बढ्यो औद्योगिक उत्पादन; फागुनभन्दा चैतमा महँगी

Nepal Rastra Bankविश्वास रेग्मी / काठमाडौँ, जेठ ३ गते । विद्युत् आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रलाई साथ दिएको छ । विद्युत् आपूर्तिसँगै इन्धन तथा कच्चा पदार्थकोसमेत सहज आपूर्तिका कारण औद्योगिक उत्पादनमा सुधार आएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार सार्वजनिक गरेको नौ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू आर्थिक वर्षमा औद्योगिक उत्पादन १०.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । गत वर्षमा ऋणात्मक रहेको औद्योगिक उत्पादनमा क्रमशः सुधार हुँदैगएको राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्षमा औद्योगिक उत्पादन ६.३ प्रतिशतले ऋणात्मक रहेको बैङ्कको संशोधित अनुमान छ । देशभर लोडसेडिङ अन्त्य गर्ने सरकारको अभियान अनुसार विद्युत् आपूर्तिमा क्रमशः सुधारसमेत हुँदैगएको छ । यसको प्रत्यक्ष प्रभाव औद्योगिक क्षेत्रमा परेको देखिन्छ ।

राष्ट्र बैङ्कका अनुसार कृषि क्षेत्रमा पनि चालू आर्थिक वर्षमा क्रमिक सुधार देखिएको छ । अनुकुल मौसमका कारण चालू आवमा यो क्षेत्रले ५.३ प्रतिशतसम्मको वृद्धिदर हासिल गर्न सक्ने अनुमान गरिएको छ । गत आवमा यो वृद्धिदर ०.०३ प्रतिशतमा सीमित थियो । अपेक्षा गरिएभन्दा राम्रो बर्षा, पुनर्निर्माणको काम र ऊर्जा आपूर्तिले समग्र आर्थिक बढी हुन सक्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ । केन्द्रीय तथ्याङ्क विभागको ६.९ प्रतिशतको प्रक्षेपणलाई आधार मानेर राष्ट्र बैङ्कले लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर पार हुने जनाएको छ । बैङ्कका अनुसार सेवा क्षेत्रको अवस्था पनि चालू आवमा सुखद देखिएको छ ।
गत वर्ष २.०६ प्रतिशतको मात्र वृद्धिदर हासिल गरेको यो क्षेत्रले चालू आवमा ६.९ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान राष्ट्र बैङ्कको छ ।

फागुनभन्दा चैतमा महँगी
राष्ट्र बैङ्कको नौ महिनासम्मको तथ्याङ्कले फागुनको तुलनामा चैतमा महँगी बढेको देखाएको छ । फागुनमा २.९ प्रतिशतको मुद्रास्फीति रहेकोमा चैतमा ३.८ प्रतिशत कायम भएको छ । आपूर्ति व्यवस्थामा आएको सुधार र आधार मुल्यको प्रभावका कारण चालू आवमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको जनाइएको छ । तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मुद्रास्फीति दर अन्य क्षेत्रको भन्दा कम छ । गत आवको नौ महिनासम्मको अवधिमा ११.७ प्रतिशतको मुद्रास्फीति व्यहोरेको काठमाडौँ उपत्यकामा चैतमा यो दर २.७ प्रतिशतमा सीमित छ । काठमाडौँपछि हिमालमा २.८, तराईमा ३.४ र पहाडमा सबैभन्दा बढी ५.६ प्रतिशत मुद्रास्फीति रहेको छ । चैत महिनामा भारतको मुद्रास्फीति तीन प्रतिशत रहेको छ । यस हिसाबले दुई देशबीचको मुद्रास्फीति अन्तर ०.८ प्रतिशत कायम छ ।

मुख्य वस्तुकै निर्यात घट्यो
राष्ट्र बैङ्कका अनुसार नेपालबाट निर्यात हुने प्रमुख वस्तुको निर्यात घटेको छ । नौ महिनासम्मको तथ्याङ्क अनुसार अलैँची, पोलिस्टर धागो, तयारी पोशाक, उनी गलैँचा लगायतका वस्तुको निर्यात घटेको छ तर जुस, चाउचाउ, पिना, रोजीन जस्ता वस्तुको निर्यात भने बढेको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा अवधिसम्म नेपालको निर्यात व्यापार १२.१ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब २२ करोड पुगेको छ ।

नेपालको व्यापार घाटा भने चुलिदैं गएको तथ्याङ्क राष्ट्र बैङ्कको छ । चैतसम्म नेपालको व्यापार घाटा ४२.६ प्रतिशतले बढेर छ सय ७१ अर्ब २० करोड पुगेको छ । यस अवधिमा आयात ३९.७ प्रतिशतले बढेर रु. सातसय २६ अर्ब ४१ करोड पुगेको तथ्याङ्क छ । यसबीचमा नेपालको विपे्रषण आप्रवाह ६.३ प्रतिशतले बढेर रु. पाँच सय ११ अर्ब ९३ करोड पुगेको छ । यो हिसाबले विपे्रषण आप्रवाहले पनि नेपालको आयात धान्न नसकिने पाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter