राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्न सुझाव

Election Commissionकाठमाडौँ, असोज २२ गते । निर्वाचन आयुक्त इला शर्माले संविधानको भावनाअनुसार राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाउन एकल संक्रमणीय मत प्रणालीबाट सदस्य चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि उम्मेदवारको बन्दसूची पेस गर्दा आवश्यक ध्यान पु¥याउनसमेत सुझाव दिनुभयो ।

आयुक्त शर्माले भन्नुभयो, “राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल संक्रमणीय व्यवस्थाअनुसारको राष्ट्रियसभाको कानून संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो । स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने संविधानको भावना नसमेटिन सक्दछ ।”

उहाँले भन्नुभयो – “समानुपातिक निर्वाचन प्रणालीमा महिला तथा अरु समावेशी समूहको समानुपातिक प्रतिनिधित्व गराउनु अनिवार्य रहेको छ । नेपालले अपनाएको समानुपातिक समावेशी सिद्धान्त विश्वले नै उदाहरणीयरुपमा लिएको छ । आगामी प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनमा पनि त्यो समावेशी प्रतिनिधित्व देखिनुपर्छ ।”

आयुक्त नरेन्द्र दाहालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्दा आउनसक्ने अस्पष्टतालाई प्रशिक्षणले सहज तुल्याउने बताउनुभयो ।

अर्का आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेपालका लागि समानुपातिक निर्वाचन प्रणाली नयाँ भएकाले मत परिणाम घोषणा गर्ने सूत्र तथा बन्दसूचीको क्रम मिलाउने लगायतका विषयमा प्रशिक्षणबाट प्रष्ट हुन सकिन्छ भन्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउने सन्दर्भमा कसैबाट प्रभावित र राज्यसत्ताबाट दुरुपयोग नहोस् भन्नाका लागि बनाइएको आचारसंहिताको उल्लंघन गर्ने जो कोहीलाई पनि आयोगले नछोड्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “आचारसंहिता भनेको स्वअनुशासन हो, जनताको विश्वास प्राप्त गरेको व्यक्तिले जित्नुपर्छ भन्ने लोकतन्त्रको मान्यता हो । ठूलो जुलुश लिएर उम्मेदवारी मनोनयन गरियो भने चुनाव जितिन्छ भन्ने सोच त्याग्नुपर्छ । निर्वाचनलाई मितव्ययी र पारदर्शी तुल्याउन आवश्यक छ ।”

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणाली स्वाभाविकरुपमा भिन्न प्राविधिक र गणितीय रहेकाले राजनीतिक दललाई उम्मेदवारको बन्दसूची तयार गर्न प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने ८८ राजनीतिक दलमध्ये आधा अर्थात् ४४ राजनीतिक दललाई शनिबार तथा ४४ दललाई आज बन्दसूची, निर्वाचन परिणाम घोषणा गर्ने सूत्र तथा सदस्य संख्या बाँडफाँडका बारेमा जानकारी गराएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter