मुख्यमन्त्री पौडेलद्वारा पदबहाली; प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त
हेटौँडा, माघ २९ गते । प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभयो ।
पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकले ऐन कानूनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न आग्रह गर्नुभयो ।
उहाँले हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा गई आजै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि शहीद स्मारकमा पुष्पगुच्छा चढाउनुभएको थियो ।
प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त
पोखरा । प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।
आइतबार मात्र दलको नेता चुनिएका गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसमेतको समर्थनमा गुरुङ मुख्यमन्त्री बनेका हुन् ।
गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिने बताइएको छ ।