विराटनगरबाट सबेरै बुद्धले दैनिक उडान भर्ने
काठमाडौं, जेठ १०। बुध्द एयरले यहि जेठ १८ गते (जुन १) बाट दैनिक विराटनगर – काठमाण्डौ बिहानी उडान गर्न लागेको छ । विराटनगरबाट बिहानै ७ बजे काठमाडौंका लागि जहाजले उडान भर्नेछ। जहाज ७:४० बजे काठमाडौंमा अवतरण गर्नेछ।
यसैगरि काठमाडौंबाट साँझ ६ बजे विराटनगरको उडान पनि थपिएको छ। सो जहाज बेलुका विराटनगरमै बस्ने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ। विराटनगरमा रात्रि विश्रामले आर्थिक हिसाबले कम्पनीलाई थप व्ययभार पर्ने निश्चित छ। यसो गर्दा यात्रुहरुलाई समयमा नै गन्तव्यमा पुग्न सजिलो हुने कम्पनीले बिश्वास लिएको छ।
विहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौं त्रिभुवन विमानस्थलमा अत्यधिक उडानहरुको चापले गर्दा प्रायः विभिन्न घरेलु उडानहरु विलम्व हुने गरेको छ। साँझ ६ बजेको उडान थपिनुको मुख्य कारण पनि यही नै हो।
यस उडानबाट कामकाजीहरुलाई एक दिनमै काठमाण्डौमा आफ्नो काम सकेर बेलुका विराटनगर फर्किन सहज हुने कम्पनीको विश्वास छ। यसअघिका उडानहरु काठमाडौंबाट उडान भरि फेरि काठमाडौं नै फर्किने गरेको थियो ।
रात्रिकालिन उडान अवतरणका लागि विराटनगरमा VORDEM / RNAV-GNSS प्रविधि तथा रनवे लाईट जडान भइसकेको छ । कम भिजिविलिटीमा पनि यस प्रविधिबाट जहाज उडान तथा अवतरण गर्न सक्छ।