अन्नपूर्ण क्षेत्रमा हालसम्मकै धेरै पर्यटक

annapurna-base-campनवीनराज कुइँकेल / लमजुङ, माघ ६ गते । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको सङ्ख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । सन् २०१७ मा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा झण्डै ३९ प्रतिशतले वृद्धि भएको हो ।

यो हालसम्मकै बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मि आचार्यले बताउनुभयो । सन् २०१६ मा एक लाख १४ हजार १८७ जना पर्यटक भित्रिएका थिए भने सन् २०१७ मा एक लाख ५८ हजार ५८८ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको तथ्याङ्क छ । अन्नपूर्ण पदमार्ग आउने पर्यटको अभिलेख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राख्ने गरेको छ ।

सन् २०१७ मा नौ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ । अधिकारीहरूका अनुसार १० लाख पर्यटक भित्र्याउने सन् २०१६ को लक्ष्य भेट्टाउन नसके पनि यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले नेपाल भित्रिने करिब ६० प्रतिशत पर्यटकको पहिलो रोजाइ प्रदेश नं. ४ मा पर्ने अन्नपूर्ण क्षेत्र पर्ने गरेको छ ।

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार पर्यटीकय सिजनमा होटलहरू भरिभराउ रहेका थिए । पर्यटक आगमन बढ्दा होटलमा कोठासमेत अभाव हुने गरेको थियो । एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार २० वर्षको अवधिमा पर्यटक आगमनले ऐतिहासिक रेकर्ड कायम गरेको छ । एक्यापले सन् १९९६ देखि पर्यटकको तथ्याङ्क लिन थालेको हो । सशस्त्र द्वन्द्वका बेला, भूकम्प र नाकाबन्दीका बेला आगमनमा गिरावट आए पनि त्यसपछि पुनः बढ्दै गएको छ ।

एक्याप केन्द्रीय कार्यालय पोखराका प्रमुख लालप्रसाद गुरुङले अन्नपूर्ण पदमार्गको राम्रो प्रचारप्रसार, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिले पर्यटक आगमन बढेको बताउनुभयो । ‘भूकम्प गए पनि अन्नपूर्ण पदमार्ग बिग्रिएको छैन भन्ने प्रचारप्रसार भयो,’ उहाँले भन्नुभयो, ‘सबैबाट सकारात्मक सहयोग भयो । हिजोआज बन्द हडताल पनि हुन छाडेको छ । पर्यटक आगमन पनि बढेको छ । ’

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विदेशी पर्यटक जतिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । पछिल्लो समय विभिन्न क्लब तथा सङ्घ संस्थामा आबद्ध भएकासमेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।

लमजुङ सदरमुकाम बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter