केरा खेतीतर्फ किसानको आकर्षण
चरिकोट, साउन ८ गते । दोलखाको मेलुङ गाउँपालिका–१, पवटीवासी केरा खेतीतिर आकर्षित हुन थालेका छन् । अन्नबालीमा बाँदरले सारै दुःख दिएपछि विकल्पका रूपमा उनीहरूले केराखेतीमा आकर्षित हुनुपरेको किसान कमलकान्त ओलीले बताउनुभयो ।
उहाँकाअनुसार गाउँमा बाँदर आतङ्क चलेको छ । मकै, गहुँ, कोदोलगायतका अन्न बालीमात्र होइन तरकारी खेती गरेर पनि बाँदरले खान दिएन । मकैका सुत्लादेखि घोगासम्म केही राखेन । खुर्सानी, मुलालगायत तरकारीखेती र फलपूmल खेती पनि गर्न दिएन । जमिन भएर पनि जीवनयापन गर्न कठिन भएकै बेला केरामा भने उसले बिगार नगरेको देखिएकाले यतातिर लागेका हौँ ।
केरा काँचोमा टर्रो हुँदा नखाने रहेछ । उहाँले भन्नुभयो, सँधै आउने होइन, पाक्ने बेलासम्म सुरक्षित राख्न सकिने रहेछ । त्यसैले केराखेती उपयुक्त लाग्यो । मैले सात रोपनीमा यो खेती गरिरहेको थिएँ । अन्न बाली र तरकारीसमेत लगाउन नपाएपछि थप तीन रोपनीमा केरा खेती नै सुरु गरेको छु । पुरानोबाट वार्षिक एक लाख चोखो नाफा पनि भइरहेको छ । kera_1
उहाँले ८० रोपनीमा मकै खेती गरी राम्रै आम्दानी लिनुभएको थियो । उहाँले भन्नुभयो, बाँदर, दुम्सी, लोखर्के र मयुरले समेत दुःख दिँदा खेती छोड्नुप¥यो । घाँस खेतीबाट हुन्छ कि भनेर गरियो बजार नै पाइएन । यसपाली ३५ टन घाँस बीउ उत्पादन भयो । पशु सेवा कार्यालयले मात्र ३० किलो किनिदियो । बिक्री नभएर गाईभैँसीलाई पिँधेर खोले दिँदैछु । छवटा भैँसी, तीनवटा गोरु छन् । हरियो घाँस र दानाबाट खोले दिएर पालेको छु ।
उहाँले १२ रोपनीमा अम्रिसो पनि लगाउनुभएको छ । उहाँले भन्नुभयो, हुन्छ कि भनेर घिरौँला खेती गरे त्यो पनि बाँदरले चिथोरेर सखाप बनायो । अव घाँस खेतीबाहेक अन्य सबै छोड्न बाध्य हुनुपरेको छ । विस्तारै केरा खेती गर्ने सोच पलाएको छ ।
अहिले मुङग्रेमा ददी, ठूलो, टुपी, माने जातका, धुस्रे, चिनीचम्पा, मनभोग, घिउ, भुइँ र झप्री जातका केराखेती गरिएको छ । उहाँले भन्नुभयो, तराईतिरबाट आउने केरालाई रोक्नु छ । बरु थोरै नाफा खाएर पनि यहीँ उत्पादित केरा बजारमा दिने सोच छ ।
उहाँले गाउँका अरुलाई पनि केराका बिरुवा ल्याइदिएर यसप्रति आकर्र्षित गराउन थाल्नुभएको छ । उहाँले भन्नुभयो, यो खेतीको विकल्प छैन । केरालाई बढावा दिन दोलखा केरा उत्पादन सङ्घको स्थापना पनि भएको छ ।
तामोकोसीको बाह्र सय मिटर वारिपारि केरा खेतीलाई उपयुक्त मानिएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार खेती योग्य ४० हेक्टर जमिनमा केरा खेती गरिएको छ । ३१ हेक्टरमा उत्पादन सुरु भई ३७२ मेट्रिक टन केरा उत्पादन भएको छ ।