• Saturday, May 03, 2025

राष्ट्रपतिद्वारा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार

President Awardकाठमाडौँ, वैशाख २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र डा राजेश झा ‘अहिराज’लाई प्रदान गर्नुभयो ।

निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसुचित गराउने महत्वपूर्ण कार्यमा सहयोग पु¥याएबापत जनही रु दुई लाख राशिसहितको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिएको छ । पुरस्कारको राशि जनही रु दुई लाख रहेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकारद्वय शम्भु श्रेष्ठ, रघु मैनालीसहितको निर्णायक मण्डलले पुरस्कार छनोट गरेको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी त्यसलाई संस्थागत गर्न पत्रकार र आमसञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्न चाहन्छु भन्नुभयो । “मुलुकको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको भूमिका अहम् रहन्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको विकासमा केन्द्रित भई आर्थिक समृद्धि हासिल गर्नुपर्ने अबको दायित्व रहेको सन्दर्भमा राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् गम्भीर बनेर राष्ट्रिय लक्ष्य हासिल गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पलाई साकार पार्न अन्य क्षेत्रले झैँ पत्रकार र आमसञ्चार जगत् पनि अग्रसर बन्नु पर्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले नेपाली नागरिकलाई विभिन्न मौलिक हकको व्यवस्था गरेअनुसार सूचना र सञ्चारको हकको व्यावहारिक कार्यान्वयनका लागि स्वच्छ, निष्पक्ष, निर्भिक र व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिताको आवश्यकता पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मूल्य मान्यता, प्रचलनअनुरुप नेपालको संविधानमा समेत विचार र अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायत मौलिक हकको व्यवस्था गरिएको छ, यस संवैधानिक व्यवस्थाको प्रचलन गराउन पत्रकार तथा सञ्चार जगत्को भूमिका अतुलनीय हुनेछ ।”

राष्ट्रपति भण्डारीले पुरस्कृतहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पत्रकारिताको माध्यमबाट नेपालको सम्पूर्ण क्षेत्रको विकासमा निरन्तर योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस जगत्ले देशको आर्थिक, सामाजिक रुपान्तरणको साझेदारीका रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस र लोकतन्त्र दुस्मन होइन, सहकार्य र देशको आर्थिक रुपान्तरणको साझेदारीको बीचमा यसले काम गर्नुपर्छ, हरेक क्षेत्रका विकृति र विसङ्गतिलाई समाधान गर्ने हिसाबले सञ्चार क्षेत्र आफैँ नै एउटा अभियन्ता बनेर उभिनुपर्छ ।”

समग्र पत्रकारिता क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रका विज्ञ, संघसंस्थालगायत सम्बन्धित क्षेत्रको सुझाव र सल्लाहको आधारमा नयाँ सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सम्मानितको तर्फबाट बोल्दै सञ्चारिका समूहकी पूर्व अध्यक्ष बस्नेतले सरकारले पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेर थप उत्साह थपेको छ भन्नुभयो । ‘समृद्धि र सुशासन, आमसञ्चारको अभियान’ नाराका साथ तेस्रो राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter