मतदाता १ करोड ५४ लाख; मतपत्र छपाइ कार्य सुरु

Election Commissionकाठमाडौँ, असोज १८ गते । आगामी मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रदेशका ७७ जिल्लाका १ करोड ५४ लाख २७ हजार ७३१ मतदाताले मतदानको अधिकार प्राप्त गरेका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले सातै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कूल मतदाता सङ्ख्यामध्ये पुरुष ७७ लाख ७६ हजार ४९६, महिला ७६ लाख ५१ हजार ६५ र तेस्रो लिङ्गी मतदाता १७० जना छन् । प्रवक्ता नवराज ढकालका अनुसार, सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ ।

स्वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९ प्रदेश २ मा २७ लाख ६७ हजार ३६९ प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२ प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९ प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन् ।

मतपत्र छपाइ कार्य सुरु

यसैबीच आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको नमुना मतपत्र छपाइ कार्य सुरु गरेको छ । निर्वाचन आयोगले उक्त मतपत्रको छपाइ कार्यको जिम्मा जनशिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त नरेन्द्र दाहालले सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र पुगेर मतपत्र छपाइ गर्ने प्रेसको अवस्था  र सुरक्षा व्यवस्थापनको योजना लगायतबारे जानकारी लिनुभयो ।

आयोगका उपसचिव देशबन्धु अधिकारीका अनुसार, उक्त केन्द्रको अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतपत्र छाप्ने सबै प्रेसको सरसफाइ चुस्त दुरुस्त रहेको जनाउँदै मङ्गलबारबाट मतपत्र छपाइको परीक्षण सुरु भएको जानकारी दिनुभयो । यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण दिएको थियो ।  सो क्रममा प्रमुख आयुक्त डा. यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन कार्य ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन  जिम्मेवार भई होसियारीपूर्वक काम गर्न निर्देशन दिनुभयो ।

आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको काम निकै संवेदनशील र जटिल भएकाले त्यस कार्यमा संलग्न कर्मचारीलाई कुनै गल्ती कमजोरी हुन नदिने ढङ्गबाट जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो ।

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनमा  खटिने हरेक कर्मचारी कामप्रति संवेदनशील, गम्भीर र नियमित हुन आवश्यक रहेको तथा मतपत्रको छपाइसम्बन्धी गोपनीयता कायम राख्न र कामको प्रगतिको विवरण समयमै उपलब्ध गराउन सुझाव दिनुभयो ।

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार आयोगमा बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना नेपाल न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णण गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, उहाँहरूलाई असोज १९ गतेबाट लागू हुने गरी नियुक्ति गर्ने निर्णय गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter