• Friday, April 11, 2025

यी आठ स्थानमा आकाशे पुल निर्माण गर्दै कामपा

Overhead bridgeकाठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो।

कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले भने, ‘दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रुको सुरक्षा गर्न पुल बनाइनेछ।’

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ।

विज्ञापन राख्न नपाइने

नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए। विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा छ। महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो।

कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाको छ । गत आवमा कामपाले विज्ञापन करबापत रु १० करोड ९४ लाख ८६ हजार ७९ असुल गरेको थियो ।

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिने छ। यस्तो पुल पहिलो पटक बन्न लागेको हो। यसअघि परीक्षणका रूपमा पुरानो बसर्पाक अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो।

डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण सुरू गरिने प्रमुख इञ्जिनियर थापाले बताए। अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सव–वे छ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको इञ्जिनियर थापाले बताए। वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ।

कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए। मर्मत गर्न महानगरले समन्वय गर्नेछ ।

कामपाले चालू आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ।

कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter