सुधारोन्मुख वीपी क्यान्सर अस्पताल

BP Koirala Memorial Cancer Hospitalचितवन, जेठ १७ गते । केहि समययता अस्तव्यस्त बनेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केही सुधारका संकेत देखिन थालेका छन् ।

कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो अस्पताल अस्तव्यस्त बनेको थियो तर सञ्चालक समितिको पूर्णता र तीन साता अघि नयाँ कार्यकारी निर्देशक नियुक्तिसँगै सुधारका काम अघि बढेको हो ।

यसअघि प्रयोगशालामा आवश्यक केमिकल नहँुदा बिरामीका आफन्तले परीक्षणका लागि बाहिर जानुपर्दथ्यो भने एमआरआई, सिटिस्क्यान, मेमोग्रामका लागि पनि लामो समय पालो कुर्नुपर्ने अवस्था थियो । रेडियोथेरापीमा पालो नपाउँदा बिरामीले क्यान्सर अस्पताल भक्तपुर र निजी अस्पतालमा धाउनु पर्दथ्यो । तर पछिल्लो समयमा सो अस्पतालले अतिरिक्त समयमा समेत सेवा दिन थालेपछि ती सबै सेवा यसै अस्पतालमा उपलब्ध हुनथालेका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य यस अस्पतालमा आएका बिरामी सेवाको अभावमा बाहिर जानु नपरोस् भन्ने उद्देश्यले काम भइरहेको बताउनुहुन्छ ।

उहाँकाअनुसार प्रयोगशालामा रिएजेन्ट (केमिकल) नभएका कारण महत्वपूर्ण परीक्षण गर्न बिरामी अस्पताल बाहिर जानुपर्ने समस्या रहेकोमा ती सबै समस्या आफू आएपछि समाधान भएको बताउनुहुन्छ ।

त्यसैगरी रेडियोलोजी विभागमा बिग्रिएको एक्सरे सञ्चालनमा ल्याइएको छ भने चार महिनादेखि बिग्रिएर थन्किएको एमआरआई मेसिन सञ्चालनमा आएको छ । यी उपकरण मर्मत गरेर सुचारु गरेको उहाँले बताउनुभयो ।

दैनिक तीनदेखि चार जनाको एमआरआई हुने यो अस्पतालमा अहिले आठदेखि १० जनाको हुने गरेको कार्यकारी निर्देशक डा आचार्यले बताउनुभयो ।

निजी अस्पताल भन्दा २५ प्रतिशत कम शुल्कमा यो अस्पतालमा एमआरआई गरिँदै आएको छ । चिकित्सक तथा कर्मचारीलाई अतिरिक्त भत्ता दिएर भएपनि ती सेवा बिहान र बेलुका पनि सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी सिटिस्क्यान सेवा पनि बिहान र बेलुका सञ्चालनमा ल्याइएको छ । कार्यकारी निर्देशक आचार्यकाअनुसार १०÷१५ दिनसम्म बिरामीले पालो कुर्नुपरेकोमा आजभोलि दैनिक ४० जनासम्मको सिटिस्क्यान हुँदै आएपछि पालो कुर्नुपरेको छैन । यसअघि दैनिक १६÷१७ जनाको सिटिस्क्यान गरिँदै आएको थियो ।

यसैगरी दैनिक चार÷पाँचजनाको मात्रै मेमोग्राम हुने गरेकोमा अहिले १० जनासम्मको मेमोग्राम गरिएको छ भने दैनिक ४५ जनाको मात्र रेडियो थेरापी हुने भएपछि पालो नपाएर बिरामी काठमाडौँं जाने गर्दथे । अहिले दैनिक एक सय जनासम्मको रेडियो थेरापी गरिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी दुईवटा रेडियो थेरापीका उपकरण खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । तीन महिनाभित्रमा ती उपकरण सञ्चालनमा आउने आचार्यले बताउनुभयो । बिग्रिएको एउटा उपकरण बनाउने पहलसमेत भइरहेको उहाँले बताउनुभयो ।

ती उपकरण निकै महँगा हुने गर्दछन् । हाल खरिद गर्न लागिएको बाहिरी सेकाइको उपकरणको मूल्य रु १७ करोड पर्दछ भने भित्री सेकाइको मूल्य रु तीन करोड पर्दछ । सेल सेप्रेसन (कोशिका छुट्याउने) मेसिन पनि अस्पतालमा ल्याइएको छ । विगत १० वर्षदेखि अस्पतालमा यो मेसिन बिग्रिएर थन्किएको थियो । क्यान्सरका बिरामीलाई प्लेटलेट्समा कमि हुने गर्दछ । यस्ता बिरामीलाई धेरै रगत दिनु पर्ने हुन्छ ।

प्लेटलेट्स र अन्य कोशिका छुट्याएर स्वस्थ मानिसको शरीरबाट रगत तानेर बिरामीलाई दिन यो मेसिनले सहयोग गर्दछ । सबै खालका परीक्षण सुरु भएसँगै अस्पतालले अहिले दैनिक रु सात लाखको हाराहारी आम्दानी गर्दै आएको छ । यसअघि अस्पतालले दैनिक रु तीन लाखदेखि रु चार लाख मात्र आम्दानी गर्दै आएको कार्यकारी निर्देशक डा आचार्यले बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले अस्पतालमा आएका बिरामी फर्कन नपर्ने अवस्थाको सिर्जना हुँदैगएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter