बाघदरबार नामले चिनिने हरि भवन भत्काइने
काठमाडौँ, असार २५ गते । पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि बाघदरबार नामले चिनिने हरि भवन भत्काइने भएको छ।
“ करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ,” काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्नुहुन्छ ।
भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण कार्य शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उहाँ भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारले अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताउनुहुन्छ ।
गत असोजको पहिलो साता कामपाले पुनःनिर्माण प्रक्रिया अघि बढाए पनि पुरातत्व विभागले रोक लगाएको थियो ।उक्त भवनका योजनाकार इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना भवन हुने उल्लेख गर्नुहुन्छ ।
परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकासे पानी संकलनजस्ता काम हुने भएको छ ।
तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छबीकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ ।
महानगरको यो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् । एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछ ।
भवनमा विविध विशेषतायुक्त चारवटा चोक÷आँगन रहने भएकामा मुख्यचोक र प्रमुखकोमा जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । प्रमुख, उपप्रमुख, कार्यकारी तथा अतिविशिष्ट व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुनेछन् ।
गोर्खा भूकम्प र त्यसपछिका पराकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारको राजश्व विभाग र शहरी विकास विभाग बाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेको छ ।
दरबार पुनःनिर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सवलीकरण सम्भावनाका विषयमा नियुक्त गरिएको परामर्शदाताले महानगरमा बुझाएको प्रतिवेदनमा हालको हरिभवन विसं १९९२ मा पुनःनिर्माण भएको उल्लेख छ । उक्त दरबारमा पाटेबाघ पालेकाले बाघदबार भनिएको हो ।
इतिहासकार प्रा दिनेशराज पन्त गिर्वाणविक्रमको पालामा विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको बताउनुहुन्छ । भीमसेन थापाले गिर्वाणविक्रमबाट लालमोहर लगाएर धेरै जग्गा हातपारेको पनि उहाँको भनाइ छ । प्रा पन्त भन्नुहुन्छ, “अहिलेको भवन बाघदरबारको भवन होइन बाघदरबार धेरै जमिनमा बनाइएको र ठूलो थियो ।”
हालको दरबार हरि शम्शेररले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हुनसक्ने भन्दै उहाँले यस दरबारलाई बाघदरबार भन्दा फरक नपर्ने धारणा व्यक्त गर्नुुहुन्छ । विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको यस दरबार बीचमा केही समय अर्थ मन्त्रालयको कामकाज भएको र विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो कामपालाई दिएको थियो । त्यसैवर्ष चैत २७ गतेदेखि महानगरका काम यस दरबारबाट शुरु भएको थियो ।
विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुनःथापाहरुलाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तम शम्शेर जबराको भनाइ छ ।
उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यसदरबारलाई उपयोगमा ल्याएकामा १९९०को भूकम्पले संरचना जीर्ण भएकोले भवन पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्ध शम्शेरका छोरी ज्वाइँ हरि शम्शेरको स्वामित्वमा पुग्यो । हरि शम्शेरले भोग चलन गरेका हुनाले यसै तथ्यलाई आधार मानेर विद्यमान भवनलाई हरिभवन भनिएको हो ।
बाघदरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इँट्टामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इँटा कसरी पर्खालमा हुन्थे ? सम्पदा संरक्षणमा काम गर्नेहरुको भनाइ छ । (रासस)