• Monday, April 14, 2025

महाशिवरात्रि पर्व आज

Shivaratriकाठमाडौँ, फागुन १ गते । फागुन कृष्ण चतुर्दशीका रात स्वदेश तथा विदेशमा रहेका शिवालयमा रातभर जाग्राम रहेर भगवान् शिवको स्तुति गर्दै महाशिवरात्रि पर्व मनाइँदैछ । यसै दिन शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरेर धुनी जगाई यो पर्व मनाइँदैछ । शिकारीले शिकार नपाएर बेलको रूख हल्लाउँदा बेलका पात शिवको मूर्तिमा पर्न गएको र यसको प्रायश्चित गर्दै शिकारीले यसै दिन निराहार शिव स्तुति गरेपछि शिकारीले वरदान पाएको प्रसङ्ग महाशिवरात्रि पर्वसँग जोडिएको छ ।

छिटै प्रसन्न हुने स्वभावका आशुतोष, नीलकण्ठ, बमबम भोले, शङ्कर, शिव, शम्भु, जटाधारी लगायतका विभिन्न नाम उपनामले प्रार्थना गरिने उहाँ देवादिदेव महादेव र पशुपतिनाथका रूपमा सर्वव्यापी मानिनुुहन्छ । महोत्तरीको जलेश्वर, खोटाङको हलेसी, काठमाडौँको पशुपतिनाथ, भक्तपुरको अनन्तलिङ्गेश्वर, पाटनको कुम्भेश्वर, काठमाडौँ गोकर्णको गोकर्णेश्वर, मखनटोलको सानो पशुपति भनिने मखन महादेव, जयवागेश्वरी अमालकोटको खञ्जनेश्वर, डिल्लीबजारको वसन्तेश्वर महादेव लगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रिको धुमधाम तयारी भएको छ ।

बडादशैँका बेलाको कालरात्रि, भगवान् श्रीकृष्णको जन्मदिन मोहरात्रि, लक्ष्मीपूजाको रात सुखरात्रि र यो महाशिवरात्रि गरी सनातन वैदिक क्षेत्रमा यी चार रातको निकै महत्व दर्शाइएको छ । महादेव पार्वतीको विवाह भएको दिन, ब्रह्माले पृथ्वी संहारका लागि रुद्र रूप धारण गरेको दिन र समुद्र मन्थन गरेर आएको हलाहल विषलाई घाँटीमा अड्याएको दिनका रूपमा पनि महाशिवरात्रि मनाइन्छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार मङ्गलबार राति १०ः५० बजेसम्म त्रयोदशी र यसपछि बुधबार मध्यरात १२ः४४ बजेसम्म चतुर्दशी तिथि रहेकोले बुधबारसम्म नै महाशिवरात्रि पर्व मनाउन सकिन्छ, व्रत बस्नेले मङ्गलबार नै बस्दा राम्रो हुन्छ, बुधबार अर्चना गर्दा नराम्रो हुँदैन ।

महाशिवरात्रिकै सिलसिलामा पशुपतिनाथ आएका नागाले सर्वाङ्ग भई धुनी जगाएका छन्, शिवको स्वरूप मानिने नागाबाबाको दर्शन गर्ने र आशीष लिन चाहनेको सोमबारदेखि नै यहाँ ताँती लागेको छ । पशुपति दर्शन गर्न आउने अपाङ्गता भएका असहाय र ज्येष्ठ नागरिकको सुविधाका लागि खटिएका नवरस स्काउट टोलीको सहयोगमा सहज रूपमा मन्दिर प्रवेश व्यवस्था मिलाइएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा सोमबार दिनुभएको सन्देशमा उहाँले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शिवरात्रिका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter