• Wednesday, May 21, 2025

जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी

visit_nepal_whitewater_raftingपोखरा, वैशाख १९ गते । देवता (शालिग्राम) कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ ।

विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्यावसायिक रुप लिन थालेसँगै यतिखेर पर्यटकको चाप निकै बढेको छ । यस वर्ष जलयात्राका लागि कालीगण्डकीमा धेरै पर्यटक आएको जलयात्रा गराउँदै आउनुभएका टेकबहादुर मगर (धराने भाइ)ले बताउनुभयो । उहाँका अनुसार जाडोको याम सकिएसँगै फागुनको अन्तिम सातादेखि यहाँ जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।

“पछिल्ला वर्षमा विदेशी पर्यटकका साथै छोटो र पारिवारिक जलयात्राका लागि आउने आन्तरिक पर्यटकको चाप निकै बढेको छ,” धराने भइले भन्नुभयो, “परिवारका सदस्यहरू भएर जलयात्राका लागि आउने भएका कारण यसलाई कतिपयले ‘फेमिली रिभर’का रुपमा पनि लिने गरेका छन् ।” लामो, समथर र पानीको कम बहावका कारण विदेशी एवम् स्वदेशी पर्यटकले कालीगण्डकीलाई रोज्ने गरेको उहाँले बताउनुभयो ।

कालीगण्डकी रिभर बिच क्याम्पका सञ्चालक नवीन थापाका अनुसार पछिल्लो समयमा जलयात्राका लागि कालीगण्डकीमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको पनि चाप बढेको छ । विशेषगरी बिदाका दिन पारिवारिक समूहका साथै युवायुवती आ–आफ्ना समूह बनाएर जलयात्रा गर्न आउने गरेको पाइन्छ । “कालीगण्डकीमा अहिले दैनिक दुईदेखि १०÷१२ वटा समूहसम्म पर्यटक जलयात्रा गर्ने गरेका छन्,” उहाँले भन्नुभयो, “अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।”

पोखरा हुँदै अन्नपूर्ण सर्किटमा पदयात्रा गर्ने र कालीगण्डकीको जलयात्रालाई पर्यटकले आफ्नो प्याकेजमा राख्ने गरेको बताउनुहुुने पर्यटन व्यवसायी मिलन तिवारीले कतिपय भने जलयात्राकै लागि मात्र आउने गरेको बताउनुभयो । उहाँका अनुसार म्याग्दीको बेनीका साथै लस्तीबाट शुरु हुने जलयात्रा गर्दै पर्यटक पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुल, मालढुंगा हुँदै स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयसम्म पुग्ने गर्दछन् ।

कालीगण्डकी ‘ए’ सम्म पुग्ने जलयात्रा तीन दिन लाग्ने भएकाले छोटो एक दिनको जलयात्रा गर्नेहरू भने लस्तीबाट नयाँ पुलसम्म जाने गरेको उहाँले जानकारी दिनुभयो । तीन दिनको जलयात्रामा बेनीबाट नयाँपुल, मालढुंगा र आसपासको क्षेत्रमा पहिलो दिन बिताउने पर्यटक दोस्रो दिनमा पर्वतकै बर्राचौर र आसपासको क्षेत्रसम्म पुग्ने गर्दछन् ।

त्यस्तै जलयात्रीहरूका लागि तेस्रो दिनमा कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशय मिर्मीसम्म जलयात्रा गरी पर्यटकलाई गाडीबाट पोखरा जाने सक्ने गरी मिलाइएको हुन्छ । पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट कालीगण्डकीमा पर्यटक आकर्षित हुने गरेको पर्यटन व्यवसायी एवम् ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार यस नदीमा जलयात्राका लागि विशेषगरी धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपेली मुलुक र अमेरिकी मुलुकका पर्यटक पनि जलयात्रामा रुचि राख्दछन् । कालीगण्डकीमा पछिल्लो समयमा बढिरहेको जलयात्रा प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन सम्बद्ध संघसंस्था पनि यसको प्रवद्र्धनमा लागेको उहाँले बताउनुभयो ।

“टान पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको २५औँ वर्ष पुगेका अवसरमा हामीले हालै पर्यटन व्यवसायी एवम् सञ्चारकर्मी समेतको उपस्थितिमा कालीगण्डकीमा एकदिने जलविहार कार्यक्रम सम्पन्न गरेका छौँ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “मनोरम दृश्यावलोकनसहित जलयात्रा गर्न सकिने कालीगण्डकीलाई पर्यटन क्षेत्रमा प्रचारप्रसार गरिनु आवश्यक छ ।”

कालीगण्डकीलाई जलयात्राको आकर्षक गन्तव्य बनाउनका लागि आवश्यक पूर्वाधारको विकास राज्य स्तरबाटै हुनुपर्नेमा जोड दिँदै उहाँले जथाभावी सडक खन्ने क्रमले पदयात्रा पर्यटन धराशायी बन्दै गएको र जलविद्युत् निकाल्ने नाममा जलयात्रा पर्यटन प्रभावित भएको प्रति गम्भीर बन्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter