लक्ष्मीको दर्शन जुरेन (व्यङ्ग्य )
योगीशकृष्ण / उघिल्लो पटकभन्दा यस पटक उल्लूको चालढाल फरक थियो – मुखमा पान । गालामा मिलाएर काटिएको दाह्री । घाँटीमा सिल्कको गमछा ।
मैले उसलाई पहिले झै भक्तिपूर्वक नमस्कार गरेँ । पानको पीक मुखबाट नझरोस् भनेर उसले टाउको आकासतिर उठायो । उल्लूका लागि यो कठिन कर्म थियो । आँखा टेढो पार्दै उसले मलाई तुच्छतापूर्वक हेर्यो । मैले उसलाई तीस वर्ष पुरानो सम्पर्क स्मरण गराएपछि केही पयिरचयभाव प्रदर्शन गर्यो. “ अरे भाइ , तुम तो जैसे पहले थे , अब भी वैसे ही दिखते हो । तुम्हारा कुछ नही हुआ । ओ , माइ गड” ।
उल्लूमा आएको परिवर्तनप्रति चमत्कृत हुँदै मेले कर जोडेँ“ हजुर । यत्रो वर्षदेखि विन्ति गर्दै आएको छु । लक्ष्मीको आर्शीवाद मलाई प्राप्त भए कृतज्ञ हुने थिएँ । मैले तीस वर्षअघि फकाउनका लागि भनेको कुरा पुन दोहर्याएँ “ मेरो दिन फिर्यो भने हजुरको मूर्ति सबै शैक्षिक संस्थानमा स्थापित गर्न लगाउँछु ।“
उल्लूमा पहिले झैँ नम्रता थिएन “अरे यार , तिमी के फालतु कुरा गर्दै छौँ । म कुलपति उपकुलपतिको नियुक्त गर्ने हैसियत राख्दछु ।”
सञ्चारमाध्यममा भएका टिका टिप्पणी एवम् कार्यशैली सम्झँदा उल्लूको भनाइ सत्य लाग्यो । यस्ता नियुक्तिका सूत्रधार ऊबाहेक अरु कोही हुनै सक्दैनन् । उल्लूको सफलता र परिवर्तनप्रति चमत्र्कत हुँदै म हात जोडेर उभिरहेँ ।
उल्लू मुस्कुरायो “ जुन दिन मलाई मानिसले सिर्फ उल्लू ठान्थे , त्यसबेला पनि तिमीले मलाई सम्मान गरेका थियौँ । म चाहन्छु कि तुम्हारा कुछ हो जाए । ”
उसको आत्मविश्वास देखेर बल्ल सास आयो “ यस पटक भने केही होला जस्तो छ । ”
“तो फिर , बताओ”
मैले बिन्ति बिसाएँ “हजुर , एक पटक लक्ष्मीको कृपा भए हुन्थ्यो ।”
उल्लू हाँस्यो “ धुत । बुडबक कहिँका । लक्ष्मीजी यस्ता सानातिना काममा थोडै न इन्भल्भ हुनुहुन्छ । म आफै गर्छु । जमाना कहाँ से कहाँ चला गया । तुम वही हो ढाक के तीन पात । एउटा काम गर । कुनै प्रदेश सदेशको माग राखेर आन्दोलन चर्काऊ । नेपाली लक्ष्मीको त के कुरा , भारु मात्र होइन युरो को थुप्रो लक्ष्मीबाट कृपा भइहाल्छ ।”
मैले उसको कुरा बुझिन । उसले समझायो “हेर , यही काम गरेर मानिस कहाँबाट कहाँ पुगिसके । कुनै ज्ञान सीप नभएका र कुनै काम गर्न नसक्ने मानिस अरबौँका मालिक छन् । उता सान र मानको कुरा छाडिदेऊ ।”
मेरो अन्यमनस्कता देखेर उसले समझायो “ तिम्रो जातका केही मानिसलाई जम्मा गर । नयाँ राज्य चाहियो भनेर नारा जुलुस लगाऊ । तोडफोड गर । सके दुई चार जनाको ज्यान लिऊ । ”
उसको कुरा सुनेर मेरो सातो गयो “ हजुर । यस्तो ज्यान मार्ने काम त अपराधीको पो हो त ।”
ऊ हाँस्यो “ अरे यार । अपराध सपराध केही हुन्न । गुर्दामा कुबत छ भने जति ज्यान मारे पनि केही हुन्न । पावर भएपछि सात खून माफ हुन्छ यार । कस्ता कस्ता अपराधी सत्तामा छन् । तिमी के चिन्ता गर्छौ । ठिक छ , सय पचास जनालाई घाइते पार्न वा बोर्डरमा गएर नाकाबन्दी त गर्न सक्छौ नि ।”
“यो त अमानवीय काम हो । राष्ट्रघाती काम हो ।” मेरो चित्त बुझेन ।
“हो हो हो ”े दाह्रीमा लागेको पानको पीक पुस्दै उसले भन्यो “ यस्तै कामबाट त लक्ष्मी कुदेर आउँछिन् । बेबकूफ कहिँका ।”
कस्तो दिन आएछ । उल्लूले पनि मलाई बेबकूफ भन्ने । अघिल्लो दुई पटक त लक्ष्मीको कृपा नभए पनि दर्शन त पाइएको थियो । यस पटक त त्यो पनि जुरेन ।उल्लूले सहानुभूति देखाउँदै भन्यो ,“ विचार गर । कुनै दिन फुर्सदमा भेट होला । नयाँ विश्वविद्यालयको कुलपति नियुक्तिको काममा जानु छ ।”
गम्छा मिलाउँदै उल्लू उड्यो ।
(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)