• Saturday, April 05, 2025

बजार मूल्यभन्दा तीन गुणा बढीमा अायल निगमद्वारा जग्गा खरीद

Nepal Oil Corporationकाठमाडौँ, साउन १८ गते । नेपाल आयल निगमले चार जिल्लामा खरिद गरेको जग्गामा व्यापक अनियमितता भएका सम्बन्धमा छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा उनीहरुले बजार मूल्यभन्दा तीन गुणाभन्दा बढीमा जग्गा खरिद गरिएको व्यहोरा सार्वजनिक भएकाले छानबिन गरी दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्नेमा जोड दिएका हुन् ।

निगमले झापामा २३ बिगाहा तीन कठ्ठा १३ धुर जग्गा प्रति कठ्ठा रु १३ लाख ५१ हजारमा, सर्लाहीमा १५ बिगाहा १२ कठ्ठा १४ धुर जग्गा प्रति कठ्ठा रु नौ लाख ६१ हजार र चितवनमा २३ बिगाहा १२ कठ्ठा ३.२५ धुर जग्गा प्रति कठ्ठा रु १५ लाख ८५ हजारमा खरिद गरिएको थियो भने रुपन्देहीमा १४ बिगाहा सात कठ्ठा ७.१ धुर जग्गा रु १० लाख ९३ हजार प्रति कठ्ठाका दरले किन्ने तयारी भएको थियो ।

निगमले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डार गृहनिर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरेको हो । समितिको आजको बैठकमा आपूर्ति मन्त्री शिवकुमार मण्डल (केवट) ले निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता भएको प्रमाणित भएमा कारबाहीका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

“आजै मन्त्रालयमा यो विषयमा छलफल हुन्छ, संसदीय समितिमा पनि अध्ययन अनुसन्धान भरहेको छ, बोलपत्रबाट भएका कामलाई कसरी हेर्ने भन्ने अध्ययन गरेर गल्ती गर्नेलाई कारबाही हुन्छ, गल्ती गर्नेलाई कारबाही गर्न म कुनै सम्झौता गर्दिनँ”–उहाँले भन्नुभयो ।

सांसद धनराज गुरुङले रु तीन लाख पर्ने जग्गा रु १० लाखमा खरिद गरेर निगम निर्वस्त्ररुपले प्रस्तुत भएको बताउनुभयो । “ राज्यकोषको पैसा बालुवामा पानी खन्याझैँ पोखिएको छ, जग्गा खरिद गर्न बोलपत्रको नाटक गरेर कमिसन लिने यो भ्रष्टाचारबाट कसैलाई उन्मुक्ति दिनुहुँदैन”–उहाँले भन्नुभयो ।

सांसद रामहरि खतिवडाले दलाल मार्फत जग्गा खरिद गरिएकाले संगैको अरु जग्गा भन्दा बढी मूल्य परेको सार्वजनिक भएको उल्लेख गर्नुभयो ।“सचिवले प्रत्येक समितिमा दैनिक बयान दिन जानुपर्ने गुनासो गर्नुभएको छ, समितिको कार्यक्षेत्र बाहिर पनि काम हुन थालेको छ, यसतर्फ हामीले सभामुखको पनि ध्यानाकर्षण गराएका छौँ, एनसेलमा पनि समितिको कार्यक्षेत्र विपरीत काम भएको थियो, ”–उहाँले भन्नुभयो ।

सांसद आनन्द पोखरेलले सर्लाहीमा प्रति कठ्ठा रु नौ लाख ६१ हजारमा जग्गा खरिद गरेको विषय विश्वास योग्य नभएको बताउनुभयो । “लालबन्दी नजिकै मेरो जग्गा छ, त्यो कति जान्छ भनेर सोधेको रु एक लाख पर्छ भन्ने जानकारी पाएँ, निगमले सर्लाहीमा प्रति कठ्ठा रु नौ लाख ६१ हजारमा जग्गा खरिद गरेको रहेछ, यसलाई जनताले पत्याएनन्”–उहाँले भन्नुभयो ।

सांसद उषा गुरुङले सरकारी निकायलाई वास्ता नगरी दलाल मार्फत् जग्गा खरिद गरिनु दुःखद् भएको बताउनुभयो । उहाँले झापामा खरिद गरिएको जग्गा प्रति कठ्ठा रु १३ लाख ५१ हजार नपर्नेमा जोड दिनुभयो ।

सांसद भरत साहले निगमका लागि जग्गा खरिदका नाममा देशलाई आर्थिक बोझ हुने गरी करोडौँ कमिसनको खेल भएको चर्चा गर्नुभयो । सांसद डिम्पलकुमारी झाले रु नौ लाख ६१ हजारमा निगमले जग्गा किनेको स्थानको जग्गा सँधियारले अघिल्लो दिन रु तीन लाखमा जग्गा विक्री गरेको पाइएकाले निगमको जग्गा खरिद काण्डको छानबिन गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद राधाकृष्ण कँडेलले रुपन्देहीका बासिन्दाले वनको जग्गा दिन तयार हुँदा निगमले नलिई कमिसनकै लागि जग्गा खरिद गरेको बताउनुभयो । सांसद पशुपति चौँलागाईंले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी जग्गा खरिद गरिनुपर्नेजस्ता प्रक्रिया नअपनाउँदा अनियमितता भएको बताउनुभयो ।

बैठकमा सांसदहरु अमृतलाल राजवंशी, हरिचरण साह र दीपक गिरीले जग्गा खरिद प्रक्रियामा अनियमितता भएको देखिएकाले छानबिन समिति बनाएर विस्तृत अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव प्रेमकुमार राईले नियम कानूनअनुसार नै पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गरिएको जानकारी गराउनुभयो । निगमका कार्यकारी प्रमुख गोपाल खड्काले सार्वजनिक खरिद ऐन र निगमको आर्थिक नियमावली अनुसार बोलपत्र गरी सबैभन्दा कम मूल्यमा जग्गा कबोल गर्ने मार्फत किनिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter