‘नीति तथा कार्यक्रम सकरात्मक’
काठमाडौँ, जेठ ८ गते । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गरेको छ । नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै काँग्रेस नेताहरुले नीति कार्यक्रममा केही त्रृटि भए पनि समग्रमा सकरात्मक भएको टिप्पणी गरेका हुन् ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले पेस गरेको कार्यक्रम सकरात्मक भएको टिप्पणी गर्नुभयो । कोइरालाले नीति कार्यक्रममाथि पार्टीको औपचारिक धारणा अध्ययनपछि सार्वजनिक हुने भएपनि कनेक्टिभिटी, स्वास्थ्यलगायतका क्षेत्रमा समेटिएका विषय सकरात्मक भएको बताउनुभयो ।
संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति कार्यक्रमप्रति सकरात्मक धारणा राख्नुभयो । गच्छदारले कार्यक्रमलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने मात्र मूल प्रश्न रहेको भन्दै समेटिएको विषय ससर्ती हेर्दा राम्रा रहेको बताउनुभयो । उहाँले सरकारले गरेको प्रतिवद्धतालाई बजेट कसरी सम्बोधन गर्छ भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
कृषि र सिँचाइका क्षेत्रमा केही विषय छुटेकोमा पनि गच्छदारले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले धेरै विषय सकरात्मक रहे पनि कतिपय विषय छुटेको र अस्पष्ट रहेको बताउनुभयो । नीति तथा कार्यक्रमका कतिपय विषय कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट नभएको कार्कीको भनाई छ । उहाँले नीति तथा कार्यक्रमलाई मिठो निवन्धको संज्ञा दिनुभयो ।
तर, कांग्रेस नेता डा. नारायण खड्काले भने कार्यक्रम असपष्ट रहेको बताउनुभयो । उहाँले कार्यक्रमलाई बजेटमा कसरी आउँछ भन्ने महत्वपूर्ण विषय भएको बताउनुभयो । खड्काले लक्ष्य हासिल कसरी गर्ने भन्ने विषयमा नीति कार्यक्रम मौन रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नीति कार्यक्रम ठीकै भएको प्रतिक्रिया दिनुभयो । भट्टराईले नीति कार्यक्रममा के गर्ने भन्ने विषय समेटिए पनि कतिपयमा कसरी गर्ने भन्ने विषय नसमेटिएको बताउनुभयो ।
उहाँले वित्तीय संघीयताको मर्म अनुसार भने नीति कार्यक्रम पेस हुन नसकेको बताउनुभयो । भट्टराईले नीति कार्यक्रमलाई बजेटले कसरी सम्बोधन गर्छ भन्ने महत्वपूर्ण विषय भएको बताउनुभयो ।
एमाले नेता सुरेन्द्र पाण्डेले यसअघि वाम दलले अघि सारेको घोषणापत्रमा आधारित भएर नीति कार्यक्रम आएको बताउनुभयो । पाण्डेले नीति कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताउनुभयो ।