• Tuesday, April 22, 2025

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता रद्द गर्ने चेतावनी

Gautam Buddha Airportभैरहवा, जेठ ४ गते । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सन्तोषजनक नभएको भन्दै आयोजनाले ठेक्का सम्झौता बदर गर्ने अन्तिम चेतावनी दिएको छ । निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले पछिल्लो समय विभिन्न बहाना बनाएर निर्माण कार्य अलमलमा पारेको भन्दै आयोजनाले तत्काल काममा तदारुकता नदेखाए सम्झौतासमेत खारेज गर्ने र ठेक्का तोड्नेसम्मको करिब १५ दिन अगाडि चेतावनीसहित पत्र पठाएको हो तर उक्त पत्रको ढिलो गरी जवाफ पठाउँदै कम्पनीले विमानस्थल निर्माणको कामले विस्तारै गति लिने आश्वासन दिएको छ ।

ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्टले निर्माणको जिम्मा लिए पनि आफू स्वयंले काम नगरेर सब कन्ट्रयाक्टरका रूपमा नेपाली कम्पनीलाई निर्माणको जिम्मा लगाएको थियो तर तीव्र गतिमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढिरहेका बेला निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले नेपाली सब कन्ट्रयाक्टरलाई काम गरेबापतको रकम भुक्तानी नदिएपछि सुरु भएको विवाद अहिले आएर निर्माण कार्य नै अन्योलमा पर्ने गरी सतहमा देखिएको हो ।

भुक्तानी नपाएर काम छाडेको नेपाली निर्माण कम्पनीलाई हटाउँदै आफै निर्माणमा लागेको चिनियाँ कम्पनीले गएको करिब डेढ महिनामा निर्माणको काम एक प्रतिशत पनि पूरा गर्न सकेको छैन । उसँग हाल निर्माणका लागि आवश्यक सामग्रीका रूपमा हेबी इक्युपमेन्ट तथा कामदारसमेत नभएकाले काम सुरु गर्न नसकेको हो । जसका कारण राष्ट्रिय गौरवको निर्माणाधीन आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नै अन्योलमा परेको छ ।

विमानस्थल आयोजना प्रमुख ओम शर्माले पछिल्लो समय विमानस्थल निर्माणमा निकै ढिलाइ भइरहेको बताउनुभयो । सुरुमा सब कन्ट्रयाक्टरमार्फत काम गराएको भए पनि पछिल्लो समय चिनियाँ कम्पनीले आफै काम गर्ने भन्दै नेपालको टोलीलाई बिदाइ गरेको शर्माले बताउनुभयो ।

चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर चोजुनकोले काम गर्ने भने पनि कम्पनीले अझै प्रतिबद्धता अनुसार काम नगरेको, प्रोजेक्ट म्यानेजरले निर्माणस्थलमा आवश्यक समय दिने नगरेको, निर्माण कार्यबारे कम्पनीको ज्ञान, क्षमता समेत नदेखिएकाले योजनाको निर्माण कार्य आफैमा अलमल परेको उहाँले बताउनुभयो । चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर चोजुनकोसँग बारम्बार सम्पर्क गर्ने प्रयत्न गर्दा पनि निर्माणस्थलमा उहाँ उपस्थित नहुने कारणले भेट्न नसकिएको तर आयोजना प्रमुख शर्माले प्रोजेक्ट म्यानेजर चोजुनकोको भनाई उद्धृत गर्दै कम्पनीको तर्फबाट पत्रको प्रत्युत्तरमा, अहिले काम सुस्त भइरहेको साँचो हो तर यसलाई विस्तारै गति दिइने छ भन्ने उल्लेख गरेकोे जानकारी दिनुभयो । अहिले सुस्त गतिमा पुनः काम सुरु गरेको भन्दै शर्माले भन्नुभयो, यो बेलामा करिब पाँच सय कामदारले काम गर्नुपर्ने हो, अहिले जम्मा एक सय जनाले काम गरिरहेका छन् । यसरी निर्माण कार्य अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले आगामी थप केही दिनमा पनि आवश्यकता अनुसार काममा तीव्रता आएन भने उसलाई हटाउने प्रक्रियासमेत सुरु गरिनेतर्फ पनि गभ्भीरतापूर्वक सोचिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

योजना निर्माणका लागि चिनियाँ कम्पनीले करिब एक अर्ब ३१ करोड रुपियाँ भुक्तानी लिइसकेको देखिन्छ तर निर्माण कार्य भने जम्मा २५ प्रतिशत मात्र भएको छ । २०१५ मा निर्माण सुरु भई २०१८ मा सम्पन्न गर्ने लक्ष्यका साथ विमानस्थल निर्माण सुरु भएको थियो । यो विमानस्थल छ अर्ब २२ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter