पुस्तकालय दिवस ः पुस्तक नीतिको अभाव
काठमाडौँ, भदौ १४ गते । एघारौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइरहँदा पुस्तक नीतिका अभावले पुस्तकालयहरु अझै व्यवस्थापन हुन सकेका छैनन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरेको छ । पुस्तकप्रति पाठकको आकर्षण भइरहेका बेला पुस्तक नीतिको अभावले पुस्तकालय व्यवस्थापनमा भने समस्या देखिएको छ । मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेखालय शाखा प्रमुख यादवचन्द्र निरौलाले पुस्तकालयसम्बन्धी नीति बने पनि कार्यान्वयन नहुँदा पुस्तकालय व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।
अहिले पुस्तकालय नीति र कानूनको अभावमा पुस्तकालयहरु जथाभावी रुपमा सञ्चालन भइरहेका छन् । सरकारले २०७३ सालमा साहित्यकार तथा पत्रकार हरिगोविन्द लुइँटेलको अध्यक्षतामा बनाएको समितिले राष्ट्रिय पुस्तक नीति बनाए पनि अझै कार्यान्वयन भएको छैन । अहिले पुस्तक नीति मन्त्रालयमा थन्किएको छ । पुस्तक नीति नभएकाले पुस्तकालय दर्ता कहाँ गर्ने भन्ने अझ निश्चित भइरहेको छैन ।
संस्थाका रुपमा दर्ता हुने पुस्तकालय अहिले जिल्ला प्रशासनमा दर्ता हुने गरेको पाइएको छ तर नयाँ संविधानले स्थानीय तहलाई नै पुस्तकालयको दर्ता गर्ने अधिकार दिएको छ । अहिलेसम्म स्थानीय तहले पुस्तकालय दर्ता गरेका छैनन् । यस्तै नीतिको अभावले पुस्तकालयको नियमन गर्ने निकाय नै नभएको उहाँ बताउनुहुन्छ ।
“पुस्तकालय के कसरी सञ्चालन भएका छन्, त्यसको नियमन गर्ने निकाय छैन” निरौलाले भन्नुभयो, “पुस्तक नीति कार्यान्वयन भएपछि पुस्तकालय सञ्चालन गर्न सजिलो हुन्छ ।”
यस्तै पुस्तकालयको अर्को समस्या दक्ष जनशक्ति नहुनु पनि हो तर विश्वविद्यालय तहमा रहेका पुस्तकालयमा दक्ष जनशक्ति भए पनि सार्वजनिक पुस्तकालयमा दक्ष जनशक्तिको अभाव देखिएको छ । पुस्तकालयमा आउने पाठकलाई राम्रोसँग व्यवहार गर्ने र पुस्तक दिने जनशक्ति नभएको मन्त्रालयका उपसचिव निरौलाले जानकारी दिनुभयो । यस वर्ष मनाउन थालिएको पुस्तकालय दिवसको नारा ‘समृद्ध पुस्तकालय, समृद्ध समाज’ भन्ने छ ।
विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्धविक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ खडा गराई पण्डित केदारनाथ झालाई त्यसको रेखदेख गर्न लगाएको दिनको सम्झनामा २०६५ सालदेखि सरकारले पुस्तकालय दिवस मनाउन थालेको हो । उक्त पुस्तकालयमा रहेका पुस्तक १९१० सालमा दरबार हाइस्कूल स्थापनापछि त्यहाँ स्थानान्तरण गरिएको थियो ।
विसं १९५७ मा घण्टाघरमा स्थापना भएको वीर पुस्तकालयमा दरबार हाइस्कूलका पुस्तक पुनः स्थानान्तरण गरिएको थियो । त्यसपछि वीर पुस्तकालय बाट २०२४ सालमा स्थापना गरिएको पुरातत्व विभागअन्तर्गतको अभिलेखालयमा ती पुस्तक राखिएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बुद्धिजीवीले प्रधानमन्त्री भीमशम्शेरका पालामा सर्वसाधारणलाई जनचेतना जगाउनका लागि पुस्तकालय स्थापना गर्दा विसं १९८७ मा ‘लाइब्रेरी पर्व’ भएको थियो । उहाँहरुले पुस्तकालय स्थापना गरेवापत तत्कालीन सरकारले जनही रु सय÷सय जरिवानासमेत गराइएको थियो । अझै पनि ती पुस्तक चिताइ तहबिलका पुस्तकालय अभिलेखालयमा रहेको हुन सक्ने मन्त्रालयका उपसचिव निरौलाले जानकारी दिनुभयो । नेपालमा अहिले करीब एक हजार सार्वजनिक पुस्तकालय र करीब २०० जति विद्युतीय पुस्तकालय छन् ।
यसैगरी प्रायः प्रत्येक क्याम्पस, कलेज र विद्यालयले समेत पुस्तकालय सञ्चालन गरेका छन् । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका प्रमुख आइपी अधिकारीले पुस्तकालयसम्बन्धी नीति र कानून नभएकाले पुस्तकालयले गति लिन नसकेको बताउनुभयो । उहाँका अनुसार सरकारले कुनै नीति र कानून नबनाउँदा आफैँ नियम बनाएर पुस्तकालय सञ्चालन भएको छ । पुस्तकलयविद् इन्दिरा दलीले सरकारलाई पुस्तकालयको महत्वबारे जानकारी नभएर कानून ल्याउन ढिलाइ गरेको टिप्पणी गर्नुभयो ।
उहाँले पुस्तक नीति नहुँदा पुस्तकालय आफूखुशी सञ्चालन भइरहेको छ भन्दै चाँडै नीति ल्याएर पुस्तकालयलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अहिले विद्युतीय पुस्तकालयसमेतमा आकर्षण बढिरहेको छ । इन्टरनेट पुगेका ठाउँमा कम्प्युटरमार्फत विद्युतीय पुस्तकालयसमेत सञ्चालन भइरहेका छन् । रासस