• Saturday, April 12, 2025

बाहिरी चक्रपथ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

Kathmandu Ring Roadकाठमाडौँ, कात्तिक २४ गते । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ ।

चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गर्नुभयो ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न ठोस निर्णय गरेको थियो । जग्गा विकासका लागि त्यस क्षेत्रका जग्गाधनीको असहमति भए ३५ दिनभित्र उजुरी दर्ता गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । यसमा ९६ जनाले उजुरी दर्ता गरेका थिए ।

आयोजना रोकिन कम्तीमा पनि चार हजार असहमतिका उजुरी पर्नुपर्नेमा ९६ वटा मात्र उजुरी परेपछि काम शुरु भएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

“चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी क्षेत्रमा अनुमानित सात हजार व्यक्तिको जग्गा छ, यसको ५१ प्रतिशतले असहमति जनाएका भए बाहिरी चक्रपथको काम रोकिन्थ्यो, धेरैको सहमति भएकाले बाहिरी चक्रपथको काम शुरु भएको हो”–उहाँले भन्नुभयो ।

बाहिरी चक्रपथको सडक ५० मिटरको हुनेछ । राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५÷२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने प्राधिकरणले जनाएको छ । सडकका लागि प्राधिकरणले जग्गा अधिग्रहण गर्दैन । नमिलेको जग्गालाई योजनाबद्ध रुपमा विकास गरी समुदायलाई हस्तान्तरण गर्छ ।

जग्गा विकास गरिदिएबापत जग्गाधनीले बाहिरी चक्रपथ र जग्गा विकास गरिने ३.५ वर्ग किमी क्षेत्रमा छ, आठ र ११ मिटरका अन्य तीन सहायक सडक निर्माणका लागि आवश्यक जग्गाको योगदान गनुपर्ने उहाँले बताउनुभयो ।

“असहमति जनाएका ९६ जना जग्गाधनीमध्ये पनि अधिकांशले बाहिरी चक्रपथ निर्माण हुनुहुँदैन भन्ने नभई आयोजना छिटो सम्पन्न होस् र २० प्रतिशत भन्दा कम जग्गा काटियोस् भनी माग गर्नेको संख्या धेरै छ, पूर्ण रुपमा असहमति राख्नेको संख्या कम छ” – प्रवक्ता न्यौपानेले भन्नुभयो ।

बाहिरी चक्रपथ निर्माण प्रक्रियामा पाँचवर्ष अघि कीर्तिपुर नगरपालिकाका स्थानीयवासीले चर्को विरोध गरेका थिए । यसपटक कीर्तिपुरका मानिसले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ ।

यसबीचमा विसं २०७२ वैशाख १२ गते आएको भूकम्पले स्थानीयवासीको मन परिवर्तन भएको प्राधिकरणको बुझाइ छ । प्राधिकरणले जनचेतना जगाएकाले पनि स्थानीयवासी सकारात्मक बनेका हुन् ।

सूचनामा सकारात्मक प्रतिक्रिया आएपछि छिटो गरी बाहिरी चक्रपथको चोभार–गाम्चा–सतुङ्गल ६.६ किमी निर्माण कार्यअघि बढ्ने भएको छ । बाहिरी चक्रपथको यो खण्डमा त्रिभुवन, पृथ्वी, काठमाडौँ–तराई दु्रतमार्ग र काठमाडौँ–केरुङ मार्गसमेत जोडिने छ ।

यसअघि बाहिरी चक्रपथ निर्माणका लागि गरिएका प्रयासमा यही खण्डमा विवाद आएकाले काम रोकिएको थियो । यही खण्ड निर्माणको सुनिश्चितता भएपछि बाहिरी चक्रपथ बन्ने पक्का भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter