• Tuesday, April 22, 2025

सबैलाई मतदानमा केन्द्रित गर्न मौन अवधि; राष्ट्रपतिसँग शीर्ष नेताको भेट

Election Commissionकाठमाडौँ, वैशाख २८ गते । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ ।

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइँदैन ।

राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउनुहुन्छ ।

पूर्व प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो – “निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।”

पहिलो चरणको निर्वाचन वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ का २८३ स्थानीय तहमा हुँदैछ । उक्त दिनको मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने आयोगले जनाएको छ । दलहरुले आफ्ना प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेको जनाएको छ । आज रातिदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर उम्मेदवार अन्तिम प्रचारमा जुटिरहेका छन् । मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हँुदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ ।

स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हँुदैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको जानकारी गराउनुभयो । निर्देशिकाको दफा ७० को उपदफा९१०मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।

“मौन अवधि भनेको शान्त अवधि हो, यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर विचार बनाउने समय हो” – प्रवक्ता शर्माले भन्नुभयो । यस निर्वाचनमा उम्मेदवारको सङ्ख्या ४९ हजार ३३७ रहेको छ । यसअनुसार पुरुषको सङ्ख्या ३० हजार पाँच र महिलाको सङ्ख्या १९ हजार ३३२ कायम भएको छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०।८२ प्रतिशत र महिला ३९।१८४ प्रतिशत रहेको आयोगले जनाएको छ ।

राष्ट्रपतिसँग शीर्ष नेताको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गर्नुभएको छ ।

प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उहाँले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

दलका नेताहरुले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो ।

सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।

यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter