लेकमा स्याउबारी फेदीमा तरकारी
गोकर्ण दयाल / बैतडी, वैशाख १५ गते । जिल्लाको दोगडाकेदार गाउँपालिकाको शिरमा रहेको स्याउ बारीमा लटरम्म स्याउका दाना फल्न सुरु भएको छ । तल अउलतिर चमेलिया नदीको तिरमा लटरम्म मेवा फलेसँगै आँप फुल्न थालेका छन् । चिउरीको मगमग बास्ना आउन थालेको छ । किसानका बारीमा हरियो साग र तरकारीका बोटले हरियो देखिन्छ ।
स्थानीय तहमा उपलब्ध स्रोतको समुचित व्यवस्थापन गर्न सके समृृद्धि र आर्थिक उन्नति हुन खास समय नलाग्ने कुरा यो गाउँले देखाएको छ । उपलब्ध स्रोत र ती स्रोतको सदुपयोग बारे विस्तृत रूपमा दोगडाकेदार गाउँपालिकाले आफ्नो पाश्र्व चित्र बनाउन सुरु गरेको छ । गाउँपालिकालाई दुई वर्षभित्र आत्मनिर्भर बनाउन पशुपन्छी पालन, तरकारी खेती, माहुरी पालन, स्याउ खेती, आँप, लिची र मेवा खेती, कपडा उद्योग र गाउँपालिकामा रहेका तीनवटा नदीमा माछा पालन व्यवसाय गर्न गाउँपालिकाले करोडौँ रुपियाँ अनुदान दिन थालेपछि युवा र किसानसमेत निकै हौसिका छन् ।
कृषि प्राविधिक (जेटिए) विषय पढेर बेरोजगार बसेका युवा कपिल कार्कीलाई गाउँपालिकाले दुई लाख रुपियाँ अनुदान दिएपछि कार्कीले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको छ । दोगडाकेदार– ६ चमतडीमा वार्षिक ४० हजार रुपियाँमा खाली जग्गा भाडामा लिएर कपिल कार्कीले व्यावसायिक तरकारी खेती सुरु गरेको बताउनुभयो ।
दोगडाकेदार– ७ चडेपानीमा रहेको बहुउद्देयीय सहकारीलाई गाउँपालिकाले पाँच लाख रुपियाँ अनुदान दिएर तीन महिने कपडा बुनाइको तालिम दिएपछि बैतडीकै पहिलो कपडा उद्योग सञ्चालनमा आएको सहकारीका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताउनुभयो । सहकारीमा अहिले अल्लोबाट कोटको कपडा र ऊनका सलहरू बुन्ने काम भइरहेको भट्टले बताउनुभयो ।
गाउँपालिकालाई मासु, अण्डा, तरकारी र दूधमा आत्मनिर्भर बनाएर निर्यातसमेत बढाउन गाउँपालिकाले किसानलाई एक सय २० वटा उन्नत जातका बाख्रा र बोका, ३० वटा उन्नत गाई, दुई हजार अण्डा दिने कुखुरा र मासुका लागि पोल्टी फार्म र ५६ क्विन्टल आलुको बीउ वितरण गरेर करिब एक करोड रुपियाँ कृषिमा बजेट विनियोजित गरेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिका हावापानी, जल, जङ्गल र जडीबुटीका दृष्टिकोणले अत्यन्तै धनी रहेकाले प्राकृतिक स्रोतको पहिचान गरेर कृषि, वन, वातावरण, उद्योग र पर्यटनलाई पहिलो प्राथमिकता दिएर धार्मिक पर्यटकीय क्षेत्रको जीर्णाेद्धार, पदमार्ग र सित्तडमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले बजेट विनियोजित गरेको अध्यक्ष कार्कीले बाउनुभयो ।
गाउँपालिकाभित्र रहेका चारवटा प्राविधिक शिक्षालयतर्फ कृषि जेटिए, भेटेनरी, सव–ओभरसियर पढाइ सञ्चालन भइरहेका विद्यालयलाई अनुदान दिएर प्राविधिक शिक्षामा जोड दिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकामा भएको नदीजन्य स्रोतहरूको संरक्षण, निकासीको मापदण्ड बनाएर गाउँपालिकाले ऐन बनाउन सुरु गरेको गाउँपालिकाले जानकारी दिएको छ । दोगडाकेदार गाउँपालिकामा चमेलिया नदी, ढिकगाड, जमाडी, परमलीगाढबाट अनियन्त्रित रूपमा निकासी भइरहेको ढुङ्गा, गिट्टी र बालुवा उत्खनन रोकेर स्थानीयलाई त्यहाँ माछा पालन गर्न १० वटा समूह निर्माण गर्न गाउँपालिकाले पहल थालेको गाउँपालिकाले जानकारी दिएको छ ।
अनियन्त्रित रूपमा निकासी भइरहेको ढुङ्गा, गिट्टी र बालुवा उत्खननले दोगडाकेदार गाउँपालिकाको सित्तड, पञ्जुनयाँमा बाढी र विपद्को जोखिम निम्तने खतरा भएकाले स्थानीयलाई जागरुक बनाएर ती ठाउँमा माछापालन गर्न गाउँपालिकाले अनुदान दिने व्यवस्था मिलाएर नदीको संरक्षण गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो ।