सत्ताइसौँ दिनमा सहमति; डाक्टर गोविन्द केसीको अनसन तोडियो

dr.Govind_Kc_Hospitalकाठमाडाैं । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै उनले बिहिबार राती नै अनसन तोडेका छन् ।

समझदारीअनुसार १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ ।

सम्झौतामा भनिएको छ, ‘संसद्बाट पारित भएर ऐन जारी भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टल र नर्सिंङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिनेछैन ।’

अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – यसको मतलब काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई अब १० वर्षसम्म आशयपत्र र सम्बन्धन नदिने व्यवस्था ऐनमै लेखिने भएको छ । तर, आशयपत्र लिइसकेका र पूर्वाधार पूरा गरेका मनमोहनजस्ता मेडिकल कलेजको हकमा भनिएको छ :

० सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्नेछ ।

० यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउनेछ ।

यसरी आशयपत्र लिएर सम्बन्धनको पर्खाइमा रहेका मनमोहनजस्ता मेडिकल कलेज या त सरकारीकरण हुनेछन् अथवा काठमाडौंबाहिर सञ्चालन हुनेछन् ।

० पूर्वाधार नपुगेका मेडिकल कलेजको आशयपत्र पनि खारेज हुने

शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर पनि अस्पताल निर्माण नगरेका, उपकरण खरिद नगरेका, प्राध्यापन समूह र डाक्टर, नर्स जुटाउन नसकेका शिक्षण संस्थाको आशयपत्र नवीकरण नगर्ने सम्झौता भएको छ । काठमाडौंको घट्टेकुलोमा सञ्चालन गर्न खोजिएको काठमाडौं नेसनल मेडिकल कलेज यही समूहमा पर्छ ।

० आंगिक कार्यक्रम नभएका विश्वविद्यालयले सम्बन्धन दिन नसक्ने

विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन । यसको मतलब पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध वा अन्य विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिने सम्भावना टरेको छ । विगतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा काठमाडौं विश्वविद्यालयले आफ्नै आंगिक क्याम्पस नहुँदै मणिपाल पोखरा, कलेज अफ मेडिकल साइन्सेस चितवन र नेपालगन्ज मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो ।

० मेडिकल कलेज सञ्चालन गर्न तीन वर्ष पुगेको अस्पताल अनिवार्य

अस्पताल सञ्चालन सम्बन्धमा प्रचलित कानुनबमोजिम स्वीकृति लिई तीन वर्षसम्म आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको हुनुपर्ने सम्झौता भएको छ । यसरी भर्खरै अस्पताल खोलेर मेडिकल कलेजको तयारीमा लागेका सञ्चालकहरूले अब धैर्य गर्नुपर्ने भएको छ । यो व्यवस्था गत वर्ष देउवा सरकारले ल्याएको अध्यादेशमा पनि थियो, तर वर्तमान सरकारले ल्याएको विधेयकमार्पmत हटाउन खोजिएको थियो ।

० विश्वविद्यालयले पाँचभन्दा बढी

कलेजलाई सम्बन्धन दिन नपाउने, तर बी एन्ड सीका लागि बाटो अझै खुला सम्झौताअनुसार विश्वविद्यालयले अब पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन । काठमाडौंबाहिरका शिक्षण संस्थाका हकमा चिकित्सा शिक्षा आयोगले नीति निर्माण गरी निर्णय गरेबमोजिम हुनेछ भनिएको छ । दुर्गा प्रसाईं सञ्चालक रहेको बी एन्ड सी मेडिकल कलेज काठमाडौंबाहिर झापामा सञ्चालित छ । सो कलेजले सम्बन्धन पाउने वा नपाउने विषय आयोगको कार्यक्षेत्रमा परेको छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।

० अनमि र सिएमएलगायतका कक्षा पाँच वर्षभित्र फेजआउट

अब स्वास्थ्यसम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम प्रमाणपत्र तह र सोभन्दा माथि मात्र सञ्चालन हुनेछन् । हाल चालू रहेका कार्यक्रम पनि यो ऐन लागू भएको मितिले पाँच वर्षभित्रमा क्रमशः फेजआउट हुनेछन् । सिएमए, अनमिजस्ता कार्यक्रम प्रमाणपत्र तहभन्दा मुनि हुन् । त्यस्तै, यस्ता कार्यक्रम विद्यालयस्तरमा सञ्चालन गर्ने तयारी थियो, अब बन्द हुने भएको छ ।

० स्नातकोत्तरको पढाइ ऐनबाटै निःशुल्क, सुगम र दुर्गममा एक–एक वर्ष सेवा अनिवार्य

चिकित्साशास्त्रमा स्नातकोत्तर तह (एमडीलगायत) को पढाइ अब सबै शिक्षण संस्थामा निःशुल्क गर्ने सम्झौता यसअघि नै भएको थियो । तर, यो व्यवस्था अब ऐनमै लिपिबद्ध हुने भएको छ । यसरी छात्रवृत्तिमा पढेका चिकित्सकले ‘सुगम ठाउँमा तीन वर्ष वा दुर्गम ठाउँमा दुई वर्ष’ सेवा गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको थियो । सम्झौताअनुसार अब ‘सुगम ठाउँमा एक वर्ष र दुर्गम ठाउँमा एक वर्ष गरी दुई वर्ष’ भन्ने शब्दावली राखिने भएको छ । यसरी छात्रवृत्तिमा पढ्ने हरेक डाक्टर एक वर्ष दुर्गम जानैपर्ने व्यवस्था भएको छ ।

० सातै प्रदेशमा कम्तीमा एक–एक मेडिकल कलेज सरकारी

सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा सरकारले यो ऐन प्रारम्भ भएको पाँच वर्षभित्र कम्तीमा एउटा सार्वजनिक मेडिकल कलेज सञ्चालन गर्नेछ ।

० कर्णाली प्रतिष्ठानमा अविलम्ब एमबिबिएस पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएसलगायत स्नातक तहको विद्यार्थी भर्ना गर्ने सम्बन्धमा संघीय सरकारको प्रतिनिधि, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ दुईजना रहेको कार्यदल गठन गर्ने सहमति भएको छ ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेज सञ्चालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत विधेयक ल्याउने कार्य दुई महिनाभित्र सुरु हुनेछ । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा यसअघि नक्सांकन भएका ठाउँको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गरिनेछ ।

० त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही सुरु

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठह-याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।

पूर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोपमा आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्त नगर्न सिफारिस गरेको छ ।

यस्तै आरोपमा त्रिभुवन विश्वविद्यालय, आइओएम र मेडिकल काउन्सिलका गरी ४० जना जिम्मेवारलाई पनि विभिन्न स्तरको कारबाही सिफारिस गरिएको छ ।

 

सरकार र डा. केसीबीच भएको नौबुँदे सहमति

१. माग १ र ६ का सम्बन्धमा

डा. गोविन्द केसीले उठाउनुभएका राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने विषयका सम्बन्धमा संसदीय प्रक्रियाबमोजिम देहायका बुँदाहरूमा भएको सहमतिहरू टुंगोमा पु-याउन सरकार प्रतिबद्ध छ । सहमतिका यी विषयहरू संघीय संसद्बाट संसदीय प्रक्रिया पु-याई यथाशक्य/यथाशीघ्र टुंग्याउन सरकारले आवश्यक पहल गर्नेछ ।

माग २ का सम्बन्धमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएसलगायत स्नातक तहको विद्यार्थी भर्ना गर्ने सम्बन्धमा संघीय सरकारको प्रतिनिधि, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ दुईजना रहेको कार्यदल गठन गर्ने ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजमा हालसम्म भएको प्रगति आदान–प्रदान गर्ने काम भयो । आव ०७५/७६ को वार्षिक बजेट वक्तव्यको प्रकरण नं. ३५ मा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत ऐन ल्याइनेछ’ उल्लेख भएअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत विधेयक ल्याउने कार्य दुई महिनाभित्र सुरु गर्ने ।

पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा यसअगाडि नक्सांकन भएका ठाउँहरूको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गर्ने ।

३. माग ३ का सम्बन्धमा

यो विषयमा सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएकाले हाल केही गरिरहनुपरेन ।

४. माग ४ का सम्बन्धमा

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह-याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने ।

५. माग ५ का सम्बन्धमा

विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारणका लागि आवश्यक ऐन, नियम र नीतिसमेतलाई समायोजन एवम् संशोधनलगायतको कार्य अध्ययन गरी सिफारिस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा सम्बन्धित विषयविज्ञ र कानुनवेत्तासमेत रहने गरी १५ दिनभित्र कार्यदल गठन गर्ने । उक्त कार्यदलको कार्यावधि एक महिनाको हुने ।

६. माग ६ का सम्बन्धमा

माथि १ मा सम्बोधन भइसकेको ।

७. माग ७ का सम्बन्धमा

जानकी मेडिकल कलेजको पठनपाठन अविलम्बविना अवरोध नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयलाई तत्कालै निर्देशन दिने । हालसम्मको अवस्थाका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले आवश्यक छानबिन गरी दोषी देखिएका जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने ।

प्रदेश नं. २ मा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिबासमा जग्गा पहिचान भइसकेको, सो जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको र आवश्यक विधेयक तर्जुमाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको सहमतिसहित नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेकाले सो कार्यलाई तीव्रताका साथ सम्पन्न गर्ने ।

८. माग ८ का सम्बन्धमा

माथि उल्लेखित सहमतिका बुँदाहरू नेपाल सरकार, मन्त्रिपरिषद्बाट अनुमोदनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव पेस गर्ने ।

९. माग ९ का सम्बन्धमा

आज मिति ०७५ साल साउन १० गते बिहीबारदेखि प्रा.डा. गोविन्द केसीले अनशनका कार्य अन्त्य गर्ने । डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था चिकित्साशास्त्र अध्ययन संस्थानले मिलाउने ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter