पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो

animalमंगलबारे, इलाम, पुस २१ गते । प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ । पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्यन गर्न आएका छन् । हेटौँडामा बसेर पढ्दै गरेका सागर श्रेष्ठ उक्त विषय अध्ययनका लागि साखेजुङ आउनुभएको छ । उहाँ प्राविधिक विषय नै अध्ययन गरे चाँडो जागिर खान सकिने भन्दै यहाँ अध्ययन गर्न आएको बताउनुहुन्छ ।

अध्ययन हुने स्थानमा निकै चिसो छ । सामुद्रिक सतहबाट एक हजार ८०० मिटरको उचाइमा रहेको पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययन गर्न आएका धेरैलाई यहाँको मौसम अनुकूल छैन । श्रेष्ठजस्ता धेरैलाई प्राविधिक विषय अध्ययन गर्न मौसमले रोक्न सकेन । अभिभावकको उत्प्रेरणा र पढाइका लागि चियाबारीको जिल्ला भनेर चिनिने इलाममा धेरै विद्यार्थीको जमघट हुने गरेको छ ।

डोटीका सरोज भट्ट पनि अध्ययनकै लागि यहाँ आउनुभएको हो । उहाँलाई पनि लामो बाटो र इलामको चिसोले रोक्न सकेन । धरानकी कुमारी महत इलामको वातावरण अनुकूल र राम्रो पढाइ हुने भएर इलाम आएको बताउनुहुन्छ । पहिलो पटक पठनपाठन हुन थालेको पशु विज्ञान विषय पढेपछि राम्रो अवसर पाइने र इलामको चिसो वातावरणमा अध्ययन प्रभावकारी हुने उहाँको बुझाइ छ ।

साँखेजुङकै खेमराज दहालले यसअघि नै विज्ञान विषयबाट आइएसी गरिसक्नुभएको थियो तर सिटिइभिटीअन्तर्गत यहाँ पढाइ हुने थाहा पाएपछि उहाँ विषय नै परिवर्तन गरी पशु विज्ञानतर्फ होमिनुभएको हो । बाहिर बसेर पढ्नभन्दा पनि प्राकृतिकरुपमा सुन्दर आफ्नै जिल्लामा अध्ययन गर्दा थप प्रभावकारी हुने भनेर फर्किएको उहाँको प्रतिक्रिया छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण थपिँदै गएकाले अध्ययनका लागि लामो दूरी पार गरेर आउनेको संख्या उल्लेख्य छ ।

बाह्रै महिना चिसो हुने भएकाले यहाँ विद्यार्थीको अभाव हुन्छ कि भन्ने चिन्ता इन्स्टिच्युट व्यवस्थापक पक्षलाई थियो तर पहिलो याममै विद्यार्थी भर्ना आवेदन माग गरेपछि पूर्वी जिल्ला मात्र हैन पश्चिमी क्षेत्रबाट पनि इच्छुक विद्यार्थी आएपछि इन्स्टिच्युटको त्यो शंका मेटिएको छ । बरु इलामको मौसम राम्रो भएकाले पढ्न आएको अधिकांश विद्यार्थीको प्रतिक्रिया छ । एसइई परीक्षामा विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ र कूल परिणाममा एक दशमलब छ अंक हासिल गर्ने विद्यार्थीले यहाँ भर्ना हुन पाएका छन् तर यसअघि नै एसएलसी उत्तीर्ण भई विभिन्न संकायमा प्लस टू सकेका विद्यार्थी पनि पशु विज्ञान अध्ययनका लागि आएका छन् । हाल यहाँ ३६ विद्यार्थी भर्ना भएका छन् ।

पाँच वर्षदेखि संरचना निर्माणमा लागेको इन्स्टिच्युटमा भर्खरैदेखि मात्र पढाइ शुरु भएको हो । आउँदो वर्षमा कृषि र विज्ञान विषयमा पनि अध्ययन शुरु हुने इन्स्टिच्यूटका प्रमुख होमप्रसाद अधिकारीले बताउनुभयो । “शुरुमा कोटाअनुसार विद्यार्थी नआउने हुन् कि भन्ने चिन्ता भए पनि देशभरका विद्यार्थीको आकर्षण देखिएको छ,” प्रमुख होमनाथ अधिकारीले भन्नुभयो, “दक्ष शिक्षक पनि उपलब्ध भएकाले पठनपाठन सहज ढंगले अघि बढेको छ ।”

तीन वर्षे कोर्षका लागि रू एक लाख ५२ हजार ५०० रुपैयाँ तिरे पुग्ने इन्स्टिच्युटले जनाएको छ । कोर्ष पूरा गरिसकेपछि बिएसिएजी पढ्न विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्नेछन् । इलाम सदरमुकामदेखि करिब २० किलोमिटर उत्तर मेचीराजमार्ग छेवैमा सञ्चालित इन्स्टिच्युटको निरन्तरताको कामना स्थानीयवासीले गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालसहित स्थानीयवासीले जग्गा निःशुल्क प्रदान गरेपछि सिटिइभिटीले इन्स्टिच्युटको भौतिक निर्माण थालेको थियो । इन्स्टिच्युटका लागि सबै पूर्वाधार तयार नभएकाले भने केही समस्या छ । हाल प्राज्ञिक भवनको पुस्तकालयमा पनि विद्यार्थीलाई पढाइँदै आएको छ भने प्रयोगात्मक कक्षा पनि तयारी हुन बाँकी छ । करिब रू ४० करोडको लागतमा सम्पन्न हुने सो इन्स्टिच्युटमा भौतिक निर्माण कार्य हालसम्म आधाभन्दा बढी मात्र काम भएको जनाइएको छ । एउटा प्रशासनिक भवन, प्रमुख निवास, काउसेट र पशु हस्पिटलको निर्माण कार्य पूरा भएको छ । शैक्षिक प्रयोजनका पाँचवटा भवन निर्माणाधीन छन् । माघसम्ममा सबै संरचना निर्माण पूरा हुने भएकाले त्यसपछि सहज ढंगले पठनपाठन हुने इन्स्टिच्युटका साइड इन्जिनियर रुपेश मैनालीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter