तीजः भड्किलो हैन, सजिलो बनाऔँ

Jumla Teejदाङ, भदौ १० गते । नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् ।

यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकामा बौद्धिक क्षेत्र तथा अन्य क्षेत्रमा क्रियाशील महिलाले चिन्ता व्यक्त गरेका छन् । शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ ।

पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका शिक्षिका कालिका रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पहिला पहिला त महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोेका लागि मनाउँछन् । तीज आउन केही दिन मात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो । अहिले त तीज आउन एक महिना अगाडि नै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा देख्दा चिन्ता लाग्ने गर्छ ।”

शिक्षिका रेग्मी पनि तीजको व्रत बस्नुहुन्छ । उहाँ दिनभरी व्रत बसेर पूजाराधना गरेर बेलुका फलफ्ूल, दूध पिउनुहुन्छ तर कति महिला त श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिई व्रत बस्ने देख्दा नरमाइलो लाग्छ । श्रीमान्को खुट्टाको बूढी आँैलाको पानी खाने कामचाहिँ आफूले नगर्ने उहाँको भनाइ छ ।

तीज पर्वलाई आजभोलि फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर निवासी सुटिङ प्रशिक्षक माया रोका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो पर्व आउन धेरै दिन अगाडिदेखि विशेष गरेर बजार क्षेत्रमा गरिने दर खाने कार्यक्रम कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुने खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्न थालेको छ ।” उहाँ परापूर्वकालदेखि चलिआएको सो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बसी पूजापाठ गर्नुहुन्छ । उहाँ बेलुकीपख दूध तथा फलफूल खानुहुन्छ ।

रेग्मी र रोका मात्र होइन तुलसीपुर उपमहानगरपालिका–६ की गृहिणी सुशीला भट्टराईले पनि तीज पर्वलाई सामान्य रुपमा मनाउने सोच बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “आजभोलि रेडियो, टेलिभिजनमा बज्ने गीत तथा नृत्य र तीज आउन एक महिना बाँकी रहँदा गरिने कार्यक्रम सुन्दा हेर्दा मलाई नमज्जा लाग्छ”, उहाँ भन्नुहुन्छ, “तीज आउन चार पाँच दिन अगाडि त्यस्ता कार्यक्रम आयोजना गरे पनि हुुने थियो नि ? यसले त निम्न वर्गका महिलाको त यो चाड होइन कि जस्तो आभाष हुन थालेको छ ।”

तीजमा शैक्षिक, सरसफाइ, जागरणका भाका समेटिएर गीत गाउने गरिन्थ्यो तर अहिले त विकृति अँगाल्नेखाले मात्र गीत नृत्य प्रदर्शनले कतै हाम्रो संस्कृति नै हराउने त होइन भन्ने चिन्ता लाग्ने गरेको भट्टराई बताउनुहुन्छ । यस्तै चिन्ता विजौरी क्याम्पस दाङकी प्रा निर्मला डाँगीलाई पनि छ । उहाँ भन्नुहुन्छ, “यो पर्वलाई देखासिकीको पर्व, कपडा तथा गहना प्रदर्शन गर्ने र भड्किलो पर्वको रुपमा मनाउने प्रचलन बन्द गर्नु नै पर्छ । यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter