• Saturday, April 12, 2025

प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट; डुबानबाट बच्नका लागि नेपाल र भारत दुवै ठाउँमा तटबन्ध बनाउनुपर्ने

Deuba-and-Modiएकराज पाठक, नयाँ दिल्ली, भदौ ९ गते ।। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाजवादी पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गर्नुभयो ।

साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गर्नुभयो ।

उहाँहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिनुभयो ।

डुबानबाट बच्नका लागि नेपाल र भारत दुवै ठाउँमा तटबन्ध बनाउनुपर्ने
नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरुले जोड दिनुभएको छ ।

बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उहाँहरुले जोड दिएका हुन् ।

आज यहाँ बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा आयोजित ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेको भन्दै दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई बचाउन तटबन्ध निर्माण गर्नुपर्ने बताउनुभयो ।

“वर्षेनी राहत सामग्री बाँड्नुको सट्टा दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्छ”, उहाँले भन्नुभयो, “डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउन सके दुवैतर्फका सीमा क्षेत्रका जनताको सुरक्षा हुने थियो ।”

उहाँले डुबानबाट नेपालका क्षेत्र बढी प्रभावित भएकाले नेपालले नै पहलकदमी लिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सांसद वैजनाथ चौधरीले भारत पक्षले बनाएको बाँधका कारण नेपाली वर्षेनी डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्ने बताउनुभयो ।

उहाँले गण्डक बाँधका कारण तीन पुस्ता डुबानमा परेको भन्दै भारत सरकारले डुबानमा परेका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने धारणा राख्नुभयो ।

सांसद चौधरीले बाढी र चुरे पहाड दोहनका कारण तराई मरुभूमिमा बन्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण तराई क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषिमा असर परेको बताउनुभयो ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत पक्ष मिलेर संयन्त्र बनाएर डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक रतन भण्डारीले ‘सीमावर्ती बाँधले स्थानीय जनताको जीविकोपार्जनमा पारेको असर’ बारे कार्यपत्र प्रस्तुत गर्दै भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका बाँधका कारण हजाराँै नेपाली डुबानमा पर्ने गरेको भन्दै डुबानबाट रोक्नका लागि तटबन्ध बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter