• Saturday, April 12, 2025

क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् – प्रचण्ड; ‘प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ’

Prachandaकाठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब काँग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको टिप्पणी गर्नुभयो ।

“प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धिका लागि उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने काँग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ ।”

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भन्नुभयो, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?”

निर्वाचनपूर्व गत असोज १७ गते भएको वाम गठबन्धनको तालमेलदेखि आफूहरुलाई फुटाउने षड्यन्त्र भएको बताउँदै उहाँले निर्वाचन आचारसंहिताविपरीत र लोकतान्त्रिक मूल्यमान्यताविपरीत अलोकतान्त्रिक र निरङ्कुश ढंगले राजनीतिक नियुक्ति भएकामा नयाँ सरकारले त्यस्ता कामलाई सच्याउँदै समृद्धि र विकासको तयारी गरिरहेको उल्लेख गर्नुभयो ।

‘प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने काँग्रेसी परम्परा छ’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताउनुभयो ।

“प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ तर काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “काँग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको छ ।

देशै खाने काम आफ्नो हो भन्ठान्ने काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”

उहाँले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिनुभयो ।

पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो ।

पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सार्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter