किबी फल बजार पठाउने तयारी

Kiwi-Farmingराममणि दाहाल / हेटौँडा, असोज ३ गते । उत्तरी मकवानपुरका कृषक उक्त क्षेत्रमा उत्पादित किबी फल काठमाडौँमा लैजाने तयारी तीव्र छ । किबी फलको व्यावसायिक खेती सुरु गरेका मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराहीका कृषक पहिलो खेपमा काठमाडौँको बजारमा आपूर्ति गर्ने तयारीमा जुटेका हुन् ।

किबी फलको बढ्दो मागसँगै खेती फस्टाउँदै गएपछि स्थानीय कृषक केही वर्षयता किबीखेतीतर्फ आकर्षित भएका छन् । किबीको व्यावसायिक खेती गर्दै आउनुभएका बज्रबाराहीका कृषक फणिन्द्र सुवेदी यस वर्षको पहिलो खेप किबी लैजाने तयारीमा जुटेको जानकारी दिनुभयो । उहाँले रेड किबी फल खानका लागि तयार भइसकेको बताउँदै काठमाडौँमा लैजान टिपेर प्याकिङ गरिएको बताउनुभयो ।

रेड र ग्रिन किबीमध्ये रेड किबी पहिलो खेपमा बजारमा जाने भएको हो । ग्रिन किबी आगामी कात्तिकको तेस्रो साताबाटमात्र बजारमा जाने भएको छ ।

थाहा नगरपालिका वडा ६ स्थित बज्रबाराहीका सुवेदीसहित तीनजना कृषकको गरी करिब तीन सय केजी किवी फल काठमाडौँ पुग्ने भएको हो ।

रेड किबी फल अन्यत्र उत्पादन नभएको र थोरै परिणाममा भएकोले राम्रै मूल्य पाउने भन्दै किबी फ्रुट एसोसिएसनका सचिवसमेत रहनुभएका सुवेदीले भन्नुभयो, चाडपर्वको समय हो अन्य समयको भन्दा राम्रो मूल्यमा बिक्री हुँदै छ । उहाँ किबी फलको स्वाद चाडपर्व अगावै काठमाडौँका उपभोक्तालाई चखाउनका लागि तिहारअघि नै लैजाने तयारी गरिरहेको बताउनुभयो ।

कृषक सुवेदीसहित हरेराम थापा र मनोरथ बलामीले उत्पादन गरेको किबी फल काठमाडौँमा प्रतिकेजी पाँच सय रुपियाँमा बिक्री गरिने बताइएको छ ।

मकवानपुरमा आगामी कात्तिकमा ग्रिन किबी करिब १० टन उत्पादन हुने भएको छ । मकवानपुरमा झण्डै दुई हजार बोटबाट किबी उत्पादन हुँदै आएकोमा पछिल्लो समय माग बढेसँगै बज्रबाराही, दामन, पालुङ, अघोर, कोगटेलगायतका स्थानमा १० हजार बोट लगाएको अनुमान गरिएको छ । नेपालमा आधा दर्जनभन्दा बढी जातको किबी फल लगाइँदै आएकोमा रेड किबी फल काट्दा रातो हुने र अन्य किबी फल हरियो हुने गर्दछ ।

रेड किबी फल गतवर्ष बज्रबाराहीमा एक सय ५० केजी उत्पादन भएकोमा स्थानीय बजारमा आठ सय ग्रामको प्याकेटको खुद्रा मूल्य ३५० रुपियाँमा बिक्री गरिएको थियो । मकवानपुरमा “एक गाउ“, एक उत्पादन” कार्यक्रमअन्तर्गत किबीखेतीका लागि सरकारले पनि सहयोग गर्दै आएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कँडेल बज्रबाराही किबी उत्पादनको पकेट क्षेत्र भएको भन्दै अघिल्ला वर्षहरूमा कृषकलाई बिरुवा वितरण गरिएको जानकारी दिनुभयो ।

बहुगुणी किबी फलको विभिन्न जात हुने भए पनि हेवार्ड जातको उपयुक्त हुने बताउँदै कृषक सुवेदीले मकवानपुरमा मिश्रित जातिको किबी फलको खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार हेवार्ड जातको किबी फल सबैभन्दा उत्कृष्ट हो र मकवानपुरमा हाल सबैभन्दा बढी ब्रोनो जातको खेती छ ।

मकवानपुरमा हेवार्ड, एलिसान, ब्रोनोलगायतका जातका खेती भइरहे पनि सबैभन्दा बढी ब्रोनो जातको किबी फलको खेती भइरहेको छ । यो फलको एक बोटले दुई सय केजीसम्म उत्पादन दिने भए पनि बज्रबाराही क्षेत्रमा सरदर ५० केजीसम्म उत्पादन हुने गरेको छ । किबी फलको बजारको समस्या नभएको र माग राम्रो रहेको बताउँदै एसोसिएसनका सचिव सुवेदीले बेर्ना र कोल्डस्टोरको समस्या रहेको जानकारी दिनुभयो । आठ सयदेखि दुई हजार मिटरको उचाइमा उत्पादन हुने किबी फाुगन–चैत फूल फुल्ने गर्दछ । पर्याप्त भिटामिन सी सहित पोषक तìवहरू पाइने किबी फललाई सलाद वा जुस, जाम, जेली, आइसक्रिम, चकलेट, वाइन आदि बनाइ खान सकिन्छ । साथै फाइबर, पोटासियम र क्यालोरीलगायत २१ पौष्टिक तìवले भरिपूर्ण यो किबी फल सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter