सय वर्षमा दूरसञ्चार
विश्वास रेग्मी / काठमाडौँ, जेठ १ गते । वि.सं. १९७४, जेठ १ । गोरखापत्रको दोस्रो पृष्ठको ‘देश समाचार’ अन्तर्गतको पहिलो समाचार थियो ‘टेलिफोन खुल्यो’ । जनताका अधिकार कुण्ठित बनाइएको एकतन्त्रीय राणाशासनको तत्कालीन परिस्थतिमा यो समाचारको विषय आफँैमा एउटा ठूलो फड्को थियो । समाचारमा उल्लेख भएअनुसार राणा शासकले सर्वसाधारण जनताका लागि पनि टेलिफोन सेवा उपलब्ध भएको घोषणा गरेका थिए ।
यस हिसाबले सर्वसाधारण नेपाली जनताको पहुँचमा टेलिफोन सेवा पुगेको आज एक सय वर्ष पूरा भएको छ । संयोग, एक सय वर्ष अघिको त्यो दिन पनि सोमबार नै थियो । गोरखापत्रको उक्त समाचारमा लेखिएको छ ‘बडो हर्षको कुरा छ कि, परम विवेकी प्रजाहितेच्छु श्री ३ महाराजबाट सकललाई सब कुराको सुविस्ता होस भन्ना निमित्त नेपालमा अनेक काम निकाली बक्सेको छ । केही दिन भयो टेलिफोनको काम पनि सुरु गराई बक्सियेको थियो । यस्को सूचना ८÷१० महिना पहिले पनि पाठक महाशयमा जाहेर गरी सकेका छौँ । अब फेरी जाहेर गरिन्छ कि आज ज्येष्ठ १ गते सोमबारदेखि सारा दुनियादारका निमित्त पनि टेलिफोन खुल्यो । यसको महसुलको दर यहाँदेखि यहाँसम्मलाई भन्ने कुरो पछि दिइने छ’ । समाचार अनुसार सर्वसाधारणलाई उपलब्ध गराइने उक्त टेलिफोन उपयोग गरेबापत महसुल तिर्नुपर्ने उल्लेख छ ।
एक शताब्दिपछि अहिलेको समयसम्म दूरसञ्चार क्षेत्रले धेरै परिवर्तन आत्मसात् गरेको छ । निश्चित दूरीसम्म तार जोडेर कुराकानी सम्भव बनाइएको विगतदेखि तारमै
आधारित ल्याण्डलाइन हुँदै बेस स्टेसन ट्रान्सिभर(बीटीएस) टावरको माध्यमबाट फ्रिक्वेन्सी प्रयोग गरी मोबाइलबाट कुराकानी गर्न सक्ने वर्तमान छ । यतिमात्रै होइन व्यक्तिगत सम्पर्कका लागि ‘वरदान’ सावित भएको मोबाइल सेवामा आएको परिवर्तनले इण्टरनेट पनि अब सबैको सहज पहुँचमा पुगेको छ । त्यसमा पनि वायरलेस ब्रोडब्याण्डको रूपमा नेपाल टेलिकम गत पुष १६ गतेदेखि नेपालमै पहिलोपटक मोबाइलमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यस हिसाबले विकासका अन्य सूचकको तुलनामा नेपालमा पहुँच, विस्तार र प्रभावका हिसाबले सबैभन्दा द्रूततर गतिमा अघि बढेको क्षेत्र सावित भएको दूरसञ्चार । हरेक क्षेत्रको सम्पर्क साधनको रूपमा पनि दूरसञ्चार अब अपरिहार्य बनिसकेको छ ।
नेपालमा अहिले ६ ओटा सेवा प्रदायकले दूरसञ्चार सेवा उपलब्ध गराइरहेका छन् । त्यसमध्ये नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र युनाइटेड टेलिकमले मोबाइलमा आधारित दूरसञ्चार सेवा उपलब्ध गराउन सक्ने एकीकृत दूरसञ्चारको अनुमति पाएका छन् । यद्यपि नेपाल टेलिकम र एनसेलले मात्र मोबाइलमा आधारित जीएसएम सेवा उपलब्ध गराइरहेका छन् । नेपालको कुल दूरसञ्चार बजारको करिब ९८ प्रतिशत हिस्सा पनि यी दुई सेवा प्रदायकले ओगटेका छन् । ग्रामीण क्षेत्रमा मात्र दूरसञ्चार सेवा उपलब्ध गराउने गरी नेपाल स्याटेलाइट र एसटीएम सञ्चारले ग्रामीण दूरसञ्चार अनुमति पाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालको कुल जनसङ्ख्याभन्दा २९ प्रतिशत बढीमा दूरसञ्चारको पहुँच पुगिसकेको छ । त्यस्तै आधाभन्दा बढी जनसङ्ख्याले इण्टरनेट प्रयोग गर्छन् । इण्टरनेट प्रयोगकर्ता बढेसँगै दूरसञ्चार सेवा प्रदायकले पनि यसलाई नै प्राथमिकतामा राखेर सस्तोमा डेटा प्याक उपलब्ध गराउने एक किसिमको प्रतिस्पर्धा अहिले पनि जारी छ । नेपालको दूरसञ्चार क्षेत्रल राम्रो अवस्थामा रहे पनि यसमा अझै धेरै सुधार बाँकी नै रहेको प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेल बताउनुहुन्छ । दूरसञ्चारको पहुँच विस्तार भए पनि यसै अनुसारको गुणस्तर वृद्धि हुन नसक्दा जनताले अझै पनि गुणस्तरीय सेवा पाउन नसकेको उहाँको भनाइ छ ।
‘काठमाडौंसहित केही शहरमा दूरसञ्चारको गुणस्तर राम्रो भए पनि ग्रामीण क्षेत्रमा अझै धेरै समस्या छ’ उहाँले भन्नुभयो । बढ्दो डेटा सेवाको प्रवृत्तिलाई समग्र देशको आर्थिक क्षेत्रमा योगदान पुग्ने गरी त्यसै किसिमका आधार दूरसञ्चार सेवा प्रदायकले तयार गर्नुपर्ने उहाँको सुझाव छ । दूरसञ्चारको पहुँच व्यापक रूपमा विस्तार भए पनि अझै पनि कतिपय दुर्गम क्षेत्रमा यसको पहुँच नहुँदा समस्या भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बताउनुहुन्छ । ‘यही अवस्थालाई ध्यानमा राखेर टेलिकम पछिल्लो समय दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि केन्द्रित छ’ –उहाँले भन्नुभयो । त्यस्तै इण्टरनेट प्रयोगकर्तालाई नयाँ किसिमका अन्य सुविधा प्रदान गर्दै समग्र सामाजिक र आर्थिक वृद्धिमा टेलिकमले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।