खै कसरी सिंहदरबार घरघरमा पुग्ला

Local Body enforcementराधा चालिसे / काठमाडौँ, साउन १४ गते । पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका उपप्रमुखदेखि गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित महिला जनप्रतिनिधि यतिखेर संविधानले तोकेका आफ्ना जिम्मेवारी सुरु गर्न नसकेकोमा चिन्तित छन् । स्थानीय निकाय सञ्चालनसम्बन्धी कानुन नबन्दा काम सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको झण्डै दुई महिना भए पनि आत्मसन्तोष हुने गरी काम थाल्न नसकेको उनीहरूले बताएका छन् ।

काठमाडौंँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले कानुन बनेर नआएका कारण आफूहरू के गर्ने, कति अधिकार पाउने भन्नेमा अन्योल भएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायिक समितिको संयोजक बनाइएको छ तर संयोजकले के के हेर्न सक्ने हो भन्ने स्पष्ट निर्देशनसहितको कानुन आएको छैन । जनप्रतिनिधिसँग जनअपेक्षा धेरै छ तर हामीले काम गर्न कानुन बनेको छैन । ”

“केन्द्रको निर्देशन आदेशमात्र माग्नुपरेको छ । खै कसरी सिंहदरबार घरघरमा पुग्ला !” उपप्रमुख खड्गीले भन्नुभयो, “निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार भए पनि स्पष्ट कानुन बनेर नआउँदा निराश हुनुपर्ने अवस्था छ । ”

यसैगरी ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालका गुनासो पनि यस्तै छ । उहाँ भन्नुहुन्छ, “न्यायिक समिति बन्यो, कार्यान्वयन हुन सकेको छैन, दैनिक कामकाजमा प्रमुख–उपप्रमुखको हस्ताक्षर चलाउन सकिएको छैन । आफ्ना लागि पीए राख्न सकिने अवस्था छैन । केन्द्रको कार्यादेशले हातखुट्टा बाँधिदिएर दौडमा भाग लिन जा भने जस्तो भएकोे छ । ”

उहाँको अनुभवमा घर भित्रिएकी नयाँ बुहारीलाई सासूले ढुकुटीको साँचो दिन गाह्रो माने जस्तै स्थानीय तहलाई अधिकार दिन केन्द्रलाई त्यस्तै कठिनाइ भएको छ । उहाँ भन्नुहुन्छ, “नगरसभाबाट पारित भएका विषयलाई पनि कार्यान्वयनमा लैजान सकिएको छैन । ”

धुलिखेल नगरपालिकाका उपप्रमुख विमलाकुमारी चौलागाई स्थानीय तहलाई स्वायत्त अधिकार दिने संवैधानिक व्यवस्था भए पनि कानुन बनेर नआउँदा काम गर्ने वातावरण असहज महसुस भएको बताउनुहुन्छ ।

पदभार ग्रहण गरेको दुई महिनामा नगरसभा सम्पन्न गरेको र अधिकांश समय शुभकामना ग्रहण गर्दैमा बितेको बताउँदै उहाँले भन्नुभयो, “धुलिखेल जस्तो भौगोलिक विकटता भएको स्थानमा सवारी साधन नभएका कारण विभिन्न स्थानमा पुग्न सकिँदैन । कतिबेला प्रमुखको गाडी पाइएला र पुगौँला भन्ने हुन्छ । ” उहाँले न्यायिक समिति, राजस्व परामर्श समितिको संयोजक भए पनि ती काम कसरी गर्ने भन्ने अन्योल भएको बताउनुभयो ।

दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको नेपालगञ्ज महानगरपालिका मेयर उमा थापा पनि पदभार ग्रहण गरेपछि समस्यै समस्याले जकडिन थालेको अनुभव गर्दै हुनुहुन्छ । पदभार ग्रहण गरेको २२ दिन मात्र भए पनि समस्याको चाङ लागेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “नगरपालिका छिर्दा न हामीसँग बजेट छ, न त कार्यक्रम । हामी त शून्य अवस्थामा पो रहेछौँ । ”

नेपालगञ्ज नगरपालिकाले बजेट तर्जुमा गर्ने, राजस्व सङ्कलन कहाँ कसरी गर्न सकिन्छ भन्ने अध्ययन गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “छिट्टै नगरसभा गर्नका लागि आन्तरिक तयारी भइरहेको छ । ” त्यस्तै नगरपालिकामा भएका केही कर्मचारीलाई वडामा खटाएर सरसफाइका कामलाई भने केही गति दिएको उहाँले बताउनुभयो ।

त्यस्तै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पदभार ग्रहण गरेको दुई महिना हुँदा पनि जिम्मेवारी अनुसार कुनै काममा हात हाल्न नसकेको बताउनुहुन्छ । कानुन बनेर काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा नआइसकेकाले काम थाल्न नसकेको उहाँको भनाइ छ ।

सुनकोसी गाउँपालिकका लागि सातवटै गाउँलाई पायक पर्ने स्थानमा गाउँपालिका भवन सार्ने प्रयास भए पनि त्यसका लागि आर्थिक स्रोत कहाँबाट कसरी ल्याउने भन्ने अन्योल भएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म पर्ख र हेरकै अवस्थामा छौँ । ”

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter