बीउ सय वर्षका लागि सुरक्षित

100 Yearsललितपुर, असोज ११ गते । अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउन चाहनुहुन्छ ? या अहिले तपाईले खेतबारीमा रोपिरहनुभएका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्तामा हुनुहुन्छ ? हावापानी सुहाउँदो अर्काे ठाउँको रैथाने बीउ खोज्दा नभेटेर तपाई हैरान हुन सक्नुहुन्छ । यदि त्यसो हो भने ढुक्क हुनुहोस् तपाईले खोज्नुभएका लोप भइसकेका बीउ पाउने मात्रै होइन अहिलेका बीउ एक सय वर्षपछि पनि तपाईका सन्ततिले लगाउन पाउने छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको नेपाल आनुवंशिक स्रोत केन्द्रले झण्डै १०० वर्षसम्मका लागि बीउ सुरक्षित गरेको छ । रैथाने जातको बीउ रोप्ने किसानको सङ्ख्या घट्दै जाँदा केन्द्रले अध्ययन गर्न र आवश्यक पर्दा किसानलाई उपलब्ध गराउनका लागि बीउ सुरक्षित गरेको हो । केन्द्रले अहिले देशभरबाट विभिन्न माध्यमबाट सङ्कलन गरिएका ११ हजारभन्दा बढी जातका स्थानीय बीउ संरक्षण गरिरहेको छ ।

कृषि विविधता संरक्षणका लागि रैथाने बीउ सङ्कलन गरेर संरक्षण गरिरहेको केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । ‘डिप फ्रिज’मा माइनस २० डिग्री तापक्रममा राखिएका कतिपय बीउ ३०० वर्षसम्म सुरक्षित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोदोलगायतका बाली ३०० वर्षसम्म राख्न सकिन्छ । यहाँ भएका बीउ सबैका लागि र सधैँका लागि हुन्छ ।”

केन्द्रमा भएका बालीलाई मध्यम र दीर्घकालीन गरेर दुई किसिमबाट संरक्षण गरिएको छ । “कुनै बालीको आयु छोटो हुन्छ भने कतिको लामो हुन्छ,” घिमिरेले भन्नुभयो । दीर्घकालीन भण्डारणमा राखिएका बाली ५० देखि १०० वर्षसम्म सुरक्षित हुन्छन् भने अल्पकालीन भण्डारणमा राखिएका बाली १० देखि १५ वर्षसम्म सुरक्षित हुन्छन् । अल्पकालीन भण्डारण गृहमा बीउलाई चारदेखि १० डिग्री तापक्रममा राखिन्छ । कतिपय बालीलाई परस्थान कतिपयलाई यथास्थान संरक्षण गरिन्छ । बाली जुन ठाउँको हो त्यही ठाउँमा गरिने संरक्षण यथास्थान संरक्षण र नयाँ ठाउँमा लगेर गरिने संरक्षण परस्थान संरक्षण हो ।

एक सय वर्षसम्म डिप फ्रिजमा राखेर सुरक्षित गर्न सकिने बालीको पनि समय समयमा उमार शक्तिको परीक्षण हुने गरेको छ । हरेक पाँच वर्षमा यहाँको खेतबारीमा नै त्यो बाली रोपेर उमार शक्तिको परीक्षण हुने गरेको हो । केन्द्रले प्रजननकर्ता, अध्ययन गर्नेलाई थोरै (१० देखि २० ग्रामसम्म) परिमाणमा बीउ दिने गरेको छ । किसानलाई रोप्न पुग्ने जति बीउभन्दा पनि एक÷दुई वर्षमा त्यसलाई बढाएर मात्रै खेतबारीमा लगाउन मिल्ने गरी परिमाण केन्द्रले लिँदै आएको छ । “हामी आफैँले पनि थोरै परिमाणमा मात्रै भण्डारण गरेका हुन्छौँ,” घिमिरेले भन्नुभयो । किसान वा अध्ययनकर्तालाई दिएर घटेको बीउलाई केन्द्रले पनि खेतबारीमा रोपेर आधादेखि एक किलोसम्म परिमाण बढाउँछ । केन्द्रले निःशुल्करुपमा बीउ उपलब्ध गराउँदै आएको छ ।

आयु छोटो हुने बालीमा प्याज, गाँजरलगायतका बाली छन् । आयु लामो हुनेमा मकै, धान, गहुँ, कोदोलगायत छन् । धेरैजसो फलफूल, तेलहन बाली, दालबाली, पिँडालु, तरुल, आलुलगायतका बाली संरक्षणका लागि वर्षेनी लगाइन्छ ।

केन्द्रका कर्मचारी आफैँले विभिन्न जिल्लामा पुगेर बीउ सङ्कलन गरेर ल्याउने गरेका छन् । विभिन्न जिल्लामा बीउ बैंक सञ्चालनमा छ । किसानले बैंकमा जसरी नै बीउ बैंकमा आफूसँग बढी भएको बीउ राख्ने र नभएको बीउ लैजाने गर्छन् । त्यहाँ जम्मा भएका बीउ केन्द्रले सङ्कलन गर्छ । कतिपय किसान आफैँ जागरुक छन् । “मैले लगाएको बीउ लोप हन लाग्यो । छोरानातिका पालासम्म सुरक्षित गर्नुप¥यो भन्दै बीउ बोकेर आउँछन्,” घिमिरेले भन्नुभयो, “कति किसान त नयाँ बीउ पाउनासाथ यहाँ ल्याउने गर्छन् ।” धेरै किसान उन्नत र हाइब्रिड बीउमा आकर्षित भए पनि कतिपय किसान रैथाने जात जोगाउनुपर्छ भन्नेमा सचेत छन् ।

केन्द्रले अहिलेसम्म १३० जातका एक हजार १०० भन्दा बढी बाली संरक्षण गरिरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter