धान छाडेर मेन्थाखेती

menthaसिराजुद्दिन खान / नेपालगञ्ज, वैशाख ३१ गते । बाँकेका विभिन्न स्थानमा मेन्थाखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । मेन्थाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महादेवपुरी, कचनापुर, फत्तेपुर र गङ्गापुरलगायतका क्षेत्रमा मेन्थाखेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार खेती राम्रो हुँदै गएपछि धेरै किसानले धानखेती छोडेर मेन्थाखेती गर्न थालेका छन् । यहाँ तीन सयभन्दा बढी किसानले मेन्थाखेती गरिरहेको सो कार्यालयका प्रसार अधिकृत धनबहादुर पुनले बताउनुभयो ।

उत्पादन राम्रो हुन थालेपछि साविकको महादेवपुरी गाविस र राप्तीपारिको फत्तेपुर गाविसलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाइएको छ । हाल महादेवपुरीमा एक सय बिघा र फत्तेपुरमा १२५ बिघाभन्दा बढी जमिनमा मेन्थाखेती गरिएको छ । केही किसानले बाँझो जमिन सदुपयोग गरी मेन्थाको व्यावसायिक खेती गर्न थालेका छन् भने केहीले त धानखेती नै छोडेका छन् ।

किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरिसकेको भगवती जडीबुटी उत्पादन समूहका सचिव दयाराम चौधरीले बताउनुभयो । उहाँले २६ जनाको समूहले ३० बिघा जमिनमा मेन्थाखेती गरिरहेको बताउनुभयो । बाँझो जमिनमा मेन्थाखेती थालेका छौँ, उहाँले भन्नुभयो, एकातिर जमिन सदुपयोग भएको छ भने अर्काेतिर आम्दानीको राम्रो स्रोत बनेको छ । मेन्थाखेतीबाट गत वर्ष एक लाख रुपियाँ खुद नाफा भएको जानकारी चौधरीले दिनुभयो ।

मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने हुँदा खेती गर्न सहज हुने शमशेरगञ्जका किसान गोपाल धामीले बताउनुभयो । पशुले मेन्था नखाने भएकाले पनि यसको खेती उपयुक्त भएको उहाँको भनाइ छ । मकैबालीलाई धेरै स्याहार गर्नुपर्छ, पशु चौपायाबाट जोगाउनसमेत कठिन हुन्छ, धामीले भन्नुभयो । मकै रोपेपछि बिक्री गर्न समस्या हुने भए पनि मेन्था नगदेबाली भएको किसान धामीको भनाइ छ । धामीले यस वर्ष २५ कट्ठामा मेन्थाखेती लगाउनुभएको छ । मेन्थाखेती गर्ने किसानले भारत र नेपालगञ्जमा मेन्थातेल बिक्री गर्दै आएका छन् । अहिलेसम्म मेन्थाबाट उत्पादित तेल बिक्रीका लागि कुनै समस्या नभएको किसानको भनाइ छ । मेन्थाको तेलको माग भारतमा अत्यधिक भएकाले खेतीमा अझै विस्तार गर्नुपर्ने नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । सङ्घमा आबद्ध विभिन्न व्यवसायीले तेल निर्यातको काम गर्दै आएकोले माग अनुसार तेल अझै पनि पाउन नसकेको सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter