• Monday, May 19, 2025

जीर्ण सडकमा गाडी चलाउन समस्या

rasuwa_1

रसुवा, असार १७ गते । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने पासाङल्हामु राजमार्गको रसुवाखण्डका अधिकांश सडक जीर्ण हुँदा वर्षायाममा सवारी साधन गुडाउने चालकलाई समस्या पर्दै गएको छ ।

सडक सतहमा बढी खाल्टाखुल्टी भएको तथा खोपाङ, मूलखर्क र राम्चे क्षेत्रमा पहिरो गएका कारण सवारी साधन चलाउन असहज बन्दै गएको छ । मालवाहक कन्टेनर तथा ट्रक कुन बेला के हुन्छ भन्ने ठेगान नभएकाले सडक सुधार छिटोछरितो गरिदिन सडक कार्यालयलाई आग्रह गरिएको बा६ख ४०१५ नं कन्टेनरका चालक २२ वर्षीय विक्रम न्यौपानेले बताउनुभयो ।

चालक न्यौपानेका अनुसार पूर्णरुपमा सञ्चालन भइसकेको रसुवागढी नाकामा पर्ने पासाङल्हामु सडक व्यवस्थित पार्न सडक कार्यालयको विशेष ध्यान पुगेको नदेखिएकाले राम्चे खोल्सामा कल्भर्ट वा भुइँ ढलान, मूलखर्क क्षेत्रमा व्यवस्थित ढुङ्गा बिछ्याइ र खाल्टाखुल्टीमा गेगर ढुङ्गाले पुर्ने व्यवस्था भए मात्र पनि मालवाहक सवारी साधन सहज रुपले गुड्छ ।
उता डिभिजन सडक कार्यालय नुवाकोटले भने राजमार्ग व्यवस्थापनलाई ध्यानमा राखी २३ कामदार स्काभेटरसहितका तीन उपकरणसमेत प्राविधिक व्यवस्था गरिसकिएकाले सडक सुधार अब क्रमशः अगाडि बढ्ने जनाएको छ । डिभिजन सडक प्रमुख नीरज शाक्यले धुञ्चेमा एकाइ कार्यालयसमेत स्थापना गरिसकिएको र निर्बाध रुपले सवारी साधन गुडाउन आफूले राजमार्गमा ध्यान केन्द्रित गरेको बताउनुभयो ।

नेपाली सेनाले २०४२ सालमा निर्माण गरेको त्रिशूली– धुञ्च– स्याफ्रुबेँसी सडकअन्तर्गत मूलखर्क पाखामा २०५० सालदेखि नै पहिरो जान थालेको छ । पहिरो क्षेत्र भएका कारण त्यस भेगको करीब छ किलोमिटर सडक तत्कालीन अवस्थामा कालोपत्रेसमेत हुन नसकेकाले अहिले मूलखर्क पाखाका ठाउँ ठाउँमा ग्याबिन तथा टेवा पर्खाल लगाई केही हदसम्म भए पनि सडकलाई सुधार गरिँदै लगेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

अहिले दैनिक रुपमा मालवाहक तथा अन्य सवारी साधन १०० भन्दा बढी ओहोरदोहोर भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । स्याफ्रुबेँसी– मैलुङखण्डमा डबल लेनको राजमार्ग निर्माण भइसकेकाले आगामी दिनमा बेत्रावत्री– धुञ्चेतर्फको पासाङल्हामु मार्गलाई सहायक मार्गका रुपमा संरक्षण गर्दै लगिने प्राविधिकले बताएका छन् ।

स्याफ्रुबँेसी– मैलुङ– त्रिशूली– गल्छीसम्मको सडक सुधार तथा कालोपत्रे गर्ने काम अब दुई वर्षभित्र पूरा हुने गल्छी– मैलुङ– स्याफ्रुबेँसी सडक सुधार आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सुबोध देवकोटाका अनुसार गल्छीदेखि मैलुङसम्मको सडक स्तरोन्नति गरी एक वर्षभित्र ४६ किलोमिटर सडक कालोपत्रे गरिसकिने छ । नेपाली सेनाले निर्माण गरेको मैलुङ–छोकलसम्म १७ किलोमिटर डबल लेनको सडक भने २०७७ सालभित्र टेवा पर्खाल, पुल निर्माण र कालोपत्र गरिसक्ने कार्ययोजनाअन्तर्गत थप संरचना बनाउन लागत अनुमान गराउने कार्य आयोजनाले अगाडि बढाएको छ ।

देवकोटाले भन्नुभयो, “भौगोलिक अति विकट भीरमा नेपाली सेनाले सडकको मार्ग खोल्ने कार्यमात्र सम्पन्न गरेको हो । सो सडकको उद्घाटनपछि गत वैशाख ६ गते हामीले जिम्मा लिएका छौँ । वर्षात्को शुरुआतसँगै अहिले ठाउँ ठाउँमा पहिरो गइरहेको अवस्था छ । विशेषज्ञ प्राविधिकद्वारा स्थलगत अध्ययन गराई प्राप्त प्रतिवेदनका आधारमा थप निर्माणलाई असर नपर्ने गरी वर्षायामपछि मात्र सवारी साधन आवातजावत खुला गर्न सक्छौं।

गल्छीदेखि मैलुङसम्म ४६ र मैलुङदेखि रसुवागढीसम्म ३६ किलोमिटर गरी सडकको कूल लम्बाइ ८२ किलोमिटर दूरी रहेको र सडकको स्तरोन्नति तथा कालोपत्रे सम्पन्न भएपछि गल्छीबाट रसुवागढीसम्म साना सवारी साधन तीन घण्टाभित्र र ठूला तथा मालवाहक सवारी साधन साढे चारदेखि पाँच घण्टाभित्र पुग्न सक्ने अनुमान गरिएको सवारी चालकले अनुमान गरेका छन् ।

अहिलेको १०६ किलोमिटरको गल्छी– त्रिशूली– धुञ्चे – रसुवागढी पुग्न दिनभर लाग्छ । नदीतिरबाट बनेको डबल लेनको बाटो चालू भएपछि दुर्घटना न्यूनीकरण हुने र ट्रक तथा कन्टेनरमा बढी वजन भए पनि सहज रुपले गुडाउन सकिने सवारी चालकले बताएका छन् । सडकमा घुम्ती मोड भने नभएको बताइएको छ ।

काठमाडौँदेखि सदरमुकाम धुञ्चे जोड्ने सडकमार्ग २०४२ सालमा निर्माण भएपछि राजमार्गबाट ग्रामीण भेग जोड्ने सहायक मार्ग भने पहिलो पटक धैबुङ घुम्तीदेखि जिबजिबे, दोस्रो पटक बनुवा कर्मीडाँडा, धैबुङकोट एवं सिम्ले, भोर्ले ग्रामीण कृषि सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । भट्टका अनुसार नुवाकोटको तुप्चेदेखि रसुवाको मैलुङसम्म मोल्निया हाइड्रोपावर कम्पनी, गोल्जुङ, थाम्बुचेत चिलिमे जलविद्युत् कम्पनी, थाम्बुचेत सिम्बु, साङ्जेन जलविद्युत् कम्पनीले सडक निर्माण गरेको स्मरण गर्दै रोङ्गा थुमन सडक रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ ।

रसुवाका गाउँ गाउँमा प्रायः मोटरबाटो पुगिसकेको छ । स्थानीय बासिन्दाले गाउँमा जाँदा बस र मोटरसाइकल चढ्ने गरेका छन् । तीन दिनको पैदल यात्रापछि पुग्न सकिने पर्यटकीय क्षेत्र लाङ्टाङमा मोटरबाटो लान गोसाइँकुण्ड गाउँपालिकाले कार्ययोजना स्वीकृत गरिसकेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter