बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

Electionबाँके, मंसिर १५ गते । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भन्नुभयो, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।”

“विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उहाँको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले जानकारी दिनुभयो ।
मुलुकमा पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हँुदैछ तर अझै कतिपय मतदाताले भने मतपत्रको सङ्ख्या र मतपत्रमा कति छाप लगाउनुपर्छ भन्ने जानकारीसम्म पाउन सकेका छैनन् । सम्बन्धित निकायले यस बारेमा प्रभावकारी कार्यक्रम गर्न नसकेको मतदाताको गुनासो छ ।

नेपालगन्ज बिपी चोकका दिनेश ज्ञवालीलाई पनि मतपत्र र मतदान सम्बन्धमा खासै जानकारी छैन् । उहाँले भन्नुभयो, “मतदान प्रक्रियाका बारेमा सिकाउन कोही आएकै छैन्, आफँै कसरी थाहा पाउनु ।” उपमहानगरपालिका–८ का मतदाता राजु केवटले पनि मतदान गर्ने सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले उम्मेदवारप्रति आक्रोश पोख्दै भन्नुभयो, “जसलाई भोट हाले पनि सबै जितेपछि काठमाडौँ जान्छन्, पैसा कमाउँछन्, हाम्रा समस्या केही बुझ्दैनन्, यसपालि त भोट हाल्ने मन पनि लागेको छैन् ।”

खानेपानी, शिक्षा, रोजगारी, बाटो, भौतिक पूर्वाधार विकास, विद्युत्, सार्वजनिक शौचालय आदि यस क्षेत्रका मतदाताको मुख्य माग हुन् । नेपालगन्ज बाँकेको मात्र होइन मध्यपश्चिमकै प्रमुख शहर हो । यो उपमहानगरपालिका र सँगैको डुडुवा गाउँपालिका मिलाएर बाँकेको निर्वाचन क्षेत्र नं २ बनाइएको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद, वाम गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार पशुपतिदयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालका इस्तियाग राईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सबै उम्मेदवार यस क्षेत्रमा शहरी पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्न घरदैलो अभियानमा व्यस्त छन् । उम्मेदवारले नेपालगन्जलाई प्रदेश नं ५ को राजधानी बनाउने, सुविधासम्पन्न शहरका रुपमा विकास गर्ने, पर्यटन र उद्योगको हब बनाउने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका वाचा गर्दै भोट माग्ने गरेका छन् । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस उपमहानगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो ।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक दुवै निर्वाचन प्रणालीका जम्मा तीन मतपत्रमा चार छाप लगाउनुपर्छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भन्नुभयो, “ यस निर्वाचनमा हरियो, कालो र रातो मतपत्रमध्ये हरियो प्रतिनिधिसभाको हो भने कालो प्रदेशसभाको हो । दुवै मतपत्रमा एक÷एक स्वस्तिक छाप लगाउनुपर्छ । रातो मतपत्रमा समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई मतपत्र एक पानामा छन् त्यसमा माथि प्रतिनिधिसभाका लागि र तल प्रदेशसभाका लागि छुट्टाछुट्टै दुई छाप लगाउनुपर्छ । ”

नेपालगन्ज–१६ की हामिदा अन्सारीले मतदान प्रक्रियाका बारेमा आफू जानकार भए पनि अशिक्षित र पिछडिएको समुदायमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताउनुभयो । सोही क्षेत्रका ७२ वर्षीय गफ्फार खाँले निर्वाचनमा जितिसकेपछि गरिबलाई कुनै पनि उम्मेदवारले नहेर्ने गरेको गुनासो पनि गर्नुभयो । दशकौँदेखि आफूलगायत धेरै परिवारले यस क्षेत्रमा बसोबास गरे पनि हालसम्म लालपुर्जा नपाएको उहाँको भनाइ थियो ।

बाँकेस्थित क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले भने आयोगबाट खटिएका स्वयंसेवीले प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा दिइरहेको बताउनुभयो । उहाँका अनुसार यस जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र कायम गरिएको छ । यसअघिका निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको बाँकेमा हाल तीन निर्वाचन र कूल मतदाताको सङ्ख्या दुई लाख ७६ हजार ७१८ छ । क्षेत्र नं १ मा ९८ हजार ३२०, क्षेत्र नं २ मा ८२ हजार ९४९ र क्षेत्र नं ३ मा ९५ हजार ४४९ मतदाता रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका (कोहलपुर) र ६ गाउँपालिका गरी आठ स्थानीय तह छन् ।

चुनावी सभामै मतदाता शिक्षा सिकाउँदै दलहरु

डडेल्धुरा,मंसिर १५ गते । प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति छोटिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरुले मतदाता शिक्षा दिन थालेका छन् । चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरुले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् ।

समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले बताउनुभयो ।

त्यस्तै वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा (एमाले)का अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार डा तारा जोशीको भनाइ छ । मतदाता शिक्षाका लागि आफूहरुले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिनुभयो । यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरु र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले बताउनुभयो ।

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पु¥याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकाले हामी सबै राजनैतिक दलको दायित्व भएको क्षेत्र नं १ का प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार रघुवर भट्टले बताउनुभयो । मतदाताले जुनसुकै उम्मेदवारलाई मत दिए पनि मत सही परोस् भन्ने हेतुले हामी सबै प्रतिस्पर्धामा रहेका दलले पनि आफ्ना कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाएको जानकारी गराउनुभयो । जिल्लामा ११७ मतदान केन्द्र छन् ।

यसैगरी एक मतदान केन्द्रलाई एकजना पर्ने गरी मतदाता शिक्षा स्वयंसेवक जिल्ला निर्वाचन कार्यालयले छनौट गरी खटाइसकेको निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिलेको चुनावमा तीनवटा मतपत्र हुँदा मतदाता अलमलमा पर्ने भएकाले अझ यो शिक्षाको बढी महत्व छ । त्यसैले यसका लागि हामी अझ बढी चिन्तित भएर स्वयंसेवकलाई गाउँगाउँमा खटाइरहेको निर्वाचन प्रमुख नायकले बताउनुभयो । जिल्लामा राजनैतिक दलका नेता तथा कार्यकर्ता चुनावको प्रचारप्रसारमा आफूलाई भोट माग्दै मतदान गर्ने तरिका आफू जान्न र अरूलाई पनि सिकाउनसमेत आग्रह गरिरहेको जनाएका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter