सन्दर्भः १२ औँ राष्ट्रिय मानव बेचविखन तथा ओसारविरूद्धको दिवस रोकिएन मानव बेचबिखन र ओसारपसार
सीता शर्मा / काठमाडौँ, भदौ २० गते । नेपालबाट मानव बेचविखन तथा ओसारपसार गर्ने क्रम रोकिएको छैन । बरू महिला र बालबालिका बेचविखन तथा ओसारपसारको क्षेत्र र सख्या वर्सेनि बढ्दो छ । नेपाल प्रहरीमा परेका मानव बेचविखनविरूद्ध दर्ता भएका मुद्दाको संख्या हेर्दा प्रत्येक वर्ष यो क्रम बढेको देखिन्छ ।
त्यस्तै हरेक वर्ष करीब आठ हजार मानिस हराउने गरेका र त्यसमा धेरै महिला तथा बालिका हुने गरेको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा ११८ वटा बेचविखनविरूद्धका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ३०८ भई यो संख्या दोब्बर भन्दा बढीले बृद्धि भएको देखिन्छ ।
पछिल्लो सात वर्षको अवधिमा प्रहरीमा दर्ता भएका एक हजार ३७५ मानव बेचविखन तथा ओसारपसारका मुद्दामध्ये सबैभन्दा धेरै महिला र बालिका पीडित भएका छन् । सो अवधिमा परेका मुद्दा हेर्दा एक हजार तीन सय महिला र बालिका छन् भने बालक र पुरूष ७५ जना छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार २०७४ सालमा बेचविखनमा पर्न सक्ने एक हजार सात सय महिला तथा बालिकाको उद्धार गरिएको थियो ।
त्यस्तै २०७५ बैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा दुई हजार ५१२ जना मानिस हराएका छन् । तीमध्ये झण्डै ७७ प्रतिशत महिला तथा बालिका छन् । हराएका मध्ये अधिकांश बेचविखनको जोखिममा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार सो अवधिमा दर्ता भएका मुद्दामध्ये ६४ प्रतिशत सिमापारी भारतमा बेचखिनमा परेका छन् भने २० प्रतिशत आन्तरिक रूपमा बेचविखन पर्ने गरेका छन् । यस्तै ११ प्रतिशतको कहाँ बेचिए भन्ने स्पष्ट नखुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा खत्रीले विभिन्न नाकाबाट उद्धार गरिएका र हराएका महिला तथा बालिकाको संख्याका आधारमा बेचविखनबाट प्रभावितको संख्या ठूलो रहेको बताउनुभयो ।
नेपालबाट यति नै सख्यामा मानव बेचविखन तथा ओसारपसार भएका छन भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म कसैसँग छैन तर बेचविखनविरूद्धमा काम गर्दै आएका संस्थाहरूले भने प्रत्येक वर्ष आठदेखि १० हजार महिला तथा बालिका विभिन्न प्रयोजनका लागि भारतसहित अन्य मुलुकसमेत बेचविखनमा पर्ने गरेको दाबी गर्दै आएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले दुई वर्ष पहिले हरेक वर्ष आठदेखि साढे आठ हजार महिला तथा बालिका बेचविखनमा परिरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
नेपालबाट अहिले भइरहेको मानव बेचविखनको अवस्था हेर्ने हो भने दिगो विकास लक्ष्य (एसडीजी) ले लिएको लक्ष्य पुरा हुने अवस्था देखिदैनन । एसडीजीले लिएको लक्ष्य अनुसार मानव बेचविखनको अवस्था सन् २०२० सम्म ६५० र सन् २०३० सम्म ३२५ मा झार्नुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालमा मानव बेचविखनका गिरोहहरूले नयाँ तरिका अपनाएर विभिन्न प्रयोजनमा विक्री गर्ने जोखिम बढेकाले त्यो लक्ष्य पुरा हुनेमा आंशका व्यक्त गर्नुभयो ।
उहाँका अनुसार पछिलो समयमा दलालहरूले भारतलाई ‘ट्रान्जिटप्वाइन्ट’ बनाएर नेपाली महिलालाई ओमान, मलेसिया, इराक, लेवनान, लिभिया, तान्जानिया, केन्या तथा खाडीका विभिन्न मुलुकमा ‘सप्लाई’ गर्ने गरेको पाइएको छ । भारतको दिल्लीबाट हालै उद्धार गरेर ल्याइएका १६ महिला यसको अझै बलियो प्रमाण हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा बेचविखनको स्वरूप, क्षेत्र, लक्षित समुदाय वर्सेनि फेरिएकाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने कार्य झन झन जटिल बन्दै गएको बताउनुभयो ।
उहाँले एक्लो महिला मन्त्रालयले यसलाई नियन्त्रण गर्न नसक्ने बताउँदै श्रम तथा रोजगार, गृह तथा परराष्ट्र मन्त्रालय, यस क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था र अन्तर्राष्ट्रियहरूस्तरसम्म समन्वय गरेर काम गर्नेगरी योजना बनाएको बताउनुभयो ।
मानव बेचविखन तथा ओसारपसारविरूद्धको १२ औं राष्ट्रिय दिवस ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार’ भन्ने नाराका साथ यस विरूद्धमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ ।