• Saturday, April 12, 2025

एक सय चौबन्न वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान

Tea gardenइलाम, माघ २० गते । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।

हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएशन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु धेरै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बा बताउनुहुन्छ ।

विसं १९२० मा इलामबाट शुरु भएको चियाखेती अहिले देशका ४४ जिल्लामा फैलिसकेको छ । तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाले इलाममा चियारोपण गर्नुभएको थियो । त्यसपछि विसं १९३५ मा कारखाना स्थापना गरेर यहीबाट चिया उत्पादनसमेत शुरु भएको थियो । नेपालकै सबैभन्दा पुरानो र ऐतिहासिक चिया कारखाना पनि इलाममा छ ।

चियाले आफ्नै पहिचान बनाएपछि चिया खेतीमा संलग्न किसान हर्षित भएका छन् । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्णरूपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डसमेत निर्धारण गरेको छ । लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । “लोगो प्रयोग गर्न चियाको गुणस्तरदेखि कामदारको रोजगारीको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गर्नुपर्छ, चियाविज्ञ सुब्बा भन्नुहुन्छ– “लोगो र निर्देशिका स्वीकृत भयो, अब नेपाली चियाले अन्तर्राष्ट्रिय बजार लिन्छ ।”

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अग्र्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको प्रत्यक्ष लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा जोड दिनुपर्ने सुब्बाले बताउनुभयो ।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि सगरमाथा बेस क्याम्पमा उद्घाटन गर्ने तयारी भइरहेको छ । विश्वका ठूला क्रेता र विश्वका पत्रकारलाई सगरमाथाको बेस क्याम्प पु¥याएर अप्रिलमा लोगो उद्घाटन गर्ने तयारी भइरहेको होड्पाले जनाएको छ ।

अप्रिल ६ तारिखदेखि तीन दिनसम्म काठमाडौँमा चिया सम्मेलन हुँदैछ । लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र होड्पाले विभिन्न अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । इलाम, झापा, पाँचथर, धनकुटा तेह्रथुम, ललितपुरमा चिया किसान र उत्पादकसँग लोगो प्रयोग र यसले उत्पादक र किसानलाई हुने फाइदाको विषयमा जानकारी गराउन थालिएको छ ।

नेशनल एशोसिएशन अफ सस्टेनेवल एग्रिकल्चर (नासा) बाट अग्र्यानिक प्रमाणित भएका चिया बगानका किसान र उद्योगी पनि अग्र्यानिक उत्पादनमा लागेका छन् । कलकता र दार्जिलिङ पुगेको नेपाली चिया भारतीय लोगोमा तेस्रो मुलुक पुग्ने गरेको जानकारी दिँदै केन्द्रीय चिया उत्पादक सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले तेस्रो मुलुकमा नेपाली अग्र्यानिक चियाको बजार बढाउने गरी सबै क्षेत्र जिम्मेवार बनेर लाग्नुपर्ने बताउनुभयो ।

इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने २० वटा ठूला चिया कारखाना छन् । त्यसमध्ये फिक्कल सुन्दरपानीको गोर्खा टी स्टेट, फाकफोकथुमको तीनजुरे चिया उत्पादन कारखाना, साँखेजुङको हिमालयन सांग्रिला, माइपोखरीको सन्दकफुलगायत चिया कारखानाले स्थापनाकालदेखिनै अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् ।

भारतीयले चलाएको कारखानाबाट भारतीय लोगोमै तेस्रो मुलुकमा चिया जाने भएकाले अब नेपालको अग्र्यानिक चियालाई पहिचान दिने अध्यक्ष दाहाल बताउनुहुन्छ । भारतको चियाभन्दा नेपालको चिया राम्रो र गुणस्तरीय भएको दाबी गर्दै उहाँले निर्देशिकाले साना किसानको उत्पादनलाई समेत समेट्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको छ । केन्द्रीय चिया सहकारी संघ इलामका अनुसार नेपालमा ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशतमध्ये पनि पाँच प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा आव २०७३÷७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलोग्राम चिया उत्पादन भएको थियो । बोर्डका अनुसार देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर र तेह्रथुम पर्दछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter