमा लगाएको खरबुजा खेतीबाट राम्रो उत्पादन भएपछि यसले सदरमुकाम र जिल्लाका मुख्य बजारमा राम्रो दाम पाएका छन् ।

यहाँको भन्दा भारतीय खरबुजा महँगो पर्छ भने धेरै दिनअघि टिपेको हुनाले स्वाद पनि मीठो नहुने भएकाले उपभोक्ताले स्थानीय उत्पादनलाई नै रुचाउने गरेकोे फलफूल व्यापारी बताउँछन् । तौलिहवा, गोरुसिङ्गे, चन्द्रौटा, पकडी, गजेहडा, महाराजगञ्ज लगायतका बजारमा यतिखेर स्थानीय खरबुजाको माग अत्यधिक छ । त्यस क्षेत्रका कृषकले हप्तामा एक सय मेट्रिक टनसम्म खरबुजा बिक्री गरेको बताउँछन् ।

तौलिहवाका व्यापारीले समेत भारतीय खरबुजा अहिले ज्यादै न्यून मात्रामा आएको बताउँछन् । पहिला हप्तामा एक सयदेखि डेढ सय मेट्रिक टन आउँथ्यो, अहिले २० मेट्रिक टनसम्म आउँछ, स्थानीय व्यापारी मकसुद खाँले भन्नुभयो ।

नदी कटानबाट बगरमा परिणत भएका खेत अहिले खरबुजा उत्पादनका पकेट क्षेत्र बनेका छन् । सयभन्दा बढी कृषकले वाणगङ्गा नदीको बजर (निख्खर जमिन)मा खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् ।

नदीको निख्खर र सुख्खा बालुवामय बनेको जग्गामा समेत नमूनाका रूपमा उनीहरूले ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गरेका हुन् । मोतिनगरका कृषक रमेश केवटले भन्नुभयो, मैले खरबुजा बेचेर यस वर्ष ८० हजार रुपियाँ आम्दानी गरे । तौलिहवा हाट बजारमा मङ्गलबार ट्याक्टरमा लोड गरी खरबुजा बेच्न आएका केवटले आफूले १४ क्विन्टल खरबुजा बेचेको जानकारी दिनुभयो । पहिला पहिला भारतबाट आउने खरबुजाको बिक्री बढि थियो अहिले हाम्रो बजार राम्रो छ, उहाँले भन्नुभयो ।

यहीं खरबुजा खेती गर्नुभएका दिनानाथ केवटले ५० हजार रुपियाँ र बुद्धु केवटले एक लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो । माधुरी ६४ जातको खरबुजा एक कट्ठामा १५ क्विन्टलभन्दा बढी उत्पादन हुने कृषक बताउँछन् । यहाँ एक किलोदेखि ११ किलो सम्मका खरबुजा उत्पादन हुन्छन् । अहिले बजारमा खरबुजा प्रतिकेजी १५ देखि २० रुपियाँसम्ममा बिक्री भइरहेको छ । खरबुजा खरिदका लागि बुटबल, भैरहवा, अर्घाखाँचीसम्मका व्यापारी खेतमै आउने गरेको कृषक बताउँछन् । स्थानीय कृषक पर्शुराम केवटले व्यापारी गाडी लिएर खेतमै आउने गरेको चर्चा गर्दै भन्नुभयो, उत्पादन गर्न सक्नुपर्छ बिक्री जति पनि हुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लाभरमा ६५ हेक्टरमा खरबुजा खेती गरिएको छ । गत वर्ष ५० हेक्टरमा खरबुजा खेती भएको कार्यालय प्रमुख राकेश ओझाले जानकारी दिनुभयो । कृषि विकास कार्यालयका अनुसार यस वर्ष एक हजार तीन सय मेट्रिक टन खरबुजा उत्पादन हुने अनुमान छ । कार्यालयले उत्पादन बढाउन कृषकलाई बीउबिजन, औषधि, उपकरण, तालिम र परामर्श सेवा दिँदैआएको छ । कार्यालयको सहयोग तथा बढी आम्दानी पाउन थालेपछि कृषक खरबुजा खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ माधुरी ६४ र मधुवाला जातका खरबुजा खेती गरिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter