बलदेवको चाहना (व्यङ्ग्य )
योगीशकृष्ण / काठमाडौँ, केहीबेर अघि मध्यरातमा बलदेवको फोन आयो ।
मैलो सोधेँ “ बलदेव , निद्रा परेन कि कसो ?”
“हे दाजु” , उसले भन्यो “यस्तो अवस्थामा निद्रा कसरी आउँछ ।”
बलदेवलाई निद्रा नपर्नुको एउटै कारण छ –राजनीति । टिकट वितरण वा बिक्री जे भनौँ त्यो त भइसक्यो । कतै गर्भनर बन्ने सपना त देख्न थालेन । राजधानीमा बसेका कैयन त्यस्ता पदका आकांक्षी उम्मेदवारका घरघरमा गएर –तपाइँको जीत पक्का छ भन्दै हिँडन थालिसके । उता बलदेव आफ्नो निद्रा बिगार्दै छ ।
उसले मेरो विचारको खण्डन ग¥यो “ होइन दाजु , त्यस्तो कुनै चाह छैन ।मेरो चाह त अर्कै छ । म बसाइँ सर्न चाहन्छु , पश्चिमतिर । तर कहाँ सरौँ , दाजुसँग सल्लाह लिन चाहन्छु । ”
अचानक यो बलदेवलाई के भयो ? सप्तरीमा छँदाखाँदाको खेतीपाती , भैसीँ पालन र उसको प्रिय अखाडा छाडेर पश्चिम क्षेत्रतिर बसाइँ सर्न किन खोजिरहेको छ । उसलाई यसो गर्न कसले प्रेरणा दियो ।”
उसले जबाफ दियो “ रानी साप र दाजुको भाषण पढेपछि लाग्यो कि धुत अब यहाँ किन बस्ने ? यता मेरो धरनीको पनि यही विचार छ । वास्तवमा भन्ने हो भने मेरी घरनीको पनि यसमा जोड छ । ऊ त भन्दै छ चाँडै गइहालूँ । के ठेगान पछि के हुने हो ? ”
उसले कसलाई रानी साप र दाजु भन्दै थियो कुन्नि। अब गणतन्त्रको जमानामा कसलाई ऊ रानी साप जप्दै छ ।
ऊ हाँस्यो “ दाजु , तिमी पनि बकलेलको बकलेल नै रहिगयौँ । राजधानीमा बस्छौ , यति पनि बुझ्दैनौँ । पाटीमा एक आपसमा कुरा गर्दा जसलाई रानी साप भन्छ नि म उसेको बात गर्दैछु । ”
यति भन्दा पनि मैले कुरा बुझ्न सकिँन । उसले अब प्रष्ट पा¥यो – आरजु मेडमको बात गर्दै छु ।
मैले सोधेँ ” अनि रानी साहेबले तिमीलाई कसरी बसाइँ सर्न प्रेरण दिनु भयो त ?”
उसले जबाफ दियो ” धेरै समयदेखि घरनीको इच्छा थियो –कानमा झुमका , गलामा चेन , हातमा एउटा औठी लगाउने । त्यो पनि सुनको । तिमीलाई त थाहै छ दाजु –मेरो खेती पथारीबाट यी सब कुरा किनिदिन त सम्भव छैन । एउटा गोप्य कुरा मलाई पनि रहर छ कि तोला भरको सिक्री गलामा पहिरूँ । सोच त , अखाडामा ओर्लने बेलामा चेन खोलेर चेलाको हातमा थमाउँदा कस्तो सान हुन्छ । ”
उसको गनथन नबुझेर दिक्क मान्दै थिएँ उसले भन्यो ” अब मेरो इच्छा रानी सापको कारणबाट पूरा भइहाल्छ जस्तो छ ।”
मैले समझाएँ “ एक तिमी उनको क्षेत्रको मतदाता होइनौँ । फेरि उनको दलको समर्थक पनि त होइनौँ ।”
ऊ जोडले हाँस्यो ” हे दाजु, तिमी कुन दुनियाँमा रमाउँछौ । जब आफ्नो इच्छा पूरा गर्न एक अर्कालाई सत्तोसराफ गर्ने नेताहरु गला मिल्छन मानौ हिन्दी सिनेमा विछडा दाजुभाइको मिलाप भइरहेछ । मानिस हप्ता दिनमै पार्टी फेरिहाल्छ । यसरी कि अघिल्लो हप्ता ऊ सामन्तीको दलाल थियो , यो हप्ता लाल सलाम कामरेड भनिहाल्छ । अब भन म कुन खेतको मुली हुँ । ”
उसको कुरा रमाइलो त थियो । तर ऊ नेताको भाषण जस्तै आफ्नो भनाइ लम्ब्याउँदै थियो । उसले बल्ल कुरा छोट्याउन थाल्यो “ रानी सापले भन्नु भएको छ कि सुदूर पश्चिमलाई सुनको टुक्रा बनाइदिन्छु । नौ नौ वटा जिल्ला सुनको टुक्रा भएपछि के चाहियो ? म उता बसाइँ सरे भने मेरो घरनी र मेरो भागमा पनि त दश बीस तोला सुन पैर लाग्ला । ”
सोच्दछु – सुदूरपश्चिम सुनको टुक्रामा परिणत भएपछि के होला । धनगढी नगरपालिकाको नाम परिवर्तन भएर सुनगढी होला – बोर्डमा लेखिएला – “सुनगढी नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ ” । रानीसाहेबको राजाको जिल्ला डडेलधुराको नयाँ नाम होला –सुनधुरा । बाजुराको नाम बन्न जाला –सुनारा ,केलालीको नाम सुनैली ,बेतडी होला सुनतडी , डोटीलाई सुन्टी भनिएला त्यसै आछाम होला – सुनछाम , बझाङ्– सुनझाङ , दार्चुला –सुनचुला ।
रानी साहेबले अचानक सुदूरपश्चिमलाई सुनको टुक्रा किन बनाउन चाहिन् ?
यसको जबाफ बलदेवले दियो “ रानी साहेबकहाँ त हिरा जवाहरतको भण्डार होला । उनका लागि त सुन मिट्टी बराबर ।
बलदेवको बसाइँ सर्ने कारण त बुँझेँ । तर , दाजुको के कुरा हो ?
उसले जबाफ दियो “मेरो समस्या यहीँ छ । अब हेर , रामचन्दर दाजुले पनि भन्दै कि चार नम्बर प्रदेशलाई सुन बनाउँछु । अब म कता जाऊँ , तिमी नै भन । दुई नम्बर प्रदेशबाट चार नम्बरम जान भाडा त सात नम्बर भन्दा कम पनि लाग्छ । यो दाजु राजनीतिमा धेरै पटक चितङ् खाएको छ । यिनको कुराको पूरा विश्वास लाग्दैन । उता रानी साहेब पहिलो पल्ट चुनाव लडदैछन् । दाजु , अब तिमी नै भन म कता जाऊँ ?
पाठकहरु , बलदेवलाई सुझाव दिन सक्नु हुन्छ । यद्यपि लेखकलाई लाग्छ यस्तो खालको द्विविधामा सिंगो कांग्रेस पार्टी नै छ ।
(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)