• Friday, June 13, 2025

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

hydropower projectकाठमाडौँ, माघ २१ गते । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना शेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ ।

यस्तै, गाेंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।

कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

३ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो ।

युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजनाको शुरुको लागत रु ५४ करोड रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर रु ६५ करोड पुगेको जनाइएको छ ।

प्रवद्र्धक कम्पनी र प्राधिकरणबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ ।

आयोजनाले स्थानीयवासीलाई रु छ करोड ३३ लाख ७४ हजार ५०० बराबरको छ लाख ३३ हजार ७४५ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter