माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

UML party officeकाठमाडौँ, पुस १२ गते । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।

एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गर्नुभयो ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा उहाँहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताउनुभयो । यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।

पार्टी एकतामा प्राथमिकता नदिई अन्य दलसँग एमालेले छलफल गर्दा माओवादी केन्द्रसँगको गठबन्धन टुट्ने त होइन भन्ने राससको प्रश्नमा नेता पोखरेलले भन्नुभयो, “निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया शुरु हुन्छ, यस स्थितिमा एक अर्कामा अविश्वास पैदा गराउने काम भएको छ । हामी जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्नेछाँै ।”

उहाँले पार्टी एकता र सरकार निर्माणबारे कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै निर्वाचनको तालमेलदेखि नै एमाले र केन्द्रको एकताको प्रक्रिया शुरु भएको र निर्वाचनका समयमा कार्यकर्ताबीच थप उत्साह देखिएको बताउनुभयो । वाम गठबन्धनमा कुनै असहजता उत्पन्न नभएको र उत्पन्न भएमा पनि दुई अध्यक्ष आपसमा बसेर सजिलै हल गर्न सक्ने स्थितिमा आफूहरु रहेको दाबी गर्नुभयो ।

“एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जारी छ, यसले संस्थागत रुपमा पूर्णता पाउन नीति, विधान र नेतृत्व निर्माणका प्रक्रिया पार गर्दा केही समय लाग्न सक्छ,” उहाँले भन्नुभयो, “एकता नभएमा गठबन्धनका नेताबीच आलोपालोका आधारमा प्रधानमन्त्री वा अन्य जिम्मेवारी चयन हुन सक्छ, एकतापछि आलोपालो नभई नेताहरुको जिम्मेवारीको कार्यविभाजन तोक्ने काम हुन्छ ।”

दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ । उहाँले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाउनुभयो । दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter